१९७४ एडीको सांगीतिक यात्रा

काठमाडौं । चर्चित सांगीतिक समूह १९७४ एडीले नयाँ सांगीतिक यात्राको तालिका सार्वजनिक गरेको छ । समूहले नोभेम्बर १९ देखि १५ डिसेम्बरसम्म हुन गइरहेको सांगीतिक यात्राको तालिका सार्वजनिक गरेको हो । १९ नोभेम्बरमा दार्जिलिङको खर्साङमा ‘द पाइन ट्रि फेस्टिभल’ आयोजना हुँदैछ । ब्यान्डका सदस्य गायक तथा गिटारिस्ट फिरोज स्याङ्देन, गायक र ड्रमर एड्रियन प्रधान र बाँसुरीबाधक मनोज सिंह यही यात्राको लागि अमेरिकाबाट नेपाल आएका छन् । नेपालमा रहेका संस्थापक तथा बेसिस्ट निराकार याकथुङ्बा, लिड गिटारिस्ट मनोजकुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठसहित यात्रामा हुनेछन् ।

ब्यान्डको व्यवस्थापन हेरिरहेका सञ्जय श्रेष्ठले सांगीतिक यात्राले आफूहरुलाई पुनर्ताजगी गर्ने बताए । उनले भने, ‘यसपालिको पहिलो टुर फिरोज र एड्रियन दाइको गाउँको छिमेक खर्साङबाट सुरू हुन लागेकाले विगतमा यात्रा गर्दाका धेरै सम्झनाहरू ताजा भएको छ ।’

ब्याण्डका फिरोज र एड्रियनको जन्मस्थल क्रमशः तकभर दार्जिलिङ र कालिम्पोङ हो । सन् २००८ मा अन्तिमपटक मेचीपारी कन्सर्ट गर्न आएको लिड गिटारिस्ट मनोज केसीले जनाए । उनले भने ‘ब्यान्डको सुरूवाती दिनमा धेरै कन्सर्ट गरेका थियौं । यो भेगमा अन्तिमपल्ट सिक्किमको मंगनमा कन्सर्ट भएको थियो । यहाँ हामीलाई माया गर्ने धेरै स्रोताले मिस गर्नुभएको छ । त्यो सम्बन्धलाई यतिबेला जोड्न पाएजस्तो लागिरहेको छ ।’ बाँसुरीबाधक मनोज सिंहले पनि भारतलाई अथाहप्रेम रहेको बताए । उनले भने, ‘म भारतलाई अथाहप्रेम गर्छु । मलाई यहाँ बजाउन आउँदा दोस्रो घर आएजस्तो लाग्छ ।’

सञ्जयले खर्साङको यात्रा सकिएपछि २ डिसेम्बरमा दुबई, ३ डिसेम्बरमा अबुधाबी, ९ डिसेम्बरमा पोखरा, ११ डिसेम्बरमा बिर्तामोड र १५ डिसेम्बरमा काठमाडौंमा कन्सर्ट हुने तयारी रहेको जानकारी दिए । सन् १९९४ मा झम्सिखेलबाट सुरूवात भएको १९७४ एडीले ९ वटा एल्बम निकालेको छ । ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जंगी निशान’, ‘पिँजडाको सुँगा’ लगायत एल्बमका ‘सम्झी बस्छु’, ’मुटु भरिभरि’, ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बोधन’, ‘हिँड्दा हिँड्दै’, ‘गुँरास फुल्यो’, ‘धेरै धेरै आउँछ मनमा’ लगायतका गीत निकै चर्चित छन् । ती गीतबाहेक ब्यान्डले आफ्नो पछिल्लो गीतको रूपमा राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जातले हैन दिलले’ को पर्फर्मेन्स भर्सन पनि सार्वजनिक गरेको छ । खर्साङको रोहिनी लेक गार्डेनमा हुन लागेको ‘पाइन ट्रि फेस्टिभल’ को यो पाचौँ संस्करण हो । संगीतसँगै यसले सांस्कृतिक पाटोलाई पनि सँगै लैजाने उद्देश्य लिएको छ । त्यसको लागि स्टेजनजिकै स्थानीय सामान बिक्रीमा राख्ने गरी तीसवटा स्टल राखिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया