नेपाल सम्वत् हाम्रो पहिचान

तिहारे औंशीको भोलिपल्ट प्रतिपदादेखि नेपाल सम्वत् को नया“ वर्ष प्रारम्भ हुन्छ । यसपटक विक्रम सम्वत्को कात्तिक २८ देखि नेपाल सम्बत् ११४४ सुरु भएको छ । सम्वत् भनेको समयलाई व्यवस्थापन तथा अभिलेखीकरण गर्न बनाइएको विधि हो । विश्वमा सम्वत्हरू हजारौ“ छन् । जसमध्ये धेरै सम्वत्हरू व्यक्तिको नाम राखेर प्रचलनमा ल्याइएका छन् । कुनै देश तथा स्थानको नाम राखेर प्रयोगमा ल्याइएका सम्वत् ज्यादै सीमित छन् । त्यही सिमित सम्वत् मध्येको एउटा हो, ‘नेपाल सम्वत् ।’ प्रचलनमा रहेका अन्य सम्वत्को तुलनामा नेपाल सम्वत्को इतिहास छोटो छ ।

विक्रम सम्वत् ९३६ मा क्षेत्री लिच्छवि बंशका राजा धर्मदेव पछि बैश्य बंशका राजा राघवदेवको शासन नेपालमा सुरु भएको थियो । त्यही बेलादेखि नेपाल सम्वत्को आरम्भ भएको हो । तर नेपाल सम्वत्को आरम्भ किन र कसरी गरियो ? भन्ने कुराको यथेष्ट प्रमाण भने छैन । नेपाल सम्वत् प्रारम्भ हुनुभन्दा करिव एक सय वर्ष अघिसम्मको अवधिलाई नेपाली इतिहासको अन्धकार युग भनिन्छ । यो अवधिका ऐतिहासिक अभिलेख खासै फेला पर्न सकेका छैनन् ।

केही इतिहासविद्हरूले यो अवधिमा नेपाल तिब्बतको अधिनस्थ थियो भनेर लेखेका छन् । भारतीय इतिहासकार डा. आरसी मजूमदारले आफ्नो पुस्तक ऐन्सिएन्ट इन्डियाको पृष्ठ ३ सय ७५ मा नेपाल तिब्बतबाट सन् ८८० मा स्वतन्त्र भएपछि त्यसैको उपलक्ष्यमा नेपाल सम्वत् सुरु भएको उल्लेख गरेका छन् । सिल्भ्यांले सन् ७०२ मा नेपालमाथि तिब्बतले कब्जा गरेको भनेका छन् । यता शंखधर साख्वा नाम गरेका व्यापारीले जनतालाई ऋणमुक्त गराएर नेपाल सम्वत्को आरम्भ गरिएको किंवदन्ती छ ।

थालनीको इतिहास अस्पष्ट भए पनि नेपाल सम्वत् भनेको हामी सबै नेपालीको साझा गौरव हो । तिब्बतले नेपालमाथि शासन गर्दा उतैबाट आएको समुदायबाहेक नेपालका प्रायः सबैजसो मूलबासीहरूले नेपाल सम्वत्कै तिथिका आधारमा आफ्ना चाडपर्व मनाउँदै र अन्य धार्मिक संस्कार गर्दै आएका छन् । सरकारी कामकाजमा विक्रम सम्वत् प्रयोगमा ल्याइएपछि पनि प्रायः सबै मूलबासी नेपालीको जनजीवनमा भने नेपाल सम्वत् अनुसारका तिथिहरू नै प्रयोगमा छन् ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि पञ्चायतकालको अन्त्य नहुँदासम्म नेपाल सम्वत्लाई मुखररूपमा जोगाउँदै आएको राजधानी काठमाडौं उपत्यकाको नेवार समुदायले नै हो । यो मानेमा नेवार समुदायको योगदान ऐतिहासिक छ । साथसाथै खसआर्य समुदायले पनि नेपाली पञ्चांगमा निरन्तर नेपाल सम्वत्लाई समावेश गर्दै लिखित रूपमा जोगाउँदै आयो । तै पनि नेपाल सम्वत् भनेको नेवार समुदायको मात्रै हो, अरूको होइन भन्ने भ्रम पञ्चायतकालको अन्त्यसम्म पनि रहिरह्यो ।

२०४६ सालको परिवर्तनपछि भने जनतामा त्यो भ्रम पूरै हटेको छ, तर साम्प्रदायिक सद्भाव खलबल्याउन चाहने केही तत्वहरू भने अझै पनि नेपाल सम्वत्लाई नेवारको मात्रै हो भन्दै विवाद उत्पन्न गराउन लागिपरेका छन् । अचम्मको कुरा त के छ भने, जो नेवार होइनन्, नेपाल सम्वत्का तिथिअनुसार नै चाडपर्व मनाउ“छन्, आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्छन्, उनीहरू नै नेपाल सम्वत् भनेको नेवारको मात्रै हो भनेर उफ्रेको देखिन्छ । अर्को अचम्मलाग्दो कुरा के छ भने, जो तिब्बती क्यालेन्डरअनुसार आफ्ना धार्मिक तथा संस्कृतिक क्रियाकलाप गर्छन्, उनीहरू नै नेपाल सम्वत्लाई सरकारी कामकाजमा समेत ल्याउनुपर्छ भनेर उफ्रिएको देखिएको छ ।

धार्मिक तथा सांस्कृतिक रूपमा अभिन्न अंग हुँदै आएको नेपाल सम्वत्लाई सरकारी कामकाजमा समेत प्रयोगमा ल्याउनसके सुनमा सुगन्ध हुने कुरामा दुई मत छैन । गणतन्त्र स्थापनापछि सरकारले पद्मरत्न तुलाधरको संयोजकत्वमा कार्यदल बनाएर करिव एक वर्ष अध्ययन तथा अनुसन्धान पनि गरेको थियो । तर तुलाधर नेतृत्वको कार्यदलले नेपाल सम्वत्लाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउन अप्ठेरो पर्ने केही तर्कहरू दियो । ती तर्कहरू स्वभाविक छन् । किनकी नेपाल सम्वत्को समय गणना तिथिअनुसार हुन्छ ।

तिथिको परिवर्तन कुनै बेला मध्यरातमा हुन्छ, कुनै बेला मध्यदिनमा हुन्छ । तिथिको निर्धारण चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने आधारमा तय गरिन्छ । जसका कारण तिथि घटबढ हुन्छ । कहिलेकाहीँ एकै दिनमा दुई वटा तिथि पर्छन् । कहिलेकाहीँ कुनै दिन तिथि नै खाली हुन्छ । त्यसैले सरकारी कामकाजमा नेपाल सम्वत् जस्ताको तस्तै प्रयोगमा ल्याउन विज्ञहरूले संभव नदेखेका हुन सक्छन् । तर नेपाल सम्वत्लाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउनुपर्छ भन्दै लबिङ गर्नेहरू अझै पनि यदाकदा फेला पर्ने गरेका छन् । अध्ययनको कमी हो या, धमिलो पानीमा माछा मार्ने प्रयास गरिएको हो ? यसै भन्न सकिने अवस्था रहेन ।

प्रतिक्रिया