भाईटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजू–बहिनी, दिदि–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ । यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समुहले भाग लिन सक्ने एनसेलले जनाएको छ ।

सो प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडियो अर्थात चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्ने बताइएको छ । भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी विषयवस्तुको वरिपरि घुमेको हुनुपर्ने छ ।

उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरुले सबैको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् । यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समुहले रु १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले रु ७५,००० नगद र तेश्रो हुनेले रु ५०,००० नगद पुरस्कार प्राप्त गर्नेछ ।

‘हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ, विभिन्न समुह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ, अझै राम्रो पाटो भनेको हामी सधै अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौँ’, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

प्राप्त सबै भिडियोहरु मध्ये छानिएका भिडियोहरु भाईटिकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिने बताइएको छ ।

निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरुको समिक्षा र मुल्यांङकन गर्नेछ । यस प्रतियोगिताका विजेताहरु कार्तिक २९ गते भाईटिकाको दिन घोषणा गरिनेछ ।

सहभागी हुन ईच्छुकहरुको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडियो बुझाउने मिति कार्तिक २३ गतेसम्म थप गरिएको छ । थप जानकारी तथा सर्तहरुका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया