सिमेन्ट निर्यातमा छलाङ

पाँच वर्ष अघिसम्म नेपाल सिमेन्टमा परनिर्भर थियो । कुल खपतको करिब ८० प्रतिशत भारतबाट आयात हुन्थ्यो । एक वर्षमा ३३ अर्ब रुपैयाँको सिमेन्ट आयात हुन्थ्यो तर अब त्यो अवस्था रहेन । नेपाल सिमेन्टमा आत्मनिर्भर मात्रै बनेको छैन, सिमेन्टको निर्यातमा उत्साहजनक वृद्धी हुन थालेको छ । नेपालले सिमेन्ट निर्यात गर्न थालेको गत आर्थिक वर्षदेखि हो । गत आर्थिक वर्ष करिब ७८ करोड रुपैयाँको सिमेन्ट भारत निर्यात भएको थियो । जसमध्ये सुरुका चार महिना अर्थात साउनदेखि कात्तिकसम्म ४ करोड ५० लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो । तर चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म १ अर्ब ८ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको छ ।

यो वृद्धि २० गुणाभन्दा बढी हो । यही रफ्तारमा सिमेन्ट निर्यातमा वृद्धि हुने हो भने भारतसँगको व्यापार घाटा कम गराउन सिमेन्ट उद्योगहरूले ठूलो योगदान पुर्याउने निश्चित छ । नेपालबाट निर्यात हुने अरू बस्तुको तुलनामा सिमेन्ट निर्यातले पुर्याउने आर्थिक लाभ ठूलो छ । किनकी सिमेन्ट उत्पादनमा स्वदेशी कच्चापदार्थ, स्वदेशी जनशक्ति तथा स्वदेशी ऊर्जाको प्रयोग हुन्छ । नेपाली सिमेन्टका लागि भारतमा निकै ठूलो बजार छ । नेपाली सिमेन्ट उद्योगीका लागि पनि भारतमा निर्यात गर्नु फाइदाजनक छ ।

पहिलो कुरा त भारतको सबैभन्दा धेरै जनसंख्या रहेका उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा निकै टाढा अर्थात राजस्थान मध्यप्रदेश, मेघालयबाट क्लिंकर तथा सिमेन्ट ढुवानी गर्दा उत्पादन लागत मह“गो पर्न जान्छ । तर नेपालबाट ज्यादै थोरै लागतमा ढुवानी हुन्छ । भारतबाट समान बोकेर नेपाल आउने आधिकांश ट्रक रित्तै फर्कने गर्छन् । यी ट्रकमा नेपालबाट सिमेन्ट तथा क्लिंकर ढुवानी गर्दा भाडा सस्तो पर्न जान्छ । नेपालका सिमेन्ट उद्योगबाट भारततर्फ १ सय ५० किलोमिटर ढुवानी गर्दा जति भाडा लाग्छ नेपालको पहाडतर्फ त्यति नै दुरीमा सिमेन्ट ढुवानी गर्दा दोब्बर भाडा लाग्छ ।

साउन, भदौ, असोज महिना नेपालमा मात्र होइन, भारतमा पनि अफसिजन मानिन्छ, कात्तिक–मंसिरदेखि बल्ल निर्माणको सिजन सुरु हुन्छ । पछिल्लो चार महिनाको आँकडाले यो वर्ष ६–७ अर्ब रुपैया“को सिमेन्ट तथा क्लिंकर निर्यात हुने देखिएको उद्योगीहरूले बताएका छन् । किन्ने र बेच्ने दुबै पक्षलाई लाभ हुने भएकोले सिमेन्ट निर्यातबाट भारतसँगको ब्यापार घाटा कम गर्न सकिन्छ भन्ने कुरा पुष्टि भएको छ । नेपाल सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई आठ प्रतिशतसम्म नगद अनुदान र १० करोड रुपैयाँभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने प्रावधान ल्याएको छ । यही प्रावधानका कारण सिमेन्ट निर्यात संभव भएको हो । आफ्नो देशको सिमेन्टका तुलनामा नेपाली सिमेन्ट सस्तो र भरपर्दो भयो भने मात्रै भारतमा बजार बिस्तार हुने हो । यसका लागि सरकार र व्यवसायी दुबैले इमानदारीका साथ प्रयास गर्नु जरुरी छ ।

पाँच वर्षअघि अर्थात आर्थिक वर्ष ०७४/७५ मा ३१ अर्ब ३३ करोडको सिमेन्ट तथा क्लिंकर आयात भएकोमा अहिले चार महिनाको अवधिमै एक अर्ब रुपैयाँभन्दा बढीको सिमेन्ट निर्यात हुनु भनेको सानो उपलव्धी होइन । हाम्रो देश भूपरीवेष्टित छ । त्यसमा पनि समुन्द्रसम्मको पहुँचमार्ग निकै लामो छ । तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी तेस्रो मुलुकमै निर्यात गर्ने उद्योगहरू हाम्रो देशमा फष्टाउन संभव छैन । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी भारतमा निर्यात गर्न सकिने उत्पादनहरू नै नेपालमा फष्टाउने हुन् । यसका लागि सिमेन्ट उत्पादन तथा निर्यात सबैभन्दा उपयुक्त हो ।

व्यवसायीहरूका अनुसार देशभर वार्षिक दुई करोड टन अर्थात ४० करोड बोराभन्दा बढी सिमेन्ट उत्पादन क्षमताका उद्योग छन्, तर दुईतिहाइ क्षमताको अझै उपयोग भएको छैन । भारतको विहार, पश्चिमबंगाल र उत्तर प्रदेशमा सिमेन्टको माग अथाह छ । सरकारले सहज रूपमा नगद अनुदान उपलब्ध गराउने र लजिस्टिक लगायतका समस्याहरू समाधान गरे आगामी तीन वर्षभित्र वार्षिक ५० अर्ब रुपैयाँको र पाँच वर्षभित्र एक सय अर्ब रुपैयाँको सिमेन्ट निर्यात गर्न सकिने नेपाल सिमेन्ट उद्योग संघले जनाएको छ ।

प्रतिक्रिया