पुस्तक चर्चा
तेजविलास अधिकारी
आरम्भ
नेपाली साहित्यमा धेरै पढिएको नाम विश्वेश्वरप्रसाद कोइराला (जीवनकाल वि.सं. १९७१–२०३९) लाई हामी धेरै विधाको अध्ययन गर्दा भेट्टाउन सक्दछौँ । आख्यानकार व्यक्तित्वले उनको कवि व्यक्तित्वलाई ठुलो रुखको सानो विरुवालाई छोपे जस्तै बनाएको छ । विश्वेश्वरप्रसाद कोइरालाको राजनीति परिचय विवादरहित छैन । उनले तय गरेको राजनीति विचारलाई नै आदर्श मान्नेहरूले विश्वेश्वरप्रसाद कोइरालालाई आदर्श मान्नु स्वभाविकै हो । बुद्धले मूर्ति पूजाको विरोध गरे, आफ्नो नाममा मूर्ति नराख्न भने तथापि विकृति जस्तै बनेर आज ज्ञानको निर्माण र समाज परिवर्तनमा विचारलाई संवाहक शक्ति मान्नु पर्ने दर्शनको आडमा अनेक विकृति आएको देखिन्छ ।
कार्ल माक्र्सले धर्मलाई जुन रूपमा मानिसले अपनाएको देखे र उनीमाथि धर्मभिरुहरूले जे टिप्पणी गरे त्यसको प्रतिक्रिया स्वरूप बोलेका कुरालाई गलत व्याख्या गरियो र समग्रमा उनलाई धर्मविरोधी स्थापित गर्ने असफल कोसिस पनि भयो । त्यसैगरी विश्वेश्वरप्रसाद कोइरालाले जीवन पद्धति र मृत्यु संस्कारका बारेमा भनेका कुराको ठिक उल्टो हिँड्ने मानिसहरू नै विश्वेश्वरप्रसाद कोइरालाका खास अनुयायी र उत्तराधिकारी हुन तम्सिएको पनि नदेखिएको होइन ।
समाजमा रहेका विचार र व्यवहारलाई व्यक्तिले गर्ने अनुभूतिको सञ्चारबाट साहित्य जन्मन्छ । कठिन परिस्थितिमा पिता कृष्णप्रसाद कोइरालाले व्यहोरेको राज्यको दण्डस्वरूप कोइरालाको बाल्यकाल मात्र नभएर झण्डै युवावय पनि भारतमै बित्यो । विद्यालय शिक्षा लिने बेलामै थालेको साहित्य साधनाले कोइरालालाई २००७ साल अगाडि छुट्टै परिचय दिलायो भने २०१७ साल पुस १ गतेपछि पनि विचार र पार्टी प्रतिबन्ध हुँदा पनि धेरै पाठकका बिचमा पुग्न कसैले रोक्न सकेन । त्यसैले त विश्वेश्वरप्रसाद कोइरालालाई राजनीतिमा मन नपराउनेहरूले पनि साहित्यिक कृतिका माध्यमबाट भेटेका छन्, छोएका छन् र बुझेका छन् । यही हिसाबले हेर्दा विश्वेश्वरप्रसाद नेपाल अध्ययनको एउटा स्रोत सामग्री वा स्रोत व्यक्तिका रूपमा रहेको प्रष्ट ठहरिन्छ ।
समाजमा रहेका विचार र व्यवहारलाई व्यक्तिले गर्ने अनुभूतिको सञ्चारबाट साहित्य जन्मन्छ । कठिन परिस्थितिमा पिता कृष्णप्रसाद कोइरालाले व्यहोरेको राज्यको दण्डस्वरूप कोइरालाको बाल्यकाल मात्र नभएर झण्डै युवावय पनि भारतमै बित्यो । विद्यालय शिक्षा लिने बेलामै थालेको साहित्य साधनाले कोइरालालाई २००७ साल अगाडि छुट्टै परिचय दिलायो भने २०१७ साल पुस १ गतेपछि पनि विचार र पार्टी प्रतिबन्ध हुँदा पनि धेरै पाठकका बिचमा पुग्न कसैले रोक्न सकेन
विश्वेश्वरप्रसादको धेरै चर्चा पाएको साहित्यिक विधा आत्मवृत्तान्त हो । जसले नेपालको राजनीतिक इतिहास, आर्थिक पक्ष र सामाजिक एवं सांस्कृतिक पक्षको खोजी गर्न सहयोग पु¥याउँछ । यसका साथै विश्वेश्वरप्रसादलाई साहित्यकार र त्यसभित्र पनि अध्ययन गर्नेहरूले आख्यानकारका रूपमा बढी बुझ्ने र चिन्ने गर्दछन् । त्यसको एउटा पाटोको रूपमा रहेको विश्वेश्वरप्रसादले छोपिएको साहित्यिक व्यक्तित्व भनेको कवि व्यक्तित्व हो । उनलाई एकमुष्ठमा कवि व्यक्तित्वको परिचयको आलोकमा ल्याउने काम समालोचक हरिप्रसाद शर्माले गरेका छन् । ‘विश्वेश्वरप्रसाद कोइरालाका कविता’ शीर्षक दिएर २०५९ सालमा हरिप्रसाद शर्माले उनको कवि व्यक्तित्व र काव्य प्रवृत्ति औंल्याउँदै जब पुस्तक सार्वजनिक गरे त्यसपछि धेरै पाठकले पढ्ने सामग्री प्राप्त गरे । यस हिसाबले हेर्दा छरिएर फुटकर रूपमा रहेका कविताहरूलाई एकीकृत गरी प्रस्तुत भएको ‘विश्वेश्वरप्रसाद कोइरालाका कविता’ शीर्षकको पुस्तक नै हालसम्मको उनको कवि व्यक्तित्व र काव्यकारिता चिन्नका लागि प्राप्त आधिकारिक पुस्तक मानिन्छ । पुस्तक सम्पादनको सन्दर्भमा हरिप्रसादले विश्वेश्वरप्रसादलाई स्वच्छन्दतावादी, प्रवृत्तिवादी, कविहृदयी व्यक्तित्व भनेका छन् । (शर्मा ः २०५९, भूमिका )
विश्वेश्वरप्रसादले आफ्नो अध्ययनलाई फराकिलो बनाउने सन्दर्भमा पूर्वीय तथा पश्चिमी साहित्य र चिन्तनलाई आफ्नो साहित्यको प्रेरणा स्वरूप ग्रहण गरेको परिप्रेक्ष्यमा प्राप्त ऊर्जा र शैलीलाई कविताहरूमा समेत प्रयोग गरी देखाएका छन् । उनका कविता जम्मा १२ ओटा (एउटा हिन्दीबाट नेपालीमा अनुवादसहित) रहेको प्रमाण पनि शर्माद्वारा सम्पादित पुस्तकले प्रस्तुत गरेको छ । आफ्नो लेखनीमा राजनीति विषयवस्तुलाई न्यूनरूपमा मात्र स्थान दिने भनेर चिनिएका कोइरालाका कवितामा पनि राजनीति विषयवस्तु कम मात्रामा प्रवेश पाएका छन् । विश्वेश्वरप्रसादका कवितामाथि टिप्पणी गर्दै लेखिएको अंश यहाँ राख्नु सान्दर्भिक देखिन्छ; विश्वेश्वरप्रसाद कोइरालाका कविताहरूमध्ये प्रकृतिको चित्रण प्रस्तुत कविता केही छन् भने उनका आधाजसो कविताले जुन ढङ्गले भए पनि स्वतन्त्रताभित्र पनि जैविक आवश्यकता र यौनजीवनका विम्बात्मक विषयलाई प्रकट गरेको देखिन्छ । (अधिकारी ः २०८०, पृ. ६) यस टिप्पणीबाट पनि थाहा हुन्छ कि विश्वेश्वरप्रसाद कोइरालाका कवितामा समाजभित्रका विविध विषयवस्तुले स्थान पाएको सन्दर्भमा उनले नेपाली साहित्यमा सुरु गरेको यौन मनोविश्लेषणात्मक धाराको प्रमाण उनका कवितामा समेत भेट्न सकिन्छ । यस हिसाबले हेर्दा कोइरालाको कविता उनको लेखकीय व्यक्तित्वको पुष्टि समेत हो । विश्वेश्वरप्रसाद कोइरालाले वि.सं. १९८७ मा लेखेको कविता ‘बम्बई के प्रति’ उनको साहित्य यात्राको एउटा महत्त्वपूर्ण उपस्थिति हो । यो रचना (हंस, वर्ष १, अङ्क ८, पृ. ८) हिन्दी भाषामा छापिएको रचना हो ।
विश्वेश्वरप्रसादको धेरै चर्चा पाएको साहित्यिक विधा आत्मवृत्तान्त हो । जसले नेपालको राजनीतिक इतिहास, आर्थिक पक्ष र सामाजिक एवं सांस्कृतिक पक्षको खोजी गर्न सहयोग पु¥याउँछ । यसका साथै विश्वेश्वरप्रसादलाई साहित्यकार र त्यसभित्र पनि अध्ययन गर्नेहरूले आख्यानकारका रूपमा बढी बुझ्ने र चिन्ने गर्दछन् । त्यसको एउटा पाटोको रूपमा रहेको विश्वेश्वरप्रसादले छोपिएको साहित्यिक व्यक्तित्व भनेको कवि व्यक्तित्व हो । उनलाई एकमुष्ठमा कवि व्यक्तित्वको परिचयको आलोकमा ल्याउने काम समालोचक हरिप्रसाद शर्माले गरेका छन्
