काठमाडौं । धनकुटाका खिरबहादुर पौडेल लोकदोहोरी गायनदेखि हास्य टेलिसिरियलसम्म व्यस्त छन् । सानैदेखि कलाकारितामा मोह भएका पौडेल सुरुवाती समयमा प्रत्यक्ष लाइभ दोहोरीबाट आफ्नो गायन यात्रा थाले पनि पछिल्लो समय हास्य टेलिसिरियलमा जमिरहेका छन् ।
खिरबहादुर आफैले निर्माण गरेको टेलिसिरियल ‘घण्टे’ बाहेक दर्शकले रचाएका ‘भुन्टी’, ‘सौता,’ ‘बुहारी’, ‘परिवार,’ ‘नन्द भाउजु,’ ‘माइला’, ‘हल्लै हल्ला’, ‘चमेली’, ‘नजर’, ‘होसियार’, यो कलियुग’ लगायतमा उनले अभिनय गरेका छन् । झण्डै दर्जनको हाराहारीका गीत गाएका खिरबहादुरले पछिल्लो समय हास्य टेलिसिरियलमा लेखक, निर्माता तथा कलाकारको रुपमा आफूलाई अगाडि बढाइरहेको बताए ।
हालै उनले निर्देशन गरेको हास्य टेलिसिरियल ‘घण्टे’ ले सफल कलाकारको रुपमा पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको बताए । ‘ताल्चा’ सिरियलबाट अभिनय सुरु गरेका उनले भविष्यमा गायनकै माध्यमबाट आफ्नो पहिचान बनाउने संघर्षमा रहेको सुनाए ।
उनले भने, ‘गायनकै माध्यमबाट मैले कलाकारिता सुरु गरेको हुँ । तर, बिचमा हास्य टेलिसिरियलमा अभिनय गर्ने अवसर मिलेर मात्रै यो क्षेत्रमा समेत आबद्ध भएको थिएँ ।’ खिरबहादुरले कलायात्रामा आफूले गायन तथा अभिनयमार्फत अगाडि बढिरहेको सुनाए । उनले भने, ‘जुन सुरुवातीबाटै मेरो गायनको यात्रा छ त्यसैलाई व्यवसायिक रुपमा अघि बढाउने संघर्षमा छु ।’
स्वदेशदेखि विदेशसम्म गायककै भूमिकामार्फत आफू परिपक्व बन्ने चाहना रहेको उनले सुनाए । साविक मारेक कटहरे–७ धनकुटा हाल महालक्ष्मी नगरपालिका–२ मा जन्मिएका उनी सानैदेखि भाषा, साहित्य, अभिनय, कलाकारिता तथा गायनमा लागेको जानकारी दिए । घर परिवारबाट पनि आफ्नो कला क्षेत्रमा साथ रहेको सुनाउँदै खिरबहादुरले भने, ‘संघर्षको प्रतिफलले अहिले कला क्षेत्रमा टिक्न सकेको छु ।
यस यात्रालाई मैले मिहिनेतपूर्वक अगाडि बढाउँदै लगेको छु ।’ वि.सं. २०६४ सालमा ११ कक्षा पढ्दा रेडियो नेपाल धनकुटामा संगम डबली कार्यक्रममा पहिलो पटक गीत गाएको उनले स्मरण गरे ।
नेपाली भाषा तथा साहित्यमा लामो समयदेखि साधनारत खिरबहादुर कथा, कविता, गजल, मुक्तक सुसेली, उपन्यासलगायतका विधामा समेत कलम चलाउँछन् । उनले आफू विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिका आर्थिक सचिव पनि रहेको सुनाए । उक्त संस्था विश्वका पच्चीसभन्दा बढी राष्ट्रमा लगभग ४० शाखा रहेको उनले सुनाए ।
प्रतिक्रिया