सुदूरपश्चिम महोत्सव मंसिर २२ बाट सुरु हुने

धनगढी । सुदूरपश्चिम महोत्सवको १७ औँ संस्करण यही मंसिर २२ गतेबाट सुरु हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव यही मंसिर २२ गतेदेखि पौष २ गतेसम्म सञ्चालन हुने भएको हो

शुक्रबार पत्रकार सम्मेलन गर्दै कैलाली उद्योग वाणिज्य संघले महोत्सवबारे जानकारी गराएको हो ।

सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृती र कलाको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

उनले महोत्सव सुदूरपश्चिमको समग्र विकासका सम्भावनाहरुलाई उजागर गर्ने तथा पछिल्लो समयमा विविध कारणबस प्रतिकुल परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई आशावादी बनाइ पुनःस्थापित गर्न महोत्सव उपलब्धिमुलक हुने विश्वास व्यक्त गरे ।

महोत्सवमा कृषिजन्य व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने अध्यक्ष कुँवरले बताए ।
महोत्सव अनुमानित २ करोडको लगानीमा सम्पन्न गरिने तथा महोत्वसवमा उद्योगी व्यवसायको १० करोड वरावरको कारोबार हुने अनुमान गरिएको उनले बताए ।

महोत्सवमा कृषि, जडिबुटी हस्तकला,फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरि ४ सय जतिको संख्यामा स्टलहरुको सहभागिता रहने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सव सम्पन्न गर्न मुल समितिसहित ३० उपसमिति रहनुका साथै महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको तथा महोत्सव करिव ५ लाख व्यक्तिले अवलोकन गर्ने जनाइएको छ ।

महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु.५०,सर्वसाधारणलाई रु १ सय टिकटदर राखिएको र फरक क्षमता भएकालाई निःशुल्क गरिने जनाइएको छ ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सव धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा सञ्चालन हुने संघले जनाएको छ ।

प्रतिक्रिया