३ सय करोड नाघ्यो ‘टाइगर ३’ को व्यापार

मुम्बई । बलिउड अभिनेता सलमान खान अभिनीत चलचित्र टाइगर–३ ले विश्वभरका थिएटरमा ३ सय करोड भारुभन्दा बढीको कमाइ गरेको छ । दीपावलीको छेको पारेर हलमा प्रदर्शनमा आएको यो चलचित्रको सफलताको बारेमा कुरा गर्दै सलमानले टाइगर फ्रेन्चाइजीको सफलता आफ्नो लागि निकै व्यक्तिगत भएको सुनाए ।

टाइगर फ्रेन्चाइजी २०१२ मा ‘एक था टाइगर’ बाट सुरु भएको थियो, जसमा अभिनेता सलमान अविनाश सिंह राठौर नामक जासुसको भूमिकामा प्रस्तुत भएका थिए । उनीसँगै जोयाको भूमिकामा रहेकी अभिनेत्री कट्रिना कैफलाई पनि मानिसले मनपराएका थिए । यसपछि सन् २०१७ मा ‘टाइगर जिन्दा है’ र अहिले ‘टाइगर ३’ प्रदर्शनमा आएको छ । भारतीय सञ्चार माध्यमले सलमानलाई उद्यृत गर्दै टाइगर फ्रेन्चाइजीलाई मनपराएको आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘वर्षौंदेखि दर्शकले मलाई र मेरो टाइगरको फ्रेन्चाइजीलाई दिएको मायाका लागि म आभारी छु । मैले अहिलेसम्म तीन पटक टाइगरको भूमिका निर्वाह गरेको छु । यो प्रशंसा मेरो लागि सफलताको ह्याट्रिक जस्तै हो ।’ उनले यो एउटा यस्तो चरित्र हो जसका लागि आफूले निकै मिहिनेत गरेको बताए ।

यो चरित्रमा आउन धेरै त्याग गरेकाले यसको सफलता विशेष रहेको उनको भनाई छ । सलमानले एक्सन हिरो हुन पाउँदा निकै गर्व लागेको सुनाए । उनले दबंग, वान्टेड, बडिगार्ड, किक, राधे र किसी का भाई किसकी जान लगायतका एक्सन चलचित्र बनाएका छन् । उनले आफूलाई एक्सन हिरोको रुपमा जनताले मनपराएकोमा आफू भाग्यमानी रहेको बताए ।

प्रतिक्रिया