काठमाडौं । केन्द्रीय कार्यालय सानेपामा आज नेपाली कांग्रेसको चियापान कार्यक्रम हुँदै छ । कांग्रेसले शनिबार दसैं, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसरमा चियापानको आयोजना गर्ने भएको जनाएको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा हुने चियापान कार्यक्रम दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म चल्नेछ ।
कांग्रेसले विसं २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो । तर कोरोनाका कारण पछिल्ला तीन वर्ष निरन्तर त्यस्तो कार्यक्रम हुन पाएको थिएन ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले २०३४ सालदेखि मनाउँदै आएको चियापान कार्यक्रमलाई यसवर्षदेखि पुनः निरन्तरता दिइएको बताए ।
चियापान समारोहमा कांग्रेसले विभिन्न राजनीतिक दलका नेता, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू लगायतलाई निमन्त्रणा गरिएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।
प्रतिक्रिया