काठमाडौं । विमानस्थलमा कुटाकुट गरेपछि तारा एयरका दुई पाइलट निलम्बित भएका छन् । शुक्रबार बिहानै रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबिच कुटाकुटको भएको समाचार बाहिरिएको थियो ।
काठमाडौं–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुट भएको बताइएको छ ।
शुक्रबार बिहान लुक्लाका लागि काठमाडौंबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ ।
तथापि, यो घटनामा कम्पनी वा फ्लाइटको कुनै सम्बन्ध नभएको जिकिर गर्दै कम्पनीले दुई पाइलटहरूकै व्यक्तिगत रिसिबीका कारण घटना भएको जनाएको छ । तथापि, कम्पनीले घटनामा संलग्न दुई जना पाइलटलाई नै निलम्बन गरिसकेको छ ।
घटनामा संलग्न पाइलटहरूमाथि छानबिन गर्न आन्तरिक छानबिन समिति समेत बनिसकेको भन्दै बर्तौलाले पाइलटहरूको स्पष्टीकरण लिइरहेको जानकारी दिए ।
प्रतिक्रिया