बारा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रमुख प्रशासकीय भवनको समुद्घाटन गरेका छन् । उनले एक कार्यक्रमबीच भवन उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका यादवले मधेस प्रदेशमा प्रहरी समायोजनको लागि प्रधानमन्त्रीसँग पटक–पटक अनुरोध गरेको र यदी यस पाली पनि प्रहरी समायोजनमा केन्द्र सरकारले अनाकानी गरेमा काठमाडौंको माइती घर मन्डलबाट आन्दोलन हुने चेतावनी समेत दिएका थिए ।
मधेस प्रदेश थला पर्नुमा केन्द्र सरकार नै दोषी रहेको उनको भनाइ रहेको थियो । मधेस प्रदेश मात्र नभइ संघीय संरचनामा देश गएता पनि अहिले केन्द्र सरकारले देशभरीको साँचो केन्द्रमा राखी देशभरीको नेपाली जनतालाई संघीयताको नाममा ललीपप देखाउने काम मात्र गरेको उनको आरोप थियो ।
साथै आफू मुख्यमन्त्री भएको १० महिनाको कार्यकालमा प्रधानमन्त्रीसँग पटक–पटक भेट गरी संघीयता कार्यान्वयनको लागि पहल गर्दा पनि संघीय सरकार कानमा तेल हालेर बसेको उनको आरोप रहेको छ । मुख्यमन्त्री यादवले भोलि फेरि प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको र भेटपछि पनि सरकार जिम्मेवार न देखिएमा देशभरी शान्तिपूर्ण आन्दोलन गर्ने उनले चेतावनी दिएका छ्न् ।
उक्त कार्यक्रममा वारा निर्वाचन क्षेत्र न १का निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले यस पालिकामा गुणस्तरीय शिक्षाको लागि अगाडि बढेर काम गर्न गाउँपालिकाका अध्यक्षलाई आग्रह गरे । विकास निर्माणको काममा सबै जना हातोमालो गरी काम गर्न र विकासको फड्को मार्नसमेत उनले आग्रह गरे ।
उक्त कार्यक्रममा प्रदेशसभा सदस्य त्रीलोकी चौधरी, कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, मधेस प्रदेशका पूर्वअर्थ राज्यमन्त्री उषा यादव, देवताल गाउँपालिकाका अध्यक्ष उदय यादव, करैयामाइ गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव लगायतकाले गाउँपालिकाको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बारा गढी गाउँपालिकाका अध्यक्ष अशोक प्रसाद जैसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत सुनील केसरी र कार्यक्रम सञ्चालन जसपाका यूवा नेता दयाशंकर रायले गरेका थिए । उक्त भवन ५ करोड ७६ लाख ३२ हजार ५४ रूपैयाँमा महाबिर, भुपेन्द्र र दिवा कन्ट्रकसनले संयूक्त रूपमा निर्माण गरेका हुन् ।
प्रतिक्रिया