ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षा अपरिहार्य मन्त्री : यादव

रौतहट । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित रहेको जय किसान बहुप्राविधिक शिक्षालयमा बुधवार बसेको शिक्षालय प्रमुखहरुको मासिक बैठकलाई सम्बाेधन गर्दै मन्त्री यादवले यस्ताे बताएका हुन् । शिक्षाको सवालमा गाउँगाउँमै प्राविधिक शिक्षाको आवश्यकता रहेको उनले बताएका हुन् । उनले भने, ‘अहिलेको युगमा प्रविधि र प्राविधिक बिनाको समाज कल्पना गर्न सकिदैन् । प्राविधिक शिक्षा नै आजको आवश्यकता हाे ।’ अहिलेको परिवेशमा गाउँगाउँमा प्राविधि नहुँदा त्यसको अभावले गर्दा कठिनाईहरुको समाधानमा समस्या भईरहेकाे उनले बताए ।

उनले भने, ‘प्राविधिक शिक्षा भन्ने वित्तिकै विज्ञान र गणितको प्रयोगबाट परम्परागत रुपमा गर्दै आएका विभिन्न क्रियाकलापहरुलाई सहज तरिकाले सम्पन्न गर्नका लागि नयाँ तरिकाहरुको खोज/अनुसन्धान गर्न/गराउन सिकाउने शिक्षा भन्ने बुझ्नु पर्दछ ।’ अहिलेको २१औँ शताब्दीलाई विज्ञानको युग पनि भन्ने गरिएको उनले बताए ।

उनले भने, ‘विज्ञानको युगमा धेरै कामहरु एकदमै सहज भएका छन् र त्यो सहज बनाउने काम वैज्ञानिक आविस्कारका साथै प्राविधिक शिक्षाले गरेकाे हाे । नेपालमा पनि केही दशकदेखि विश्वविद्यालय तहमा प्राविधिक शिक्षा अगाडि बढिरहेको छ । गाउँ–गाउँमा प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालयहरुको संख्या पनि बढ्नु आफैँमा राम्रो कुरा हाे ।’

गाउँघरमा कुनैबेला हुनेखाने र सहरी क्षेत्रमा बसोबास गर्नेहरुको पक्कडमा रहेको प्राविधिक शिक्षाको पहुँच अहिले गरिब, विपन्न, पीछडिएका वर्ग/क्षेत्रहरुमा पुगेको उनले बताए ।
मन्त्री यादवले अन्य शिक्षाको तुलनामा हेर्दा प्राविधिक शिक्षा केही महङ्गो र संवेदनशील रहेको समेत बताए । ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षाको आवश्यकता र महत्व बारे जानकारीको कमीले नै लक्षित विद्यार्थीहरु प्राविधिक शिक्षाको पहुँचभन्दा बाहिर रहेकाे उनले बताए ।

बैठकमा सहभागी विभिन्न शिक्षालय प्रमुखहरुले नेपालमा प्राविधिक शिक्षालय सञ्चालन गर्दा विभिन्न चुनौतिहरु रहेको भएपनि प्राविधिक शिक्षालय सञ्चालन गर्नुको विकल्प नरहेको बताए । बैठकमा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रालयका प्रदेश सचिव लक्ष्मीप्रसाद भट्टराई, उपसचिव महेन्द्र महतो, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनिया देवी पटेल, वडाध्यक्ष वीरबहादुर साह लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया