एमालेको संकल्प यात्रा : लोकतन्त्रका लागि प्रत्युत्पादक नबनोस्

प्रमुख प्रतिपक्षीदल नेकपा एमाले यतिबेला ‘समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा छ । संकल्प यात्रामा केन्द्रीयदेखि स्थानीय स्तरसम्मका नेता तथा कार्यकर्ता सहभागी छन् । यही मंसिर १४ गते नेपालको सुदूरपश्चिमी सिमाना बैतडी जिल्लाको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा करिब एक दर्जन पहाडी जिल्लामा जनप्रदर्शन तथा आमसभा गर्दै बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमबाट पूर्वतर्फ अघि बढेको यो यात्रा नेपालको सुदूरपूर्वी सिमाना पाँचथरको चियो भन्ज्याङमा पुगेर टुंगिनेछ । यात्राको उद्घाटन गर्न झुलाघाट पुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको टेलिफोन संवाद गरेको समाचारलाई मिडियाले निकै महत्व दिएका थिए ।

त्यसबाहेक एमालेको यो अभियानले खासै ठूलो चर्चा पाएको छैन । नेपालमा भएका पछिल्ला दुई वटा आमनिर्वाचन र दुई वटा स्थानीय निर्वाचनलाई हेर्ने हो भने जनमतका हिसाबले नेकपा एमाले देशको सबैभन्दा ठूलो पार्टी हो । शासक वर्गबाट भएका कमीकमजोरीबाट निराश भएका जनतालाई लोकतन्त्रविरुद्ध भड्काउन प्रतिगामी शक्तिले टाउको उठाइरहेको बेला हो अहिले । यो बेलामा देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले जनताका बीच अभियान लिएर पुग्नु लोकतन्त्रका लागि सकरात्मक पक्ष हो । तर एमालेले संकल्प यात्रामा प्रदर्शन गरेका कतिपय गतिविधिले जनताको आक्रोसको आगोमा घिउतेल थप्ने काम पो गरेको छ कि ? भन्ने आशंका उब्जाएका छन् ।

पहिलो कुरा त नेकपा एमालेको यो संकल्प यात्रमा सहभागी नेताहरूले आवश्यकभन्दा बढी नै तडकभडक देखाएका छन् । सयौंको संख्यामा महँगा गाडीहरू प्रदर्शन भएका छन् । हिजो चप्पल लगाएर लखरलखर हिँडेका नेताहरू आज यसरी महँगो गाडी चढेर भड्किलो शैलीका साथ प्रस्तुत हुँदा जनतामा निराशा र आक्रोशको पारो घट्ने होइन झन् बढ्छ । दोस्रो कुरा अभियानका क्रममा आयोजित आमसभामा धेरै ठूलो संख्या देखाउने नाममा जनतालाई दुःख दिने काम भएको गुनासो पनि आएको छ । तेस्रो कुरा आमसभामा नेकपा एमाले सरकारविरुद्ध मात्रै केन्द्रित भएको छ । सत्ताविरुद्ध रचनात्मक रूपमा केन्द्रित हुनु प्रतिपक्षको धर्म हो । तर यो धर्म निर्वाह गर्ने क्रममा एमालेले जनतालाई थप निराश बनाएको छ । आफूबाहेक अरू दल सबै खराब हुन्, आफूबाहेक अरू दल देश बिगार्नका लागि मात्रै स्थापना भएका हुन् भन्ने सन्देश जनतालाई दिनु भनेको लोकतन्त्र विरोधी शक्तिलाई मलजल गर्नु हो भन्ने कुरा एमालेका नेता तथा कार्यकर्ताले ख्याल गरेको देखिँदैन ।

नेकपा एमालेले सुदूरपश्चिमको सिमाना झुलाघाटदेखि पूर्वको सिमाना चियोभन्ज्याङसम्म जुन मार्ग भएर ‘समृद्धिका लागि संकल्प यात्रा’ थालनी गरेको छ त्यो मार्ग भनेको गणतन्त्रको स्पष्ट देखिने भौतिक उपलव्धी हो । निर्माण आरम्भ भएको १५ वर्ष बितिसकेको आजको दिनसम्म करिव १७ सय किलोमिटर लामो मध्यपहाडी लोकमार्गको सबै खण्ड मज्जाले सुचारु भइसक्नुपर्ने थियो । तर मध्यपहाडी लोकमार्गको जे जति खण्डहरू सूचारु भएका छन्, तिनले दुर्गम पहाडी क्षेत्रको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्पष्ट देख्न सकिन्छ । एकै दिनमा राजधानी काठमाडौंबाट खोटाङ जिल्लाको हलेसी पुगेर फर्कन सकिने अवस्था बनेको छ ।

केही वर्ष अघिसम्म खोटाङबाट काठमाडौं आउनका लागि दुई दिन हिँडेर उदयपुरको गाईघाट र त्यसपछि १२ घण्टासम्म बस चढेर नारायणगढ हुँदै कलंकी ओर्लनुपर्ने अवस्था थियो । रुकुमबाट पोखरा आउन दुई दिन हिँडेर दाङ झर्नुपथ्र्यो । आज मध्यपहाडी लोकमार्ग हुँदै रुकुमबाट चार घण्टामा पोखरा पुगिन्छ । मध्यपहाडी लोकमार्ग नेपालको पहाडी क्षेत्रको समृद्धिको ढोका हो भन्ने कुरामा दुईमत छैन । तर यो लोकमार्गको उपयोग समृद्धीका लागि हुनुपर्छ । जसरी तराईको पूर्वपश्चिम (महेन्द्र) राजमार्गले आसपासका क्षेत्रका समृद्धि ल्याएको छ, त्यसरी नै मध्यपहाडी लोकमार्ग आसपासका जनतालाई समृद्धितर्फ लैजाने प्रेरणा दिनका लागि एमालेले यो अभियान केन्द्रित गरेको भए लोकतन्त्र बलियो हुन्थ्यो ।

प्रतिक्रिया