प्लास्टिकका फूल किनबेचमा प्रतिबन्ध

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आउन अब केही दिन मात्रै बाँकी छ । बडादसैँ मासु र जमराको पर्व भएजस्तै तिहार भनेको फूल र मिठाइको पर्व हो । आर्थिक गतिविधिको दृष्टिले पनि बडादसैँ पछिको दोस्रो ठूलो पर्व हो तिहार । दाजु–भाइ र दिदी–बहिनीबीच सप्तरंगी टीकाको अतिरिक्त फूलमाला लगाइदिएर र मिठाइ भोजन गराएर तिहार पर्व मनाइन्छ ।

भाइटीकाका अलवा तिहारमा म्ह पूजा, लक्ष्मी पूजा तथा दीपावली पनि गरिन्छ । यी अवसरमा पनि फूलको खपत निकै धेरै हुन्छ । तिहारमा कुकुर तथा गाई, गोरुलाई पनि फूलको माला लगाइदिने चलन छ । एकीन तथ्यांक नभए पनि तिहारमा अर्बौं रुपैया“ बराबरको फूल तथा मिठाइ खपत हुने अनुमान सजिलै लगाउन सकिन्छ । किनकी करिब ९० प्रतिशत नेपालीले तिहार मनाउँछन् ।

तर तिहारमा प्रयोग हुने अधिकांश फूल तथा मिठाइ विदेशबाट आयात हुन्छ । चाडपर्व मनाउने सिलसिलामा हामीले भार बेहोर्ने, विदेशीहरूले आर्थिक लाभ लिने स्थिति आउनु दुर्भाग्य हो । जुन कुरा तथ्यांकले नै देखाउँछ । गत भदौमा ९० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात भएकोमा असोजमा १ खर्ब २० अर्ब रुपैयाँ बराबरको समान आयात भएको छ ।

भदौको तुलनामा असोजमा यति ठूलो परिमाणमा आयात बढ्नुको मुख्य कारण बडादसैँ, तिहार तथा छठपर्वकै कारण हो । जुन अत्यावश्यकीय बस्तु स्वदेशमा उत्पादन हुँदैनन् या उत्पादन संभव छैन, ती बस्तु आयात गरिनु स्वभाविकै हो । तर स्वदेशमै उत्पादन भइरहेका बस्तुहरू खेर फालेर विदेशबाट आयात गर्नु भनेको देशलाई थप कंगाल बनाउने मेलो हो ।

केही दशकदेखि तिहारको बेला फूल आयातमा ठूलो रकम विदेशिन थालेको छ । एकातिर स्वदेशका पुष्प व्यवसायीहरू आफ्नो उत्पादनले उचित मूल्य नपाएको भन्दै व्यवसाय छाडेर विदेश पलायन भइरहेका छन् भने अर्कोतिर हरेक वर्षको तिहारमा फूल आयात ३० प्रतिशतका दरले वृद्धि भइरहेको छ । प्राकृतिक फूल मात्रै होइन कृतिम फूल आयात तथा प्रयोग गर्ने विकृतिसमेत बढेर गएको छ ।

प्लास्टिकका फूल प्रयोगले एकातिर तिहारको मौलिकतालाई चुनौती दिएको छ भने अर्कातिर वातावरणीय प्रदूषण बढाएको छ । स्वदेशी रकम विदेश जाने कुरा त भइहाल्यो । जसरी पाँच वर्षअघि सरकारले कडाइ गरेपछि बडादसैँको बेला विदेशबाट खसी–बोका आयात हुने क्रम रोकिएको थियो, त्यसरी नै कडाइ नगर्दासम्म तिहारको बेला विदेशबाट फूल आयात हुने क्रम रोकिने छैन ।

यसैबीच दाङ जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्लास्टिकजन्य नक्कली फूलका मालाहरू बिक्री वितरण तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । यो चेतावनीपछि दुबै पालिका क्षेत्रभित्र यसपालि प्लास्टिकजन्य मालाहरू देखिएका छैनन् । व्यावसायिक फूलखेती गर्दै आएका किसानहरू पालिकाहरूको ये निर्णयपछि खुसी भएका छन् ।

दाङका यी दुई पालिकाहरूले गरेको निर्णय स्वागतयोग्य हो । तर यस्तो निर्णय नर्सरीमा फूलको बिउ रोप्नुअघि गरिएको भए सुनमा सुगन्ध हुन्थ्यो । फूलखेति बिस्तार गरी किसानहरूले थप लाभ लिन पाउँथे, तर फूल फुल्न सुरु भइसकेपछि गरिएको यो निर्णयले उपभोक्तालाई राहत दिँदैन, मूल्य बढ्न सक्छ । मूल्य बढ्नासाथ चोरी तस्करी पनि बढ्छ । तर अहिले गरिएको यो निर्णयले आगामी वर्षका लागि भने उपभोक्ता र किसान दुवैलाई लाभ मिल्छ । यस्तो निर्णय एक–दुई वटा पालिकाले मात्रै गरेर खासै ठूलो अर्थ राख्दैन ।

अरू पालिकाका बजारमा गएर पनि प्लास्टिकका फूल खरिद गर्ने संभावना रहन्छ । अर्कातिर यसरी ढिलो निर्णय गर्दा तिहारलाई लक्षित गर्दै प्लास्टिकका फूल आयात गरिसकेका व्यापारीहरू मर्कामा पर्छन् । यस्ता निर्णय संघीय सरकारले उचित समयमा गर्नुपर्छ । अन्तर्राष्ट्रिय नाकाबाट यस्ता सामग्री भित्रन प्रतिबन्ध लगाउन सक्नुपर्छ ।

प्रतिक्रिया