मधेश । मधेश प्रदेशको रौतहटमा करेन्ट लागेर हली र गोरुको घटनास्थलमै मृत्यु भएको छ । यो घटना जिल्लाको माधवनारायण नगरपालिकामा भएको हो । सो नगरपालिकाको वडा नम्बर ७ लौकाहामा शनिबार बिहान घटना घटेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी निरिक्षक झलक शर्माले दिएको जानकारी खेत जोतिरहेका एक जना हली र गोरुको घटनास्थलमै मृत्यु भएको छ । हलो जोतिरहेका स्थानीय हली अन्दाजी वर्ष ५५ का बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो ।
उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ । ११ हजार भोल्टको तार झरेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी निरिक्षक शर्माको भनाइ छ । उनले भने, ‘अहिले हामी घटनास्थलमा छौँ, घटनाको मुचुल्का उठाउने काम सकिएको छ, शवलाइ पोस्मार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको छ ।’
घटनाको खबर पाए लगत्तै उनको नेतृत्वमा प्रहरी टोली पुगी अनुसन्धान सुरु गरेको थियो । बिजुलीको तार कसरी तल झरेको यसबारे खुल्न नसकेको र विस्तृत विवरण पछि आउने उनले बताए ।
यता रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले सामाजिक सञ्जालमा लेखेर विद्युत प्राधिकरणको लापरवाहीले मृत्यु भएको लौकाहा निवासी पण्डितको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै, विद्युत प्राधिकरणको बढ्दो लापरवाहीले लगातार भइरहेको मृत्युले समाजलाई त्रसित तुल्याएको बताएका छन् ।
यस चरम लापरवाहीमा संलग्न दोषी कर्मचारीमाथि छानबिन गरी आवश्यक कारवाही गर्न गृह प्रशासनसँग उनले जोडदार माग गरेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया