काठमाडौं । उडिसाको नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक ‘अभिनद्ध’ मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्य संस्था नाट्य चेतनाले आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्य संस्थाले संयुक्तरुपमा नाटक ‘अभिनद्ध’ तयार पारेका थिए । तनहुँमा रहेर नाट्यकर्म गरिरहेको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ, ओजस थिएटर काठमाडौं र आदिइत्यादि काठमाडौंले संयुक्तरुपमा नाटक तयार पारेका थिए ।
ओजस थिएटरका सञ्चालक एवम् अभिनद्ध नाटकका कलाकार सागर कार्कीले आफूहरुले पहिलो पटक विदेश भ्रमण गरेको बताए । उनले भने, ‘सम्भवतः हामी नेपाली नाटकमा नाटकघर चलाउने नाटककै पछिल्लो संस्था हौँ होला । हामीले पहिलोपल्ट विदेशको नाट्य यात्रा गरेका हौँ । फरक अनुभव लिने अवसर मिल्यो र फरक फरक नाट्य संस्थाहरुको सामूहिकताको एउटा प्रयास पनि उपलब्धिमूलक रह्यो ।’
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष एवम् नाटक अभिनद्धका कलाकार आकाश अधिकारीले काठमाडौं बाहिर रहेर आफूहरुले नाट्यकर्म गरेको सुनाए । उनले भने, ‘हामी त मोफसलमा बसेर साहित्य र नाटकको क्षेत्रमा बामे सर्दै गरेका हौँ । स्थानीय स्तरमा मात्रै सीमित हाम्रो लागि यो महोत्सव एउट ठूलो अवसर पनि थियो । हामीले यो नाट्य महोत्सवबाट धेरै कुरा सक्निे अवसर पनि प्राप्त ग¥यौं ।’ आदिइत्यादिका कोषाध्यक्ष एवम् नाटक अभिनद्धका कलाकार सुशीलसिंह ठकुरीले फरक फरक ठाउँका कलाकारहरु मिलेर नाटक तयार पार्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताए । उनले भने, ‘नाटक कलासँगै सिकाइको राम्रो अवसर पनि हो । यस नाटकले मलाई धेरै कुरा सिक्ने मञ्च प्रदान ग¥यो ।’
कलाकार उषा केसीले लामो समयपछि अभिनय फर्केको बताउँदै नयाँ कुरा सिक्न पाएको बताइन् । उनले भनिन्, ‘झण्डै २२ वर्षपछि म अभिनयमा फर्केको थिएँ, डर पनि लागेको थियो तर सबै कलाकारहरु पेशागत कलाकार भएका कारण मैले धेरै कुरा सिक्ने अवसर पनि पाएँ र काम गर्न पनि सहज भयो ।’ नाटक हेरेर आफ्नो संक्षिप्त प्रतिक्रिया दिँदै फ्रान्सेली नाटककार तथा नाट्य प्रशिक्षक पथ्रिकले नेपाली टोलीको समसामयिक नाटकले आफ्नो ध्यान खिचेको बताए । नाट्य महोत्सवका निर्देशक एवम् नाट्य चेतनाका अध्यक्ष प्रसिद्ध भारतीय नाटककार तथा निर्देशक सुबोध पटनायकले नेपाली नाटक अभिनद्धको मञ्चनले नेपाली नाट्य मञ्चनको शैलीलाई नजिकबाट नियाल्न पाएको सुनाए । उनले भने, ‘हामीले काम गरिरहेको लोकनाट्य शैलीको आदानप्रदान भएकोमा खुसी लागेको छ । आगामी दिनमा पनि नेपाली नाट्य संस्थाहरुसँग सहकार्य गर्नेछौं ।’
पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक ‘अभिनद्ध’ मा सविना गोपाली, रविन तामाङ, आकाश अधिकारी, सागर कार्की, सुशीलसिंह ठकुरी र उषा केसीको अभिनय रहेको थियो । नाटकमा कवि सरस्वती तिमल्सिनाको छ वटा कविता समावेश गरिएको थियो । नारायण दंगालको संगीत संयोजन रहेको नाटकको सहायक निर्देशन रविन तामाङले गरेका थिए ।
नाटक महोत्सवमा भारतका विभिन्न राज्य र नेपालका गरेर ११ वटा नाटक मञ्चन भएका थिए । नाटक टोलीलाई कलकत्तामा हाम्रो छहारी नामक संस्थाले स्वागत गरेको थियो । स्वागत कार्यक्रममा कलकत्तामा रहेका नेपाली र नेपालीभाषी साहित्यकार तथा विशिष्ठ व्यक्ति नारायण हुमागाईं, सञ्जीव गुरुङ, राजु पाठक, गुञ्ज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया