कहाँ गए चेलीबेटी संरक्षणका एनजिओकर्मी ?

केही दशक अघिसम्म नुवाकोट, सिन्धुपाल्चोक रसुवालगायत जिल्लाका केही गाउँहरू निकै चर्चामा थिए । चेलिबेटी बेचबिखन हुने गरेको भन्दै एनजिओ तथा आइएनजिओहरूले पत्रकार लिएर फिल्डमा पुग्थे । स्थलगत समाचार भन्दै मूलधारका मिडियाहरूले मुखपृष्ठमा समाचार छाप्थे । बेचिएका चेलीहरूलाई ‘उद्धार’ गर्न मिडियाकर्मी बोकेर भारतको मुम्बई पुग्ने एनजिओकर्मीहरू पनि थुप्रै थिए । यस वापत यी एनजिओकर्मीहरूले ठूलाठूला अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाए । राष्ट्रिय स्तरमा पनि ठूलै पदमा पुगे । अनुराधा कोइराला त शाही शासनकालमा मन्त्रीसमेत बनिन् । गणतन्त्रमा पनि प्रदेश प्रमुखको पद हासिल गरिन् । चेलिबेटी बेचबिखन प्रकरणलाई अलग बिट बनाएका पत्रकारहरूले राम्रै बन्दोबस्त गरे ।

सरकारी मिडियामा आकर्षक राजनीतिक नियुक्तिसमेत पाए । तर, यतिबेला चेलेबेटी बेचबिखन नियन्त्रणमा नाममा एनजिओ कर्म त्यति फस्टाएको देखिएको छैन । चेलीबेटी बेचबिखनको समस्या समाधान भएका कारण यो प्रकरणको एनजिओ कर्म फस्टाउन नसकेको हो भने ज्यादै सुखद् संकेत हो । तर छिटफुट रूपमा आउने गरेका समाचारलाई हेर्दा दुई दशकसम्म नुवाकोट, सिन्धुपाल्चोक रसुवालगायत जिल्लाका केही गाउँहरूमा मात्रै सीमित रहेको यो समस्या यतिबेला देशव्यापी बनेको छ । भारतको मुम्बईलगायत सीमित ठाउँमा रहेको यो गन्तव्य बिस्तार हुँदै हिमाल तथा समुन्द्र नाघेर १ सय ५० भन्दा बढी देशमा फैलिइसकेको छ । हिजो नुवाकोट र मुम्बईको ‘कनेक्सन’ रोक्ने भन्दै जो जो एनजिओकर्मी संलग्न थिए, उनीहरूकै चर्को दबाबमा सरकारले वैदेशिक रोजगारीका लागि महिलालाई पनि पुरुषसरह अधिकार प्रदान गरेको हो ।

चेलीबेटी बेचबिखन हुँदै आएको मुम्बईको गन्तव्य फैलिएर हिमाल पारि तथा सात समुन्द्रपारी पुगेको तथ्यांकका आधारमा सरकारले निश्चित उमेर समूहका महिलालाई वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाएको थियो । तर महिला अधिकारवादी एनजिओकर्मीको चर्को दबाब पछि प्रतिबन्ध खुला गर्न सरकार वाध्य भयो । किनकी पुरुषसरह अधिकार महिलाले किन नपाउने ? भन्ने प्रश्नको जवाफ सरकारसँग थिएन । चेलिबेटी बेचबिखनको समस्या रोक्ने भन्दै सरकारले वैदेशिक रोजगारमा जाने निश्चित उमेर समूहका महिलाले अभिभावकको रोहवरमा वडा कार्यालयको समेत सिफारिस लिनुपर्ने प्रावधान ल्यायो । तर, नागरिक स्वतन्त्रतामाथि हनन् भएको भन्दै केही एनजिओकर्मी महिला सडकमै उत्रे ।

वैदेशिक रोजगारीमा लाखौँ युवतीहरू छन् । हरेक वर्ष हजारौँ युवतीहरू जान्छन् । केही अपवादलाई छाडेर सबैले सम्मानजनक रोजगारी पाएको समाचार पनि आउने गरेको छ । केही देशमा त सरकारी समन्वयमै पठाइएको छ । तर अपवादका रूपमा नराम्रा घटना पनि छन् । राजीखुसीका साथ विदेशमा गएर स्वेच्छाले देहव्यापारमा संलग्न हुनेहरूलाई राज्यले निगारानीमा राख्न संभव छैन । तर झुक्याएर पठाइएका र बन्धक बनाएर देहव्यापारमा संलग्न गराइएका घटना पनि थुप्रै छ । नेपाली चेलीलाई झुक्याएर विदेश लैजाने र बन्धक बनाएर देहव्यापारमा संलग्न गराउने गिरोहको सन्जाल अहिले पनि गाउँगाउँमा बिस्तार भइरहेको छ । यसै प्रकरणमा चार वर्षअघि मात्रै नेपाल प्रहरीले सिन्धुपाल्चोक हेलम्बुकी रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेसीसहरकी अमृता तामाङ, भरत तामाङ र उषाकुमारी घिमिरेलाई पक्राउ गरेको थियो । त्यस्तै चिनियाँ नागरिकहरू हुवईका जिङ झियाङ डोङ, ज्याङ डोङ हुई, क्वान झ्याङ पेङ र क्विन लियाङ पक्राउ परेका थिए । यसैगरी प्रहरीले लमजुङ सीमपानीकी सोनी गुरुङ, कविता गुरुङ, धादिङ निलकण्ठकी ललिता गुरुङ, कास्की लेखनाथकी शर्मिला परियार र सुनसरी इनरुवाकी विन्दा चौधरीलाई उद्धार गरेको थियो । प्रहरीका अनुसार अहिले पनि अभिभावकलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म दिएर नेपाली चेलीबेटीहरूको तस्करी हुँदै आएको छ । चेलीबेटी बेचबिखन भनेको सानो अपराध होइन, यस्तो अपराधले भविष्यमा देशले चुकाउनुपर्ने मूल्य सानो हुँदैन । विवाहका लागि उमेर पुगेको केटाले केटी नपाउने समस्या नेपालमा आउन थालिसकेको छ । चेलीबेटीलाई समयमै सुरक्षा गर्न सकिएन भने भोलि यो समस्याले ल्याउने भयानक परिस्थिति सामान्य हुने छैन ।

प्रतिक्रिया