वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौं । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकपर्ने अनलाइन प्रणालीमा केही समस्या भएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने श्रमिकको ‘ओरेन्टेशन’ र ‘बायोमेट्रिक कनेक्सन’मा समस्या आएकाले पुनः सञ्चालनका लागि काम भइरहेको छ । यसले सूचना व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ छ ।

फेमिसमा देखिएको समस्याका कारण वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको शाखा अधिकृत शाहीले बताए । उनले भने, ‘काम पूर्ण रुपमा प्रभावित भएको छैन, केही समस्या भएको छ, प्राविधिक साथीहरुले केही दिनयतादेखि काम गरिरहेका छन् ।’

विभागले एक सूचना जार गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक खण्ड (सेक्सन) लाई छोड्ने र ओरेन्टेशन खण्डका लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाबाट जारी दुई दिने अभिमुखीकरण तालिमको प्रमाणपत्र फेमिस प्रणालीमा समावेश गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्नरगराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया