भिरबाट खसेको ढुंगा लागेर बाजुरामा महिलाको मृत्यु

बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भिरबाट ढुंगा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नम्बर ३ का वडाध्यक्ष जंगवीर रोकायाले जानकारी दिए ।

घाँस काट्दै गरेका बेला एक्कासी भिरबाट ढुंगा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी थिइन् । भिरबाट खसेको ढुंगा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।

प्रतिक्रिया