लमजुङमा सर्वाधिक धनराशीको ३१औँ त्रिवेणी कप प्रतियोगिता

लमजुङ । लमजुङमा जिल्लाकै सर्वाधिक धनराशीको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता गत वर्ष झैँ आगामी पुस दोस्रो सातादेखि हुने भएको छ । मंगलबार बेसी शहरमा पत्रकार सम्मेलन गर्दै पुस १२ गतेबाट प्रतियोगिता सञ्चालन हुने क्लवले जानकारी दिएको छ ।

यस वर्षको त्रिवेणी कप फुटबल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । प्रतियोगितामा उपविजेताले नगद ४ लाख पाउने भएका छन् । त्यस्तै सेमीफाइनल पराजित दुई टीमलाई नगद १–१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०–२० हजार रुपैयाँ पाउनेछन् । टिम दर्ता शुल्क २० हजार रुपैयाँ राखिएको छ । जिल्लामा फुटवबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष घिमिरेले बताए ।

क्लवले यस वर्षको त्रिवेणी कप फुटबल प्रतियोगिता सञ्चालनका लागी ४७ लाख १० हजार अनुमानित खर्च हुने जनाएको छ । गत वर्ष पुरस्कार ५ लाख रुपैँया थियो । ३१औँ संस्करणको प्रतियोगिता बेसी शहरस्थित सहजी खेल मैदानमा सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया