काठमाडौं । बहुपति प्रथाका आधारित डकुमेन्ट्री ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । क्यानडाको टोरोन्टोमा आयोजित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो । समारोहमा फेस्टिभलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एसोसिएट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसोसिएट प्रोफेसर क्रिस्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरे ।
अमेरिकन एन्थ्रोपोलिजिकल एसोसिएन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै चलचित्र महोत्सव गर्दै आएको छ । अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीको सहभागितामा यसवर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै चलचित्र र मिडिया महोत्सव भइरहेको छ ।
उक्त महोत्सवमा संसारभरिबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं चलचित्र तथा वृत्तचित्रहरुको प्रतिस्पर्धामा नेपालको विशिष्ट परिवेशमा बनेको वृत्तचित्र को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको हो । निर्देशक पाण्डेले भने, ‘विश्वका प्रतिष्ठित प्राध्यापक र मानवशास्त्रीहरुको माझमा पुरस्कार थाप्न पाउँदा निकै खुसी र गर्व लागेको छ । नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो ।’
उनले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा को–हजबेण्डलाई सन्दर्भ सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराइदिने भएको कुरा थाहा पाउँदा निकै खुसी लागेको पनि बताए । निर्देशक पाण्डेले भने, ‘मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरुलाई एउटा सन्दर्भ सामग्रीको रुपमा सुवर्ण अवसरसमेत प्रदान गर्ने उत्कृष्ट सन्दर्भ सामग्रीको रुपमा राख्ने संस्थाको तर्फबाट घोषणा गरेकोमा आफैमा गौरवान्वित लागेको छ ।’ यसअघि पनि को–हजबेन्डले विश्वका प्रतिष्ठित चलचित्र महोत्सवमा अवार्ड जितिसकेको छ ।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री डोल्पा तथा हुम्लाको भरगाउँमा छायांकन गरिएको हो । यस डकुमेन्ट्री चलचित्रमा जेठो दाजुलाई मुख्य श्रीमान र भाइहरुलाई सहायक श्रीमानको रुपमा देखाइएको छ । डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रमा रहिआएको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ । एक वर्षको अनुसन्धान र तीन वर्ष छायांकन गरी ४ वर्षको मेहेनतपछि निर्देशक पाण्डेले बहुपति प्रथामा आधारित ‘सहायक श्रीमान्’ निर्माण गरेका हुन् ।
प्रतिक्रिया