गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आरोपी युवक जेल चलान

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक युवक पूर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पूर्पक्षका लागि सोमबार जेल चलान भएका हुन् ।

गत कात्तिक १७ गते ती बालिकाको शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा शव फेला परेको थियो । बालिकाको दर्दनाक अवस्थामा खोलामा शव फेला परेपछि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै विरोध र प्रदर्शनमा उत्रिएका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशोर प्रधानसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर अनुसन्धानपछि शंकास्पद व्यक्ति खाँलाई नियन्त्रणमा लिएको थियो । मृतक बालिका शान्तिपुरको श्रीलंकाटोलमा आमासँग डेरामा घरमा बस्दै आएकी थिइन् ।

आमासँग घर नजिकैको खेतमा काम गर्न गएकी उनी कात्तिक १६ गते बिहान ११ बजे खेतलालाई सुर्ति किन्न बजार गएपछि सम्पर्कबिहीन बनेकी थिइन् । गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी जिल्ला अदालतमा पेस गरेको थियो ।

गुल्मी जिल्ला अदालतले सोमबार खाँलाई पूर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । हत्या आरोपी खाँलाई प्रहरीले गत कात्तिक १७ गते चन्द्रकोट गाउँपािलका ‐४ अन्र्तगत शान्तिपुरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया