जनकपुरधाम । कोरोना महामारीपछि सञ्चार क्षेत्रमा देखिएको मन्दीलाई उकास्न तीन वटै तहका सरकारको सहयोग आवश्यक रहेको वक्ताहरूले बताएका छन् । नेपाल पत्रकार महासंघ धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको सञ्चार क्षेत्रको सवलीकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका पत्रकारहरूले अहिले स्थानीय सञ्चार माध्यमहरूलाई तीनै तहका सरकारले संरक्षण गर्न आवश्यक भएको बताए । वक्ताहरूले हरेक अधिकारको आन्दोलनमा स्थानीय सञ्चारजगतले खेलेको भूमिकालाई बिर्सन नहुने बताए ।
कार्यक्रममा बोल्दै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले स्थानीय सञ्चार क्षेत्रमा भएको आर्थिक समस्याहरूको समाधान गर्नका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले देश र जनताको पक्षमा पत्रकारिता जगतको ठूलो योगदान रहेको चर्चा गर्दै अहिले पत्रकारिता क्षेत्रमा विश्वासको कमी आउनु चिन्तको विषय भएको बताउँदै निष्पक्ष रूपमा कलम चलाउनका लागि पत्रकारहरूसँग आग्रह गरे । सभामुख मण्डलले मिडियाका सञ्चालक दिनदिनै मोटाउने गरेको भए पनि त्यसमा काम गर्ने सञ्चारकर्मी दुब्लाउँदै जानु गलत भएको बताउँदै कडा रूपमा प्रस्तुत हुन सञ्चारकर्मीलाई आग्रह गर्दै प्रदेश सभामा समाचार संकलनका लागि चाँडै पत्रकारहरूलाई बस्ने ठाउँको व्यवस्था गर्ने बताए ।
प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले लोकतन्त्र वा प्रजातन्त्रमा मात्र स्वतन्त्र पत्रकारिताको विकास हुने भएकाले लोकतन्त्रलाई बलियो बनाउनका लागि कलम चलाउन आवश्यक भएको बताए । उनले पत्रकारिता क्षेत्रमा रहेको समस्याको माधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता प्रकट गरे ।
प्रतिक्रिया