गुटरेस भ्रमणको महत्वपूर्ण अवसर खेर

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस चारदिने नेपाल भ्रमण पूरा गरेर बुधबार दिउ“सो फर्किएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा गत आइतबार नेपाल आएका थिए । संयुक्त राष्ट्रसंघ भनेको विश्वका सबै देशको छाता संस्था हो । महासचिव गुटरेस यो संस्थाका कार्यकारी प्रमुख हुन् । त्यसैले महासचिव गुटरेसको भ्रमण नेपालका लागि सर्वाधिक गौरवको विषय हो ।

आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसंघका महासचिवले सकेसम्म विश्वका सबै सदस्य देशमा औपचारिक भ्रमण गर्ने प्रचलन छ । त्यही प्रचलनलाई गुटरेसले निरन्तरता दिएका हुन् । महत्वपूर्ण विषय भनेको संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणलाई नेपालले आफ्नो हितमा के कति उपयोग गर्यो ? भन्ने हो । नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरे यता सात जना महासचिव बनेका छन् ।

त्यसमध्ये वर्तमान महासचिव गुटरेससमेत ६ जनाले नेपाल भ्रमण गरेका छन् । तर तेस्रो महासचिव उ थान्तबाहेक अरू महासचिवको भ्रमण नेपालका लागि ऐतिहासिक हुन सकेको छैन । २०२४ वैशाखमा नेपाल आउँदा महासचिव उ थान्तलाई लुम्बिनी भ्रमणमा लगिएको थियो । उनको यो भ्रमणपछि गौतमबुद्ध नेपालमा जन्मिएको यथार्थतालाई संयुक्त राष्ट्रसंघले आत्मसात गरेको मात्रै होइन लुम्बिनी विकास गुरुयोजना निर्माणमा समेत संयुक्त राष्ट्र संघले चासो दियो । तत्कालीन महासचिव उ थान्तले आप्mनो आत्मकथामा ‘लुम्बिनी भ्रमण मेरो जीवनको सबैभन्दा महत्वपूर्ण दिन हो’ भनेर लेखेका छन् ।

महाशक्ति राष्ट्र अमेरिका र छिमेकी राष्ट्र चीन तथा भारतबाहेक विश्व जगतले नेपाल चिन्नुु र चासो राख्नुका मुख्य कारण दुई वटा छन् । एउटा कारण गौतमबुद्ध जन्मस्थल लुम्बिनी हो, अर्को हिमालय पर्वत शृंखलालगायत विश्वको सर्वोच्च शिखर सगरमाथा हो । बास्तवमा गौतमबुद्ध जन्मस्थल र हिमालय पर्वत शृंखला भनेका विश्वका साझा सम्पदा हुन् । यिनै दुई सम्पदाको संरक्षण र संवर्धनका लागि विश्वको चासोलाई उचित ढंगले व्यवस्थापन गर्न सक्यो भने नेपालका लागि धेरै कुरा हुन्छ ।

यसपटक संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल उत्रनासाथ विश्वको बढ्दो तापमानबाट हिमालय पर्वत शृंखलालाई कसरी जोगाउने ? भन्ने सन्दर्भमा चासो व्यक्त गरे । चार दिनको नेपाल बसाईका क्रममा उनले जसजसलाई भेट गरे, सबैस“ग हिमालय पर्वत शृंखलाको संरक्षणका विषयमा आफ्ना भनाइ राखे । तर नेपालका तर्फबाट यसलाई खासै प्राथमिकता दिएको देखिएन ।

महासचिव गुटरेससँगको भेटवार्ताका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूले राखेका जे जति कुराहरू मिडियामा आएका छन्, तिनलाई हेर्दा हिमालय पर्वत शृंखलाको संरक्षणका विषयमा कसैले पनि चासोका साथ कुरा राखेको देखिएन । बास्तवमा जलवायु परिवर्तनमा नेपालको भूमिका छैन । हिमालय पर्वत शृंखलाको महत्वपूर्ण र ठूलो हिस्सा नेपालमा छ, तर अरू देशले तापमान वृद्धि हुने गतिविधि जारी राखेका कारण संकटमा परेको छ । हिमालय पर्वत शृंखला संकटमा पर्दा पहिलो र सबैभन्दा ठूलो असर नेपाललाई पर्छ ।

त्यसैले नेपाल आफै“ अग्रसर भएर उठाउनुपर्ने एजेन्डा हो यो । जसरी तत्कालीन महासचिव उ थान्तको भ्रमण लुम्बिनी विकासको दृष्टिले ऐतिहासिक बनेको थियो, त्यसरी नै वर्तमान महासचिव गुटरेसको भ्रमण हिमालय पर्वत शृंखलाको संरक्षणका विषयमा कोसे ढुंगा बन्न सक्ने संभावना रहेछ । तर यस विषयमा हाम्रो तर्फबाट कुनै गृहकार्य भएको देखिएन । शान्ति मिसनमा नेपाली सेनाको संख्या बढाउन याचना गर्नेबाहेक अरू केही पनि गरिएन ।

प्रमुख प्रतिपक्षीदलका नेता केपी शर्मा ओलीले त अझ आफ्नो व्यक्तिगत कुण्ठा पोखेर देशकै बेइज्जत गरे । सत्ता पक्ष पनि शान्ति प्रक्रियाकै विषयमा बढी अल्झियो । विद्रोही नेता प्रचण्ड तीनपटक प्रधानमन्त्री बनिसक्दा पनि, विद्रोही पार्टी माओवादी सातपटक सत्तारूढ भइसक्दा पनि शान्ति प्रक्रियाको विषय संयुक्त राष्ट्र संघीय महासचिवको भ्रमणका क्रममा मुख्य एजेन्डा बन्नु भनेको महत्वूर्ण समय तथा अवसर खेर गएको प्रमाणित हुनु हो ।

प्रतिक्रिया