मधेस । रौतहटको वृन्दावन नगरपालिका– ३ मा रहेको स्वास्थ्य चौकीमा बर्थीङ सेन्टर सञ्चालनको लागि सामग्री हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच नगरप्रमुख विनोद प्रसाद कुर्मीले स्वास्थ्य सामग्रीहरु स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्र प्रसाद यादवलाई हस्तान्तरण गरेका हुन् ।
स्थानीय चुनावमा जनताहरुसँग गरेको प्रतिबद्धता अनुसार नगरप्रमुख कुर्मीले विश्रामपुर टोलमा बर्थीङ सेन्टर सञ्चालन गराउन लागेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कुर्मीले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । जनताको सेवाको लागि आफू दिनरात लागिपरेको उनले बताए ।
तर विपक्षी दलका नेताहरुको कारण नगरपालिकामा हाकीम नहुँदा कामकाज ठप्प भएको आरोपसमेत उनले लगाए । तर पनि आफू दिनरात जनतालाई सहज रुपमा सेवा प्रदान होस् भन्ने उदेश्यका साथ लागिपरेको उनले बताए । नगरप्रमुख कुर्मीले प्रसुती सेवालाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले आवश्यक औजार, उपकरण र दक्ष जनशक्तिको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
बिगत लामो समयदेखि सो भेगका गर्भवती महिलाहरुलाई सुत्केरी गराउन बाहिर जानुपर्न बाध्यता रहेको थियो । अब उपरान्त उक्त समस्या सामाधान हुने उनले बताए । त्यस्तै कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत रासनारायण पटेलले बर्थीङ सेन्टर सञ्चालनको लागि ८० प्रकारको सामग्री उपलब्ध गराइएको जानकारी दिए । लामो समयदेखि बर्थीङ सेन्टर सञ्चालन हुन सकेको थिएन ।
‘हामीहरुको अथक प्रयासपछि बल्ल बर्थीङ सेन्टर सूचारु हुने भएको छ’, उनले भने । सो बर्थीङ सेन्टरको सञ्चालनका लागि सामग्री हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष हरिनारायण साह, वडाध्यक्ष प्रवेज आलम, कार्यपालिका सदस्य राजेश पासवानलगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया