जेपी गुप्ताको राजनीतिक उत्थान र पतन

त्यत्रो अवशर प्रदान गर्दागर्दै पनि गिरिजाप्रसाद कोइरालालाई सिधै धोका दिनेले अरूलाई के बाँकी राख्ला र ? भन्ने ठम्याई भारतीय दूतावासका हर्ताकर्ताहरूले गरेका हुन सक्छन् । गुप्तालाई ‘संभोग पछिको कण्डम’ बनाइनुको कारण त्यही हुन सक्छ भन्ने अनुमान धेरैको छ । तर यस विषयमा सबैभन्दा जानकार स्वयं गुप्ता नै हुन् । किनकी सुशीला कार्की कसरी न्यायाधीश हुँदै प्रधानन्यायाधीशसम्म पुगिन् ? डा.बाबुराम भट्टराई र सुशीला कार्कीको सम्बन्धको रुद्रघण्टी के हो ? भन्ने कुरामा गुप्ता जत्तिको चतुर व्यक्ति अवश्य पनि अनभिज्ञ छैनन् ।

विन्दुकान्त घिमिरे

केही दिनअघि पूर्वमन्त्री जयप्रकाश गुप्ताले नेपाली कांग्रेसका ओझेलमा परेका नेताहरूको सन्दर्भमा आफ्नो फेसबुक पेजमा लामो स्टाटस राखेका थिए । त्यो स्टाटसलाई हजारौँले सेयर गरे । दर्जनौँ पत्रिकाहरूले प्रकाशन गरे । कुनै बेला गुप्ता स्वयं नेपाली कांग्रेसका उम्दा नेता थिए । नेपाली कांग्रेसको केन्द्रीय तहको राजनीतिमा छाउनुअघि गुप्ता उम्दा पत्रकार थिए । त्यसैले नेपाली कांग्रेसका ओझेलमा परेका नेताहरूका सन्दर्भमा गुप्ताले लेखेको स्टाटसप्रति धेरैको चासो हुनु स्वभाविक हो ।

विगत दुई दशकदेखि गुप्ता नेपाली कांग्रेसबाट निकै नै टाढा छन्, तर नेपाली कांग्रेसको एउटा कालखण्डको इतिहास गुप्ताविना अधुरो हुन्छ भन्ने कुरा सत्य हो । खासगरी २०४२ सालको सत्याग्रहदेखि २०६४ सालको अन्तरिम संविधान निर्माणसम्मको २२ वर्षको अवधिको नेपाली कांग्रेसको इतिहास लेख्दा विभिन्न प्रश्नहरूको उत्तर खोज्नुपर्ने हुन्छ । त्यसमध्ये केही प्रश्न यस्ता छन्, जसको यथार्थ उत्तर दिने हैसियत गुप्ताले मात्रै राख्छन् । त्यसैले त्यो कालखण्डको सेरोफेरोमा कांग्रेसको सक्रीय राजनीति गर्नेहरू अझै पनि जेपी गुप्तालाई गैर कांग्रेस ठान्दैनन् ।

२०४२ सालको सत्याग्रह आन्दोलन, टनकपुर सन्धी, दरबार हत्याकाण्ड, माओवादी विरुद्धको सेना परिचालन, नेपाली कांग्रेसको विभाजन, स्पेसटाइम प्रकरण, मधेसवादी आन्दोलनले नेपाली कांग्रेसमा ल्याएको पहिरो लगायतका केही प्रकरणहरूका विषयमा नेपाली कांग्रेसका समकालीन नेताहरूको तुलनामा जेपी गुप्ताले दिने उत्तरहरू प्रति धेरैको चासो हुनसक्छ । उनले आफ्नो फेसबुक स्टाटसमा यी प्रकरणका सन्दर्भमा बेलाबेलामा आफ्ना दृष्टिकोण राख्दै आएका छन् । यी घटनाका सन्दर्भहरू पनि उल्लेख गर्दै आएका छन् ।

उनका पछिल्ला स्टाटस हेर्दा केही सन्दर्भहरू बिर्सन थालेका हुन् कि भन्ने पनि देखिन्छ । राजनीतिक अनुभवले खारिए पनि गुप्ता अझै ७० कटेका छैनन् । उनी फुर्सदिला पनि छन् । त्यसैले गुप्ताबाट अझै धेरै कुरा आउने अपेक्षा राजनीतिप्रति चासो राख्ने विश्लेषकहरूले गर्नु स्वभाविकै हो । तर उनले कतिसम्म निष्पक्ष र तटस्थ भएर प्रस्तुत गर्न सक्छन् भन्ने प्रश्न भने यथावत छ । किनकी उनले वाध्यताले कांग्रेस छाडेका होइनन्, रहरले छाडेका हुन् । कांग्रेस पार्टी र यसका कतिपय नेताहरू पनि उनको व्यक्तिगत इगो र दुराग्रह हुनु अस्वभाविक होइन ।

पार्टीभित्र ऐतिहासिक छाप छाड्न लामो कालखण्ड राजनीति गर्नु पर्दैन । उदाहरणका लागि सूर्यप्रसाद उपाध्यायले नेपाली कांग्रेसमा रहेर जम्माजम्मी १२ वर्ष राजनीति गरे । २००५ सालदेखि २०१७ सालसम्म । त्यसपछि उनी पञ्चायत प्रवेश गरे । पञ्चायत र कांग्रेस भनेका वर्ग दुश्मन हुन् । तै पनि नेपाली कांग्रेसका पाँच जना प्रभावशाली नेताको नाम लिने कसैले पनि सूर्यप्रसाद उपाध्यायको नाम छुटाउँदैनन् । किनकी पञ्चायतमा प्रवेश गरेर पनि सूर्यप्रसाद उपाध्यायले नेपाली कांग्रेस र यसका नेता तथा कार्यकर्ताप्रति कहिल्यै पनि दुर्भावना राखेनन्, बरु आफ्नो गच्छेअनुसार सहयोग गरिरहे । पञ्चायत प्रवेश गरेर पनि कुनै लाभको पद लिएनन् ।

यसैगरी अहिले नेपाली कांग्रेसमा नरहे पनि गुप्ताले लामो समय कांग्रेसमा योगदान पु¥याएका छन् । खासगरी २०३६ सालदेखि २०६४ सालसम्म २८ वर्ष गुप्ताले नेपाली कांग्रेसमा काम गरेका छन् । २०६४ साल यता भने उनी मधेसी राजनीतिमा संलग्न छन् । तर नेपाली कांग्रेसको राजनीतिमा हुँदा उनले पार्टीभित्र जुन भूमिका र सम्मान पाएका थिए, मधेसी पार्टीबाट त्यस्तो सम्मान र भूमिका उनले पाउन सकेका छैनन् । त्यसले राजनीतिक रूपमा उनी निरन्तर पतनोन्मुख हुँदै गएका छन्, तर लेखक तथा विश्लेषकका रूपमा भने गुप्ता अहिले पनि चर्चित छन् ।

राजनीतिक रूपमा पतन भएसँगै अरू धेरैजसो नेताहरू राष्ट्रिय परिदृश्यबाट ओझेलमा परेको देखिएको छ । तर गुप्ता राष्ट्रिय परिदृश्यबाट ओझेलमा छैनन् । यसका निश्चित कारणहरू छन् । पहिलो कुरा त नेपाली कांग्रेसको राजनीतिक शक्तिमा रहँदा गुप्ताले अरू नेताको जस्तो आफ्ना समकालीनलाई भित्तामै पु¥याएर समाप्त पार्ने प्रयास गरेनन् । आँफूसँग असहमत हुनेहरूप्रति केही अपवादबाहेक सार्वजनिक रूपमा दूराभाव प्रकट गरेनन् । यसैगरी आफ्नो लेखकीय क्षमता प्रदर्शन गरिरहे । मेची महाकालीको राजनीतिक परिदृश्यबाट तराईका करिब एक दर्जन जिल्लाको राजनीतिमा सीमित हुने बाटो गुप्ताले किन रोजे ? भन्ने प्रश्न अहिले पनि अनुत्तरित छ । यो प्रश्नको उत्तर निकै नै महत्वपूर्ण छ । यदि व्यक्तिगत लाभको लागि हो कि ? भन्ने हो भने नेपाली कांग्रेसबाट उनले नपाएको केही थिएन । नेपाली कांग्रेसबाट उनले जे जति पाएका थिए त्यो भन्दा बढी उनले मधेसीदलबाट पाउन सकेको देखिँदैन ।

पार्टीगत योगदानको कुरा गर्ने हो भने उनी मधेस आन्दोलनका मुख्य नायक हुन् । उनैले स्थापना गरेको मधेसी जनाधिकार मञ्चले नै मधेस आन्दोलनलाई मूर्तरूप दिएको हो भन्ने कुरामा कहीँ कतै विमति छैन । नेपाली कांग्रेसका लागि बिपी कोइराला जे हुन् मधेसीदलका लागि गुप्ता त्यही हुन् । तर मधेसीदलका कुनै पनि कार्यक्रममा न गुप्तालाई आमन्त्रण गरेको देखिन्छ, न त उनको तस्बिर नै मधेसी दलका कुनै कार्यक्रममा राखेको देखिएको छ ।

गुप्ताको जगजगी

२०४६ साल अघिसम्म अन्य पार्टीका जस्तै नेपाली कांग्रेसका सीमित नेताहरूलाई मात्रै बौद्धिक वर्गले चिन्थ्यो । नेपाली कांग्रेसका करिव आधादर्जन नेताहरू मात्रै सार्वजनिक रूपमा चिनिन्थे । नेविसंघका नेताहरूलाई नै नेपाली कांग्रेसका नेता ठानिन्थ्यो । किनकी पार्टी प्रतिबन्धित थियो, नेविसंघ खुला थियो । नेविसंघमार्फत नै कांग्रेसको राजनीति अघि बढेको जस्तो देखिन्थ्यो । त्यो कालखण्डमा समेत जेपी गुप्ताको नाम चर्चित थियो । उनको सम्पादनमा प्रकासन हुने पूर्वक्षितिज पाक्षिक पत्रिका सबै विचार समूहका पाठकबीच चर्चामा थियो । स्कुलका विद्यार्थीहरूले समेत खोजी खोजी पढ्थे । केही साप्ताहिक पत्रिकामा उनका वैचारिक लेखहरू आउँथे ।

२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त ग¥यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । जेपी गुप्तालाई उनले प्रेस सल्लाहकार नियुक्त गरे । त्यतिबेला गुप्ता प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्ति हुनुलाई धेरैले स्वभाविक र न्यायपूर्ण ठानेका थिए । सञ्चार राज्यमन्त्री विजयकुमार गच्छदार थिए, तर प्रचारप्रसारका सबै मामिलामा गुप्ता हावी थिए । मन्त्रीभन्दा प्रधानमन्त्रीको प्रेस सल्लाहकार पद गर्विलो हो भन्ने सन्देश गुप्ताको सक्रीयताले प्रकट गरेको थियो । सरकारी सञ्चारमाध्यमका पत्रकारहरू गुप्तासँग अन्तवार्ता लिन लाइन लाग्थे । निजी दैनिक पत्रिका नभएका कारण पनि गुप्ता हावी थिए । त्यो कालखण्ड नेपाली कांग्रेसका लागि स्वर्णयुग थियो । तर कांग्रेसले त्यो कालखण्डको सदुपयोग गर्न सकेन । कांग्रेसभित्र विवाद र विग्रह उत्पन्न भयो । सर्वमान्य नेता गणेशमान सिंह र सभापति कृष्णप्रसाद भट्टराईलाई खुइल्याउन सरकारी सञ्चार माध्यमहरूको हदैसम्म दुरुपयोग भयो ।

त्यो कालखण्डमा सरकारी सञ्चार माध्यमको साख यसरी घट्यो कि सचेत जनताले सरकारी सञ्चार माध्यमका समाचार पत्याउनै छाडे । यसको दोषी तत्कालीन सञ्चारमन्त्री गच्छदार हुन् कि प्रधानमन्त्रीका प्रेस सल्लाहकार जेपी गुप्ता हुन् ? भन्ने प्रश्न अहिलेसम्म अनुत्तरित रहेको छ । यस विषयमा सच्चा इतिहास लेखिनका लागि सम्बन्धित व्यक्तिले कुरा खोल्नै पर्छ । तर दुवै जना अहिलेसम्म तैँ चुप मै चुप छन् । गच्छदार र गुप्ता बीचको द्वन्द्व स्पेसटाइम नेटवर्कलाई लाइसेन्स प्रदान गर्दाको बेलादेखि नै सुरु भएको टिप्पणी एकथरीको छ । तर यी दुवै पात्र नोना कोइरालाका धर्मपुत्रका रूपमा समेत चर्चित थिए । नोना आमाले गच्छदार र गुप्तालाई स्पेसटाइम प्रकरणमा जुधाइन होला भनेर कसरी पत्याउने ?

२०५६ सालको आमनिर्वाचनपछि गुप्ता अन्य सबै आकर्षक मन्त्रालय छाडेर सञ्चार मन्त्री बन्ने एकलब्य अभियानमा जुटे । आफ्नो लक्ष्य प्राप्त गरेरै छाडे । सञ्चारमन्त्रीका रूपमा उनी निकै चर्चित पनि बने । तर उनी सञ्चार मन्त्री बन्न किन मरिहत्ते गरेका रहेछन् ? भन्ने कुरा स्पेसटाइम नेटवर्कले स्याटलाइट टेलिभिजन सञ्चालन गर्न खोज्दा भएको अवरोधले छताछुल्ल पारिदियो । त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्पेसटाइमलाई स्याटलाइट टेलिभिजन चलाउन दिने पक्षमा थिए । नोना कोइराला र विजयकुमार गच्छेदारको पनि जोडबल थियो । नोना कोइरालाका भदै ज्वाइँ बसन्त भट्टराई र जमिम शाह मिलेर स्पेसटाइम चलाएका थिए । स्पेसटाइमसँग पैसाको बार्गेनिङ नमिलेका कारण गुप्ताले अवरोध सिर्जना गरेको बुझाइ आमकार्यकर्ताको छ । तर नोना कोइराला सेयर होल्डर रहेको स्पेस टाइमसँग सञ्चारमन्त्री गुप्ताले पैसाको बार्गेनिङ गरे भनेर पत्याउने कसरी ? स्पेस टाइममाथि अवरोध सिर्जना गर्दा सञ्चारमन्त्री पद फुत्कन्छ भन्ने हेक्का गुप्ताले राखेनन् भनेर पत्याउने कसरी ?

तर गुप्ता त्यही बेलादेखि नै प्रधानमन्त्री कोइरालाप्रति भन्दा लैनचौरस्थित भारतीय राजदूताबासप्रति बढी उत्तरदायी भएको चर्चा चलिसकेको थियो । अर्को चुनावमा गुप्ता नेपाल सद्भावना पार्टीको तर्फबाट उम्मेद्वार बन्ने ठोकुवा उनकै निकटस्थहरूले गरिसकेका थिए । गुप्ताका पूर्वस्वकीयसचिव इन्जिनियर तुलानारायण शाहले त गुप्ता अगामी चुनावमा सद्भावना पार्टीबाट उम्मेद्वार बन्ने भन्दै लेख नै लेखेका थिए । तर नेपाली कांग्रेसको प्रभावशाली पोजिसनमा रहेका गुप्ता अस्तित्व रक्षाको संघारमा पुगेको सद्भावना पार्टीबाट उम्मेद्वार बन्ने अवस्थामा पुग्लान् भन्ने कुरा कसले पत्याउने । यद्यपि घटनाक्रमले त्यो कुरा पुष्टिसमेत ग¥यो । नेपालको आफ्नै स्याटलाइट टेलिभिजन हुनुपर्ने अवधारणाका साथ तत्कालीन प्रधानमन्त्री कोइरालाले बसन्त भट्टराईलाई परिचालन गरेदेखि नै गुप्ता मधेसी राजनीतिमा लागिसकेका रहेछन् भन्ने कुरा मधेसी जनअधिकार मञ्च स्थापनाले पुष्टिसमेत ग¥यो ।

भ्रष्टाचार प्रकरण

गुप्ताको राजनीतिक पतन किन भयो ? भन्ने प्रश्नको एउटा उत्तर जनजिब्रोमा झुण्डिएको छ । त्यो उत्तर हो, भ्रष्टाचार र अकुत सम्पत्ति प्रकरण । यो उत्तर पूर्णतया गलत होइन । तर उनीभन्दा ५० गुण बढी भ्रष्टाचारी र अकुत सम्पत्ति कमाउनेहरूको राजनीति पतन भएको छैन, झन उन्नति भएर गएको प्रष्ट देखिन्छ । नाम उल्लेख गरिरहनु जरुरी छैन ।

त्यत्रो अवशर प्रदान गर्दा गर्दै पनि गिरिजाप्रसाद कोइरालालाई सिधै धोका दिनेले अरूलाई के बाँकी राख्ला र ? भन्ने ठम्याई भारतीय दूतावासका हर्ताकर्ताहरूले गरेका हुन सक्छन् । गुप्तालाई ‘संभोग पछिको कण्डम’ बनाइनुको कारण त्यही हुन सक्छ भन्ने अनुमान धेरैको छ । तर यस विषयमा सबैभन्दा जानकार स्वयं गुप्ता नै हुन् । किनकी सुशीला कार्की कसरी न्यायाधीश हुँदै प्रधानन्यायाधीशसम्म पुगिन् ? डा.बाबुराम भट्टराई र सुशीला कार्कीको संबन्धको रुद्रघण्टी के हो ? भन्ने कुरामा गुप्ता जत्तिको चतुर व्यक्ति अवश्य पनि अनभिज्ञ छैनन् । किनकी गिरिजाप्रसाद कोइराला र दुर्गा सुवेदीबीच कहिलेदेखि र किन पानी बाराबार भयो ? भन्ने यथार्थताबारे गुप्ता जति जानकार अरू छैनन् । सँगै मिलेर विमान अपहरण गरेका दुर्गा सुवेदी र बसन्त भट्टराईबीच बोलचाल बन्द भएको गुप्ता सञ्चारमन्त्री बन्नुअघि नै हो ।

प्रतिक्रिया