महान चाड तिहार आरम्भ

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शनिबारदेखि सुरु भएको छ । पाँच दिनसम्म मनाइने तिहार पर्वलाई यमपन्चक पनि भनिन्छ । हरेक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्ल पक्षको द्धितिय तिथीसम्मका पाँच दिन नेपालीहरुले धुमधम सँग तिहार पर्व मनाउँछन् । पाँच दिनसम्म मनाइने तिहार पर्व भित्र पनि विभिन्न चाडहरु छन् । पहिलो दिन त्रयोदशीका तिथिमा चलख पन्छी कागको पूजा गरी तिहार आरम्भ गरिन्छ । यो दिनलाई काग तिहार भन्ने चलन छ । दोस्रो दिन चतुर्दशी तिथिमा आज्ञाकारी जनावर कुकुरको पूजा गरिन्छ । त्यसैले यस दिनलाई कुकुर तिहार भन्ने गरिन्छ । तेस्रो दिन औंशी तिथिमा लक्ष्मीको अवतार गाईको पूजा गरिन्छ । जसलाई लक्ष्मी पुजा पनि भन्ने गरिन्छ । खास गरी व्यापारिक वर्गले लक्ष्मी पूजालाई विशेष महत्व दिन्छन् । रातभरी घर आँगन झिलिमिलि उज्यालो बनाएमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने मान्यता छ । त्यस कारण व्यापारी वर्गले तिहारलाई दिपावली समेत भन्ने गरेका छन् । तिहारे औंशीकै तिथिबाट नेपाल सम्वतको नयाँ वर्ष सुरु हुन्छ । नेपालसम्वतको नयाँ वर्ष नेवार समुदायको मुख्य चाड हो । तिहारको चौथो दिन प्रतिपदा तिथिमा गोवर्धन पूजा गरिन्छ । जसलाई गोरु तिहार भन्ने चलन छ । यसैगरी तिहारको अन्तिम दिन अर्थात द्धितिया तिथिमा दिदी बहिनीले दाजु–भाईको दीर्घायुको कामना गर्दै विशेष पूजा गरी सप्तरंगी टिका तथा फूलमाला लगाइ दिन्छन् । यस दिनलाई भाई टिका भन्ने गरिन्छ ।

तिहारका पाँच दिनमध्ये नेपालमा भाई टीकाको महत्व सर्वाधिक छ । तिहार र भाई टीकालाई एक अर्काका पर्याय मानिन्छ । उता भारतको हिन्दु समुदायमा भने भाई टीकाको चलन छैन । भारतीय हिन्दूहरु लक्ष्मी पूजालाई नै तिहारको पर्याय मान्छन् । त्यसैले भारतमा तिहार पर्वलाई दीपावली भन्ने गरिन्छ । भारतकै देखा सिखीका कारण नेपालमा पनि केहीले तिहार पर्वलाई दीपावली पर्व भन्ने गरेको पाइन्छ । तर दीपावली भनेको तिहार पर्वका पाँच वटा चाड मध्ये एउटा चाड हो भन्ने हेक्का हामी नेपालीले राख्नै पर्छ । चाडपर्व भनेका समाजको मौलिक संस्कृति तथा देशको पहिचान समेत हुन् । तिहार पर्व मनाउने नेपालीहरुको संस्कृति मौलिक हो । तर पछिल्ला वर्षहरुमा भारतीय शैली भित्रिँदा यो मौलिकता संकटमा परेको छ । राज्यस्तरमा सरकार स्वयंले मनाउने भएकोले बडादशैं पर्व नेपालको सबै भन्दा ठूलो चाड मानिएको छ । तर जनस्तरको कुरा गर्नुपर्दा तिहार पर्वको आकार झन ठूलो छ । तिहार पर्व इशाई र इस्लाम बाहेक नेपालका प्राय सबै जाति तथा समुदायमा उत्तिकै महत्वका साथ मनाइन्छ ।

हामी नेपालीहरुले आफ्नै मौलिक परम्परा अनुसार तिहार मनाउन छाडेर भारतीय परम्परा अंगाल्दा निकै ठूलो रकम विदेसिने गरेको छ । तिहारमा पटका पड्काएर हल्ला गर्ने चलन हाम्रो होइन, कोट घरमा भरुवा बन्दुक पड्काएर तिहार पर्व सुरु भएको जनाउ दिने हाम्रो मौलिक परम्परा मेटिन थालेको छ । सरकारले अबैध घोषणा गर्दा गर्दै पनि पटका आयतमा करोडौं रकम विदेसिने गरेको छ । सेल रोटी , अर्शा , अनरसा, खिउनी लगायतका घरमै बनेका तजा तथा मीठा मीठा परिकारको सट्टा भाइमसला भन्दै विदेशबाट विभिन्न बासी बस्तु आयत हुनु भनेको पनि विकृति नै हो । तिहार पर्व भनेको उपसना तथा मनोरन्जन सँग सँगै अघि बढ्ने चाड पनि हो । बलीराजाको संझनामा देउसी– भैलो खेल्ने मौलिक परम्परा पनि नेपालीहरुमा मात्रै छ । यसैगरी तिहारकै औंशीको दिन नयाँ वर्ष आरम्भ हुने नेपाल सम्वत हाम्रो देशको मौलिक सम्वत हो । समाज र देशको हितका लागि चाडपर्व मनाउने प्रचलन सुरु भएको हो । त्यसैले चाड पर्व मनाउने शैलीको नक्कल गर्ने नाममा आफ्नो समाज र देशको अहित हुने काम हामीले गर्नु हुँदैन । धन सम्पत्ति धेरै छ भन्दैमा चाड पर्व मनाउने शैलीलाई भड्किलो बनाउनु पनि सामाजिक अपराध हो । धन सम्पत्ति खर्च गर्न मन छ भने अरु बेला गर्दा पनि हुन्छ , चाड पर्वमा तडक भडक गरिदिँदा विपन्न वर्गलाई आहत पुग्छ । अरुलाई आहात पु¥याउनु पनि एक खालको हिँसा हो ।

प्रतिक्रिया