इलाम । इलामको माङसेबुङ गाउँपालिकाका भूमिहीनहरु जग्गाको मालिक बन्ने भएका छन् । लामो समयदेखि भोगचलनमा रहेको तर धनीपूर्जा प्राप्त नभएको नम्बरी बाहेकको जग्गामा बस्दै आएका भूमिहीन माङसेबुङबासी जग्गाको मालिक बन्ने भएपछि खुसी भएका छन् ।
माङसेबुङ गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउने कार्य अन्तरगत ऐलानी, पर्ती जग्गा उपभोग गरिरहेका माङसेबुङबासीको निवेदन दर्ता (लगत प्रविष्टी) को निस्सा (प्रमाण) वितरण गरेको छ । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता बमोजिम माङसेबुङ गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको लगत प्रविष्टीको निस्सा वितरण गरेको हो ।
माङसेबुङ गाउँपालिकाले प्रत्येक वडा कार्यालयमा पुगेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको हो । माङसेबुङ गाउँपालिकाका २ हजार ५ सय ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले लगत प्रविष्टीको निस्सा पाएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । जसमध्ये २४ जना भूमिहीन दलित, २ सय २८ जना भूमिहीन सुकुम्बासी र २ हजार ३ सय ६ जना अव्यवस्थित बसोबासीहरुले निस्सा पाएका छन् ।
माङसेबुङ गाउँपालकिा वडा नं. १ का १ सय ३० जनाले निस्सा पाएका छन् । जसमध्ये १३ जना भूमिहीन सुकुम्बासी र १ सय १७ जना अव्यवस्थित बसोबासीले निस्सा पाएका छन् । वडा नं. २ का ४ सय १७ जनाले निस्सा पाएका छन् । जसमध्ये ८ जना भूमिहीन दलित, ११ जना भूमिहीन सुकुम्बासी र ३ सय ९८ जना अव्यवस्थित बसोबासीले निस्सा पाएका छन् । वडा नं. ३ का ५ सय ५७ जनाले निस्सा पाएका छन् ।
जसमध्ये ९ जना भूमिहीन दलित, ११ जना भूमिहीन सुकुम्बासी र ५ सय ३९ जना अव्यवस्थित बसोबासीले निस्सा पाएका छन् । वडा नं. ४ का ४ सय १३ जनाले निस्सा पाएका छन् । जसमध्ये ७ जना भूमिहीन दलित, १ सय ४७ जना भूमिहीन सुकुम्बासी र २ सय ५९ जना अव्यवस्थित बसोबासीले निस्सा पाएका छन् । वडा नं. ५ का ५ सय ८९ जनाल निस्सा पाएका छन् ।
जसमध्ये जना ३६ भूमिहीन सुकुम्बासी र ५ सय ५३ जना अव्यवस्थित बसोबासीले निस्सा पाएका छन् । वडा नं. ६ का ३ सय ८७ जनाले निस्सा पाएका छन् । जसमध्ये ९ जना भूमिहीन सुकुम्बासी र ३ सय ७८ जना अव्यवस्थित बसोबासीले निस्सा पाएका छन् । गाउँपालिकाका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान, प्रवक्ता सुसनराईसहित कर्मचारीहरु प्रत्येक वडामा पुगेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरे ।
ऐलानी, पर्ती जग्गा वषौंदेखि उपभोग गर्दै आएपनि लालपूर्जाबिही स्थानीयबासीलाई जग्गाको मालिक बनाउनका लागि पहिलो चरणमा निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । उनले भूमिहीनलाई जग्गा उपभोग गररिहेको प्रमाणका रुपमा गाउँपालिकाले निस्सा वितरण गरेको बताए । ‘हामीले अहिले जग्गाको लालपूर्जा नभई जग्गा उपभोग गरिरहेको प्रमाणको रुपमा यहाँका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेका हौं’ अध्यक्ष राईले भने, ‘अब जिल्लास्थित राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा निस्सा अनुसारका जग्गा नापजाँपलगायतको अन्य काम थाल्नेछौँ । जतिसक्दो चाँडो धनीपूर्जा वितरण गर्ने सोँचका साथ अघि बढ्नेछौँ ।’
अब जग्गाको नाप, नक्सा यही निस्साको आधारमा हुनेछ र पछि संघीय सरकारले समेत यही निस्साकै आधारमा जग्गाको लालपूर्जा दिनेछ । यता माङसेबुङबासीहरु समेत निस्सा पाएपछि जग्गाको मालिक बन्नेमा ढुक्क हुन थालेका छन् । वर्षौँदेखि चासभोग गर्दै आएको जग्गाको धनीपूर्जा पाउने आशामा रहेका माङसेबुङबासीहरु निस्सा पाएसँगै धनीपूर्जा पाउने विश्वास बढेको बताउँछन् ।
‘हामीले वर्षौंदेखि चासभोग गर्दै आएको जग्गाको धनीपूर्जा पाउने आशमा जीन्दगी बित्न लागसिकेको छ । यसअघकिा थुप्रै आयोगले निराशा मात्र बनाएको थियो’ माङसेबुङ गाउँपालकिा–६ का वीरबहादुर राई भन्छन्, ‘जग्गाको निस्सा पाउँदा खुसी लागेको छ । निस्सा पाएपछि त पूर्जा पनि पाइन्छ होला ।’ भूमिहीन दलितले १ सय ३० वर्गमिटर, भूमिहीन सुकुम्बासीले ३ सय ४० वर्गमिटर आवास क्षेत्र वा ३ हजार वर्गमिटर कृषि क्षत्र र अव्यवस्थित बसोबासीले १ हजार वर्गमिटर आवास क्षेत्र वा १० हजार वर्गमिटर कृषि क्षेत्रको जग्गा पाउनेछन् ।
लामो समयदेखि भोगचलनमा रहेको तर धनीपूर्जा प्राप्त नभएको नम्बरी बाहेकको जग्गामा बस्नेलाई अव्यवस्थित बसोबासी भन्ने गरिएको छ । एक टुक्रा जग्गासमेत नभएका र वार्षिक आम्दानीले परिवार पाल्न मुस्किल परिरहेका दलित तथा सुकुम्बासी परिवारलाई राष्ट्रिय भूमि आयोगले बसोबासका लागि जग्गा उपलब्ध गराउनेछ ।
इलाम
प्रतिक्रिया