काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज भइरहेको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले युएईविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
ओपनर कुशल भुर्तेलले ५० रन बनाए । उनले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो छैटौं अर्धशतक हो ।
उनले पहिलो विकेटका लागि आसिफ सेखसँग पाँच ओभरमा ४३ रनको साझेदारी गर्दै नेपालले उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, त्यसपछिका ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन । आसिफ ७ रनमा आउट भएका थिए ।
नेपाली टिमका दीपेन्द्रसिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन थपे । नेपालले पहिलो १० ओभरमा तीन विकेट गुमाएर ९५ रन बनाएको थियो । तर, त्यसपछि लगातार विकेट गुमाउँदा अन्तिम १० ओभरमा नेपालले ६७ रनमात्र थप्न सक्यो ।
प्रतिक्रिया