तरकारी खेतीमा तेब्बरसम्म फाइदा

बिस्थापित हुँदै, परम्परागत रैथाने बाली

लालबन्दी । सर्लाहीका विभिन्न स्थानमा केही वर्षयता तरकारी खेती बाक्लै हुन थालेको छ । आजभन्दा करिब १५–२० वर्ष अगाडि धान, मकै, गहुँ, तोरीजस्ता परम्परागत एवं रैथाने बाली लगाउने किसान अहिले सिमी, बोडी, लौका, टमाटर, करेला, खुर्सानी, भिन्डी, काउलीजस्ता तरकारी खेतीमा ब्यस्त देखिन्छन् । अन्य बाली लगाएर तीनदेखि ६ महिना मात्रै खान पुग्ने गरेकोमा तरकारी खेतीबाट त्यसको तेब्बरसम्म फाइदा हुने गरेको किसानहरू बताउँछन् ।

करिव १५ वर्ष अघिदेखि तरकारी खेती सुरु गरेका लालबन्दी–१० का किसान नारायण बहादुर श्रेष्ठले सय रुपैयाँ क्रेटको दरले बेच्दा पनि तरकारीले फाइदा हुने बताए । ‘वर्षा कम हुन थाल्यो, जनशक्तिको पनि अभाव छ, पर्याप्त सिँचाइको सुविधा छैन ।’ त्यसैले पनि अन्य बालीको विकल्पमा सुरु गरेको तरकारी खेतीले अहिले आफू सन्तुष्ट रहेको श्रेष्ठले बताए । छिमेकमा तरकारी खेती गर्ने अर्का किसानले एकै दिनमा ६० हजारसम्मको सिमी बिक्री गरेको आफूले थाहा पाएको उनले बताए ।

सोही ठाउँका अर्का किसान रमेश भुजेलले आफ्नो जग्गामा टमाटर, काउली, सिमी, खुर्सानीको खेती गर्छन् । लोकल जातको पूर्वेली र कविता जातको टमाटरमा जाडो बढेसँगै झ्याप्सीबाट देखिने समस्याबाट जोगाउन विषादी छर्दै गरेका भुजेलले लागतको डेढ गुणा फाइदा तरकारी खेतीमा हुने बताए । उनले अन्य बालीको तुलनामा आफूले तरकारी खेतीबाट दोब्बरसम्म फाइदा गर्ने गरेको जानकारी दिए ।

धान, गहुँ, मकै लगायतका बालीमा जस्तो जम्ने गरी सिँचाइ गर्नु पनि नपर्ने, फुल्ने, फल्ने, हुर्काउने र जोगाउनेसम्मको औषधि बजारमा सजिलै पाइने भएपछि किसानहरूको आकर्षण तरकारी खेतीतर्फ बढेको हो । पछिल्लो समय बिउ, विषादी पसलले नै किसानलाई माटो र मौसम सुहाउँदो खेतीको बारेमा जानकारी दिने, लागत, तरिका र बजारको बारेमा पनि बताइदिने गरेका लालबन्दी–११ का किसान लालबहादुर थिङले बताए ।

आवश्यक परेको खण्डमा निःशुल्क रूपमा कृषि प्राविधिक बिउ विषादी पसलले उपलब्ध गराइदिने गरेका छन् । आफ्नै तरकारी बारीमा फलेका सिमीमा विषादी छर्कंदै गरेका थिङले हप्ता १० दिनका हिसाबले सिमी बजार पु¥याउने गरेको बताए । उनले एकपटक सिमी बजार लगेर बेच्दा १५ देखि २५ हजार रुपैँया लिन्छन् । हाल आठ कठ्ठा जग्गामा तरकारी खेती गरिरहेका थिङले २५ वर्षदेखि यसैमा लागेका हुन् । पहिलेको तुलनामा उत्पादनमा धेरैले ह्रास आएको उनले अनुभव सुनाए । उनले भने, ‘अहिले माटो बिरामी भएको छ, अब उपचार गर्ने बेला भएको छ ।’

पालिका एवं वडा कार्यालयले पनि किसानलाई व्यवसायिक नगदे खेतीतर्फ प्रोत्साहन गर्नका लागि विभिन्न खाले सहयोग गरिरहेको छ । पालिकाले किसानका लागि विद्युत् प्राधिकरणसँगको समन्वयमा खेतबारीसम्मै पोल पु¥याएर अनुदानमा सिँचाइ विद्युत् मिटर जडानको सुविधा दिएको छ । यस्तै जमिनमुनिबाट पर्याप्त मात्रामा पानी नआउने ठाउँमा सामुहिक इनार निर्माण गरिदिएको छ ।

इनारबाट किसानले पाइपमार्फत खेतीमा सिँचाइ गर्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका लेखापाल दयाशंकरलाल कर्णका अनुसार औषतमा आठ रुपैयाँ प्रतियुनिट विद्युत् महसुल भुक्तान गर्नुपर्नेमा सिँचाइ मिटरमा प्रतियुनिट २ रुपैँया २५ पैसा मात्रै महसुल बुझाउने सुविधा दिइएको छ ।

कतिपय किसानहरू भने समयको व्यवस्थापनका लागि पनि तरकारी खेतीमा लागेका छन् । खेतमा टमाटरको हेरविचार गर्दै गरेकी मञ्जुकुमारी महतोले आफू रहरले तरकारी खेतीमा लागेको बताइन् । उनका श्रीमान वैदशिक रोजगारीमा छन् । दुई सन्तानकी आमा महतोले तरकारी खेतीबाट आफू र छोराछोरीको दैनिक आवश्यकता पूरा गरिरहेकी छन् । उनको खेतमा अहिले सिमी र टमाटर फलेको छ ।

किसानहरू पछिल्लो समय नयाँ नयाँ प्रविधि र उन्नत जातको बिउवीजन प्रयोग गर्दै उत्पादन वृद्धितर्फ पनि अग्रसर छन् । किसानलाई व्यावसायिक खेतीतर्फ थप प्रोत्साहन गर्नका लागि कृषि औजारमा समेत पालिकाले सहयोग गर्नुपर्ने उनिहरूको माग छ । कृषकका लागि भनेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न बजेट आउने गरेको तर त्यो असली किसानसम्म पुग्न नसेको उनीहरूको गुनासो छ । कृषकहरू भन्छन्, ‘कम्तिमा ५० प्रतिशत लगानी सरकारले गरिदिए हामी ट्रयाक्टर, पानी पठाउनका लागि राम्रो पाइप खरिद गर्ने थियौँ ।’

जिल्लामा तरकारीको उत्पादन बढी भए पनि बजारको व्यवस्थापनमा भने कसैको ध्यान पुगेको छैन । किसान भन्छन्, ‘ठूला कृषि बजारहरूमा पनि व्यापारीको लागि मात्रै स्टल हुने गरेको छ । कृषकहरूको उत्पादन राख्ने स्टल भने खासै हुँदैन । देशका विभिन्न स्थानमा ताजा तरकारी पठाउने लालबन्दीको थोक कृषि बजारमा समेत किसानका लागि स्टल छैन ।

किसानका लागि स्टल नहुँदा भेँडाबाख्राजस्तो ठेलिनुपर्ने अवस्था रहेको स्थानीय कृषक प्रेम श्रेष्ठले बताए । तरकारी उत्पादन गर्ने कृषकको संख्या दिनानुदिन बढिरहेको छ । तर सम्बन्धित निकायको बजार व्यवस्थापनमा चासो नदिँदा किसानले दुःख बेहोर्नु परेको छ ।

प्रतिक्रिया