‘पनौतीका केही जात्रापर्वहरू’ विमोचित

काभ्रे । साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा लिखित ‘पनौतीका केही जात्रापर्वहरू’ को दोस्रो संस्करण बजारमा आएको छ । उक्त पुस्तक हालै संस्कृतिकर्मी तथा इतिहासकार प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठ, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, निवर्तमान प्रमुख भीम न्यौपाने र लेखक सूर्य लाकोजूले संयुक्तरुपमा विमोचन गरे । कार्यक्रमका विशिष्ट अतिथि डा. श्रेष्ठले नेपालको इतिहासमा पनौती अग्रस्थानमा रहेको र पनौतीजस्तो ऐतिहासिक स्थानको बारेमा खोज गरेर लेखिएको पुस्तक पनौतीका केही जात्रापर्वहरू सान्दर्भिक पुस्तक बनेको प्रतिक्रिया दिए ।

कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भण्डारीले कृतिमार्फत लेखकले पनौतीलाई चिनाउने कार्य गरेको विचार व्यक्त गरे । निवर्तमान प्रमुख न्यौपानेले लाकोजूको पुस्तक पनौतीबासीका लागि मात्र नभई सबैका लागि अध्ययन गर्नलायकको रहेको जिकिर गरे । टिप्पणीकार तुयुकाजी ताम्राकारले पुस्तकले नेपाली मौलिक संस्कृतिको वकालत गर्दै संस्कृतिको संरक्षणका लागि प्रेरणा दिने विचार प्रकट गरे । लेखक लाकोजूको यस पुस्तकमा पनौतीको परिचय, ऐतिहासिक पृष्ठभूमि, पनौतीमा वर्षभरिमा मनाइने जात्राहरू, पर्वहरू, केही नाचहरू लगायतका विषयवस्तु समेटिएका छन् ।

प्रतिक्रिया