राहत वितरणमा लापरवाही नहोस्

जाजरकोट भूकम्पको मारमा परेका पिडीतहरुको खोज तथा उद्धारका सरकारले देखाएको तदारुकतामा प्रश्न उठाउनु पर्ने ठाउँ खासै देखिएको छैन । भूकम्पको इपिसेन्टर दुर्गम क्षेत्रमा पर्छ । त्यस माथि पनि रातकोे समयमा भुकम्पले विनास लिला मच्चाएको थियो । यति हुँदा हुँदै पनि घर भत्किएर पुरिएकाहरुलाई २४ घण्टा भित्रै बाहिर निकालिएको छ भने ४८ घण्टा भित्र मृतकको अन्तेष्टि सम्पन्न गरिएको छ ।

घाइतेहरुलाई पनि अवस्था हेरी सुविधा सम्पन्न अस्पतालमा पु/\याइएको छ । छोटो समयमै सरकारले सबैखाले राज्य संयन्त्र परिचालन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं नै बिहान घाम झुल्कना साथ चिकित्सकको टोली लिएर घटना स्थल प्रस्थान गरेका थिए । उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सोमबारसम्म पनि घटनास्तलमै छन् । प्रदेश सरकार र स्थानीय सरकारले पनि खोज तथा उद्धारका लागि युद्धस्तरमा काम गरिरहेको समाचार आएको छ ।

यति हुँदा हुँदै पनि घरबास बिहिन भएका नागरिक प्रति ध्यान नपुगेको हो की जस्तो देखिएको छ । कतिपय पिडितहरुले भोकै बस्नु परेको गुनासो गरेका छन् । कतिपय पिडितहरुले खुला आकाशमुनी रात गुजार्नु परेको गुनासो गरेका छन् । करिव ३० हजार घरमा क्षती पुगेको र करिव ५ हजार घर पूर्ण रुपमा भत्केको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । घरपूर्ण रुपमा भत्कन गई अन्तपात समेत पुरिएको अवस्थामा पुगेका पिडितहरु ठूलो कष्टमा छन् ।

यस्ता प्रकोपमा पहिलो प्राथमिकता पुरिएकाहरुलाई सकेसम्म बाहिर निकाल्नु र घाइतेलाई अस्पतालसम्म पु¥याउनु हुन्छ , दोस्रो प्राथमिकता शबको व्यवस्थापन तथा अन्तेष्टि हुन्छ । तेस्रो प्राथमिकता घरबास र अन्तपात बिहिन भएकाहरुको व्यवस्थापन हुन्छ । तर घरबास र अन्तपात बिहिन भएकाहरुको व्यवस्थापनमा ढिलाई भइरहेको छ । यस्तो ढिलाई १२ घण्टा भन्दा बढी हुन हुँदैनथ्यो ।

किनकी भोक लागे पछि खानाखानु पर्छ । राती सुत्नु पर्छ । त्यसमा पनि सुत्केरी, बृद्ध–बृद्धा, बिरामी तथा दीर्घ रोगी बालबालिक तथा केटाकेटीको उचित ख्याल राख्न कत्ति पनि ढिलाई गर्नु हुँदैन । यस्तो काममा ढिलाई गरिनु भनेको फेरी अर्को विपत्ति थपिने संभावनालाई बढाउनु हो । २०७२ सालको भूकम्पको तुलनामा गत शुक्रबारको जाजरकोट भूकम्पका पीडितहरुको संख्या निकै कम छ । यो संख्यालाई तत्कालिन राहत उपलव्ध गराउन तीन वटै तहका सरकारहरु युद्धस्तरमा जुट्ने हो भने गुनासो आउने संभावना कम हुन्छ ।

भूकम्पको इपिसेन्टर क्षेत्र यसै पनि लेक हो । त्यस माथि पनि जाडोको सिजन सुरु भइसकेको छ । तत्काल बलियो टेण्ट र न्यानो कपडाहरु वितरण गर्न सकिएन भने थप क्षति हुन्छ । यसै गरी यो क्षेत्र झाडा पखालाबाट बेला बेला प्रभावित हुने भेग पनि हो । पिडितहरुलाई एकै ठाउँमा बाक्लो गरी राख्दा सौच गर्ने ठाउँ व्यवस्थित हुन सक्दैन । जसका कारण झाडा पखालाको महामारी फैलन सक्छ ।

अन्य सरुवा रोगको संभावना पनि जीवितै रहन्छ । २०७२ सालको भूकम्प पछि पनि अस्थायी शिविरहरुमा सरुवा रोग फैलँदा कयौंको ज्यान गएको थियो । त्यो अवस्था जाजरकोटमा नदोहोरियोस भन्ने तर्फ सचेत हुनु जरुरी छ । राहत सामाग्री लिएर अन्य क्षेत्रका बासिन्दा पनि अब ओहिरो लाग्न सक्छन् । सहयोग भन्दा पनि आत्माप्रचारका भोकाहरुको जमात हाम्रो देशमा निकै ठूलो छ ।

पीडितसँग बसेर सेल्फी खिच्ने र टिकटक बनाउनेहरुको जमातलाई समयमै नियन्त्रण गर्नु जरुरी छ । बाहिरबाट जानेहरुको भीडमा कोरोना तथा डेंगु रोगका बिरामी पनि हुन सक्छन् । त्यसैले सकेसम्म राहत वितरणमा एकद्धार प्रणाली अवलम्वन गर्नु पर्छ । यसैगरी शिविरमा प्रवेश गर्नेहरुले अनिवार्य रुपमा माक्स लगाउने व्यवस्था गर्नुपर्छ । अस्थायी शिवरलाई व्यवस्थित नगर्दासम्म ढुक्क हुने अवस्था छैन ।

प्रतिक्रिया