आश्रम सञ्चालीका कोईरालालाई दयाराम परियार स्मृति पुरस्कार

सर्लाही । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार आयोगले सर्लाहीको लालबन्दीमा वृद्धाश्रम सञ्चालन गर्दै आएकी भवानी कोईरालालाई सम्मान गरेको छ । आइतबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले कोईरालालाई नगद ५० हजार राशीको पुरस्कारसहित स्व. दयाराम परियार स्मृति पुरस्कार, २०८० बाट सम्मानित गरेको हो ।

कोईरालाले आश्रम सञ्चालनमार्फत मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आयोगले सम्मान गरेको हो । विश्वव्यापी घोषणापत्र जारी भएको ७५औँ वर्ष पुगेको उपलक्ष्यमा आयोगले औपचारिक कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले कोईरालालाई सम्मान पत्र प्रदान गरेका हुन् । कार्यक्रममा आयोजक राष्ट्रिय मानव अधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगर, प्रवक्ता डाक्टर टीकाराम पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।

कोईरालाले आश्रम सञ्चालनबाट मानव अधिकार रक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोगले जनाएको छ । कोईराला लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म भृवनेश्वरी नमुना वृद्ध सेवा आश्रमको व्यवस्थापक तथा सञ्चालक हुन् ।

नेपाली कांग्रेसका पुराना नेता बासुदेव शरण कोईरालाले आफ्नो जग्गा दान गरेर सुरु गरेको आश्रम उनैको संरक्षकत्वमा सञ्चालन भइरहेको छ । उक्त आश्रममा अहिले वृद्ध, वृद्धा तथा बालबालिका समेत गरेर ४५ जनाले आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया