नामकरण विवादको टुंगो जनमतबाट लगाउन माग

विराटनगर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले प्रदेशको नामको विषयमा जनमत संग्रह गर्न माग गरेको छ । प्रदेशको नामकरणपछि आन्दोलन गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले इटहरीमा भएको पत्रकार सम्मेलनमा कोसी नामका विषयमा जनमत संग्रह गर्न माग राखेको हो ।

नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङले जनमत संग्रहमा गए कोसी नाम स्वीकार नहुने दाबी गरे । उनले प्रदेशका अधिकांश नागरिक कोसी नामको विपक्षमा रहेको दाबी गरे ।

उनले भने, ‘अधिकांश नागरिक कोसी नामको विपक्षमा छन्, केही दलहरूले कोसी नाम राख्दैमा स्वीकार गर्नुपर्छ भन्ने छैन ।’ गुरुङले कोसी नामका पक्षमा मत हाल्ने सांसदले समेत गोप्य मतदानमा लैजाने हो भने मत नहाल्ने दाबी गरे ।

गुरुङले अहिले पनि नामका विरुद्धमा आन्दोलन भइरहेकाले आन्दोलनबाट हुने धनजनको क्षति रोक्न सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले उन्मुक्ति पार्टीको महाधिवेशनपछि अझै सशक्त आन्दोलन हुने बताए ।

पत्रकार सम्मेलनमा संघीय सहसचिव पदम अधिकारीले यो प्रदेशमा तीन वटा राष्ट्रियता भएको भन्दै त्यसैका आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताए । यहाँ लिम्बुवान किराँत र कोचिला राष्ट्रियता छ । अधिकारीले भने, लिम्बुवान किराँत मात्रै होइन नामकरणले कोचहरूको समेत सम्बोधन हुनुपर्ने बताए ।

उन्मुक्ति पार्टीको पुस २६, २७ र २८ गते कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको एकता महाधिवेशन हुँदै छ । महाधिवेशनको तयारी स्वरूप प्रतिनिधि छनोट गर्ने क्रम अन्तिम तयारीमा रहेको प्रदेश अध्यक्ष धनबहादुर पान्धकले बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट फुटेर ज्ञानबहादुर गुरुङको नेतृत्वमा रहेको समूहले नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको थियो ।

प्रतिक्रिया