‘बलिदान’ मा भित्रिए सौगात

काठमाडौं । सन्तोष सेनको निर्देशनमा बन्न लागेको चलचित्र ‘बलिदान’ को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल रहने भएका छन् । निर्माण पक्षले सौगातसँग कागजी सम्झौता गर्दै चलचित्रको लागि अनुबन्धित गरेको हो । चलचित्रका लागि यसअघि अर्पण थापा अनुबन्ध भइसकेका छन् । चलचित्रमा सौगातले मधेसी चरित्र निर्वाह गर्ने छन् । तराई र पहाडको विषयवस्तुमा चलचित्र निर्माण हुन लागेको निर्देशक सेनले बताए ।

आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रका निर्मातामा पवन ब्राडफोर्ड बिस्ट छन् भने कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी रहेका छन् । दर्शन जीको लेखन रहने चलचित्रको ‘स्क्रिप्ट डक्टर’ मा मनोज पण्डित छन् । चलचित्रको प्रदर्शन मिति आगामी वर्षको दसैँको फूलपातीलाई घोषणा गरिएको छ । चलचित्र छायांकन आगामी पुसदेखि गर्ने योजना निर्माण पक्षको छ ।

दोस्रो पटक ‘बलिदान’ शीर्षकमा चलचित्र बन्न लागेको हो । वि.सं. २०५४ सालमा निर्देशक तुलसी घिमिरेले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मुख्य भूमिकामा लिएर ‘बलिदान’ बनाएका थिए । यो चलचित्र युवाहरूको सपना र बलिदानको कथामा आधारित थियो ।

प्रतिक्रिया