संघीयता समाप्त गर्ने षड्यन्त्र भयो : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले सयौ मधेसी जनताको सहादतको बलमा आएको संघीयतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । संघीयता र गणतन्त्रलाई समाप्त गर्न जसले जति ताकत लगाए पनि आफूहरूले कुनै हालतमा संघीयता समाप्त हुन नदिने यादवले बताए ।

प्रेस मञ्च मधेस प्रदेश कार्य समिति जनकपुरधामको आयोजनामा पुस ३ देखि ५ गतेसम्म जनकपुरधामको रमण टावरमा सञ्चालन भएको तीनदिने प्रशिक्षक प्रशिक्षण तथा पत्रकारितासम्बन्धी कार्यक्रममा बोल्दै जसपा अध्यक्ष यादवले यस्तो बताएका छन् ।

जनताले परास्त गरेर समाप्त गरिसकेको राजतन्त्रलाई केही प्रतिक्रियावादी तत्वहरूले एकजुट भई अहिले ब्युँत्याउने षड्यन्त्र गरिरहेको उनको दाबी छ । ‘सूर्य पश्चिमबाट उदाउन सक्दैन भनेजस्तै राजतन्त्र पुनः फर्केर आउला भन्ने सपना देख्नेहरूले सहिदको बलिदानीले आएको संघीय गणतन्त्रलाई समाप्त पार्ने दिवा सपना नहेर्न आग्रह गरे ।

उनले प्रतिगामी शक्तिविरुद्ध एकजुट हुन आह्वान गर्दै सचेत रहन आग्रह गरे । सशस्त्र विद्रोह, जनआन्दोलन र मधेस विद्रोहबाट परास्त भइसकेका शक्तिहरू मोर्चाबन्दी गर्दै संघीयतालाई समाप्त गर्ने षड्यन्त्र रचेको यादवको आरोप छ । संघीयतालाई समाप्त पार्ने कसैले कुचेस्टा गरे मधेस जनविद्रोहभन्दा पनि ठूलो आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए ।

आफूहरूले गरेको मधेस जनविद्रोहकै बलमा निरंकुश शासन राजतन्त्रको अन्त्य भई देश संघीय प्रणालीमा गएको कारण अहिले जनताका छोराछोरी रास्ट्रपति, उपरास्ट्रपति बन्न पाइरहेको उनले बताए । संघीयताकै कारण प्रदेश र स्थानीय तहको स्थापना हुनुका साथै सरकारी अवसरमा मधेसी कोटा निर्धारण भएकोले मधेसीले पनि पहिलाको तुलनामा अहिले बढी मात्रामा सरकारी सेवामा प्रवेश गर्न पाएको उनले बताए । मधेसी जनताको ठूलो त्याग र रगतको बलमा आएको संघीय लोकतन्त्र गणतन्त्रलाई आफूहरूले कुनै हालतमा गुम्न नदिने उनले दाबी गरे ।

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका, ब्राजिल, अस्ट्रेलिया, भारतजस्ता २८ वटा देशमा अहिले संघीयता कायम रहेको बताउँदै नेपालमा पूर्णरूपमा कार्यान्वयन हुन नसकेको संघीयतालाई कार्यान्वयन गरी लागू गर्नुको सट्टा संघीयता विरोधीहरूले संघीयता खर्चिलो भयो भनेर गलत प्रचारबाजी गर्दै हिँडेको उनले बताए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया