सप्तरीको बलान बिहुलमा सामुदायिक खाद्य बैंक स्थापना

सप्तरी । बलान बिहुल गाउँपालिकामा सामुदायिक खाद्य बैंक स्थापना भएको छ । विश्व खाद्य कार्यक्रमको आमा तथा बाल स्वास्थ्य र पाेषण कार्यक्रम अन्तर्गत जापान सरकारकाे आर्थिक सहयोगमा तथा आसमान नेपाल र पालिकाको समन्वयमा यो बैक निर्माण गरिएको छ । यो बैंकको शुक्रबार उद्घाटन गर्दै पालिकालाई हस्तान्तरण गरिएको छ ।

खाद्य बैंक भवनको मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले उद्घाटन गरे । उद्घाटन भएपछि विश्व खाद्य कार्यक्रमका नेपाल उप प्रमुख कृष्ण योगीले बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलाई चावी प्रदान गर्दै खाद्य बैंकको भवन हस्तान्तरण गरे ।

स्थानीयस्तरमा खाद्य संचितिकाे अवस्थालाई सुनिश्चित गरी प्राकृतिक विपदमा परेका समुदायलाई पाेषण सुरक्षाको प्रत्याभूति गराउने उदेश्यले खाद्य बैंकको निर्माण गरिएको आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले जानकारी दिए ।

खाद्य भण्डारण सुविधासहित संचालन हुने याे बैंकले कुपाेशित र यसको जाेखिममा रहेका गर्भवती, सुत्केरी, बालबालिका र विपदको समयमा लक्षित वा आवश्यक परेका परिवारलाई स्थानीय किसानबाट खाद्यान्न खरीद गरि नि:शुल्क वा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइने नीति लिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री यादवले यो बैंकको पालिकाले संरक्षण, सम्बर्द्धन गरेर अघि बढ्नुपर्ने बताए । उनले संरक्षण गरेर सही ढँगले काम नगरे दातृ निकायकाे लगानी खेर जाने र दातृ निकाय पनि अरू लगानी गर्न नचाहने भएकाले गम्भीर बन्नुपर्ने बताए ।

उनले तिनै तहका सरकार एक अर्कासँग विवाद नगरी जनताका लागि काम गर्नुपर्ने बताए । प्रदेश सभा सदस्य अनिरुद्द सिंह यादवले खाद्य बैंक स्थापना हुनु सकारात्मक काम भएको भन्दै यसको सफल कार्यान्वयन हुनुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहले खाद बैंकलाई ब्यबस्थित तरिकाले चलाए यहाँका जनताले राम्रो लाभ लिन सक्ने बताए । बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले पालिकालाई आगामी दुई बर्षभित्र कुपोषण जिरोमा झार्ने बताए ।

यादवकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. प्रमोद झा, आसमान नेपालका कार्यकारी निर्देशक नवलकिकिशोर यादव, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया