मधेस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै पेट्रोल छैन भन्दै मध्य रौतहटमा कृत्रिम अभाव सिर्जना भएको छ । मध्य रौतहटको गरूडा, कटहरिया, शिवनगर लगायतका ठाउँहरूमा रहेको पेट्रोल पम्पमा तेल पाउन छाडेको छ । आइतबार दिनभरी उपभोक्तालाई परेशानी झेल्नुपरेको छ ।
मध्य रौतहटका अधिकांश पेट्रोल पम्पहरुमा पेट्रोल नभएको भन्दै प्लास्टिक र चटीको बोरा ओढाइएका छन् । बोरा ओढाएर ‘पेट्रोल छैन’ लेखिएको ब्यानर झुन्डाएका छन् भने पेट्रोल पम्पमा ताल्चा पनि लगाइदिएका छन् । पेट्रोल पम्पमा तेल पाउन छाडेपछि उपभोक्ताहरूलाई सास्ती खेप्नुपरेको छ ।
मोटरसाईकल, चार चक्का लिएर पेट्रोल पम्पमा पुगेका उपभोक्ता फर्किन बाध्य छन् । कतैकतै त मोटरसाईकिल चालकहरू तेल नपाएर पैदल गुडाएर लान बाध्य भएको देखिएको छ । पम्पहरूमा तेल नभए पनि पसललेहरूले बोतलमा तेल राखेको प्रशस्तै भेटिएको छ । पसलबाट उपभोक्त महँगोमा किन्न बाध्य छन् ।
निगमले तेलको मूल्य घटाउने बित्तिकै पम्प बन्द गर्दै कृत्रिम अभाव सिर्जना गर्दै आएका छन् । नियामक निकायले यसमा चासो नदेखाउँदा बारम्बार यस्तै सास्ती खेप्नुपरेको हो ।
पहिलेदेखि नै स्टोर गरिएको पेट्रोल नयाँ मूल्यमा विक्री गरेपछि नाफा कम हुने भएकाले पम्पवालाहरुले पेट्रोलको अभाव सिर्जना गर्ने गरेको उपभोक्ताहरूको आरोप छ । अत्यावश्यक वस्तुको अभाव सिर्जना गर्नु कानून विपरित हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १७ को उपदफा (ख) मा कुनै पनि तरीकाले कृत्रिम अभाव सिर्जना गर्न नहुने उल्लेख गरिएको छ ।
पेट्रोलको कृत्रिम अभाव सिर्जना गर्ने पम्पलाई कारवाही गर्ने दायित्व नेपाल आयल निगमको भएको पनि कार्यवाही नगरेको उपभोक्ताहरूको भनाइ छ । नेपाल आयाल निगम मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनित मणि उपाध्यायले प्रशस्त मात्रमा इन्धन स्टक भए पनि पम्प सञ्चालकहरुले इन्धन नउठाउँदा बजारमा अभाव सिर्जना भएको हुन सक्ने बताए । मूल्य घट्ने बित्तिकै एक–दुईसम्म पम्पहरू इन्धन नउठाएर मनोमानी गर्ने गरेको स्वीकारे ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । निगमले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।
निगमले पेट्रोल तथा डिजेलरमट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको थियो । आईओसीले मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य घटाएको हो । मूल्य घटेर आएपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्ने भएको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया