सिराहा प्रहरीद्वारा १ हजार ६ सय गाँजाको बोट नष्ट

सिरहा । सिराहाबाट गाँजा ओसारपोसार र खेती गरिने कार्यलाई पूर्ण रुपले निस्तेज बनाउन सिराहा प्रहरी चुरे क्षेत्र लगायत विभिन्न ठाउँहरुमा पुग्ने गरेको छ । यही क्रममा जिल्ला प्रहरी कार्यालय सिराहा मातहतका प्रहरी युनिटहरुको टोलीले खेतबारी तथा घर आँगनमा अवैध रुपमा लगाएको १ हजार ६ सय गाँजाको बोट नष्ट गरेको छ ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–१० मथलेश्वर, करजन्हा नगरपालिका -४ बस्तिपुर, धनगढीमाइ नगर पालिका १२ हातिमारा टोल ,, लहान नगरपालिका -२४ मानिक दह , सिरहा नगरपालिका -१८ लक्ष्मिनिया भजनाहा स्थित करेसाबारीमा लगाइएको उक्त गाजा खेती सिरहा प्रहरीले नष्ट गरेको हो ।

सिराहाको मिर्चैया नगरपालिका–१० मथलेश्वर, स्थित अन्दाजी ३ कठा करेसाबारीमा लगाइएको करीब १ हजार बोट, करजन्हा नगरपालिका -४ बस्तिपुर स्थित हनुमान मन्दिर को १५ धुर जग्गा मा लगाइएको २०० बोट , धनगढीमाइ नगर पालिका १२ हातिमारा टोल स्थित ५ धुर जगामा लगाएको २५० बोट ,लहान नगरपालिका -२४ मानिक दह स्थित १० धुर जगामा लगाइएको १५० वटा बोट, सिरहा नगरपालिका -१८ लक्ष्मिनिया भजनाहा स्थित २ धुर करेसाबारीमा लगाइएको ५० वटा बोट गरि करीब १६०० बोट कटान गरी नष्ट गरिएको सिराहा प्रहरीले जनाएको छ । गाँजाको कारोबार गर्न पल्किएका कारोबारीहरुले सर्वसाधारण किसानलाई बहकाई हत्तपत्त नदेखिने स्थानहरुमा गाँजाको खेती गर्न उक्साउने गरेका छन् ।

सिराहामा खास गरी खोलानदी किनार, चारैतिर रुखहरुले घेरिएको खेत तथा चुरेको फेदीतिर ठूलो सँख्यामा गाँजाको खेती गर्ने गरिन्छ । असार/साउनमा लगाइएको गाँजा मङ्सिर/पुसमा परिपक्व भएपछि कारोबारीहरुले गाँजाको बोटबाट गाँजा उत्पादन गर्ने गर्दछन् । राम्रोसँग फस्टाएको एउटा बोटबाट मात्रै आधा केजीदेखि एक केजीसम्म तयारी अवस्थाको गाँजा उत्पादन हुन सक्ने बताइन्छ । यसरी उत्पादन भएको तयारी अवस्थाको गाँजा भारतीय बजारमा पुर्याउन सकेको अवस्थामा कारोबारीहरुले प्रति केजी १० हजार भन्दा बढी भारतीय रुपैयाँसम्ममा विक्री गर्ने गर्दछन् ।

प्रतिक्रिया