(शर्मा : २०५९, पृ. १८) कविताको विषय वा शीर्षक जे जस्तो होस् उनले २००७ सालको क्रान्तिपूर्व थालेको कविता प्रकाशनक्रम २०१७ सालपछिको जटिल सन्दर्भ अर्थात् २०१५ सालदेखि २०५२ सालसम्म प्रकाशित भएको पाइन्छ । उनले लामो अन्तरालपछि नेपाली भाषामा कविता लेखनलाई २०२५ सालपछि मात्र निरन्तरता दिएको देखिन्छ । उनका बाह्र ओटा कवितामध्ये ४ ओटा कविता भने उनको देहावसानपछि मात्र प्रकाशित भएको पाइन्छ ।
उदाहरण र छोटो वर्णन
विषयवस्तुका हिसाबले हेर्दा विश्वेश्वरप्रसादको पहिलो कविताले अत्यन्त सान्दर्भिक विषयलाई स्थान दिएको छ । भारतीय स्वतन्त्रता सङ्ग्राम चलिरहेको बेलामा बम्बईले खेलेको भूमिकालाई उनले खुलेर सम्मान गरेका छन् । उनको कवितामा स्वतन्त्रताभन्दा प्यारो कुरा केही छैन भन्ने आशय रहेको देखिन्छ । उनले भारतीय स्वतन्त्रताको खुलेर सम्मान गरेका छन्;
तर आज ?
साँच्चै तैले भारतको लाज राखिस–
भारतको शिर उज्यालो पारिस् ।
आज तैले ऐश्वर्य र त्यागको रणस्थलमा
हज्जारौँ शिर चढाइदिइस् (शर्मा : २०५९, पृ. ७६)
साहित्य समाज प्रभावको उत्पादन पनि हो । यसबाट बढेर उनले भनेका छन्; सहिदहरूको जय ! स्वतन्त्र भारतको जय !! यस हिसाबले हेर्द उनको युवा मनोविज्ञानले छोएको विषयले नै उनलाई राजनीतिप्रति आकर्षित गर्न सक्यो । आखिर उनी स्वतन्त्रताको चाहनालाई आफ्नै जीवनमा बदल्न सफल भएको देखिन्छ । यसैगरी उनका २०२५ सालपछि प्रकाशित भएका कविताहरूमा विषय विविध रहेका छन् । एउटा सन्धि ः एक सम्झौता कवितामा कवि विश्वेश्वरप्रसादले मान्छेको जीवनलाई अमर बनाउने कि परिचयविहिन बनाउने भन्ने सन्दर्भलाई समेत मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्;
अमरता हो भीषण अतिशय दण्ड
जसमा गरिब श्वासले तिर्छ राजकर
प्रत्येक क्षण बाँच्नलाई । (शर्मा : २०५९, ६४)
कविका कतिपय कविताको शृङ्खलाभित्र विषयको प्रस्तुतिमा विरोधाभाषपूर्ण स्थिति छ तथापि मानव जीवनका यावत उदाहरणलाई कविद्वारा मरणशील जीवनमा केही गर्न नसके हाम्रो जीवन व्यर्थ हुने निष्कर्ष निकालिएको छ । कवि कोइरालाले पोखराको सौन्दर्यलाई पनि वर्णन शैलीमा प्रस्तुत गरेका छन् । उनले पोखराको सौन्दर्यलाई पौराणिक विम्बात्मक सम्मिलनभित्र उनेका छन् । पोखराले आफूसँग हिमालहरूको साथ रहेकाले यो हिमालय पर्वत शृङ्खलाको बिचमा रहेको पवित्र भूमिले धेरैलाई लोभ्याउने भाव कविताभित्र परेको छ । आयामका हिसाबले केही लामो कवितामा पोखराको सौन्दर्य वर्णनको लय भाषिक प्रवाह सरल हुन नसक्दा अवरोधपूर्ण बन्न पुगेको छ । कहाँ के भन्न खोजेको होला ? भन्ने कुरा पाठक सहजै बुझ्न सक्दैनन् मात्र होइन अर्थ लगाउन पनि सजिलो हिसाबले सकिन्न ।
तिनको म साक्षी छु वसन्तको दिनको
वसन्तमा चराचर सृष्टि सपनामा
पराशरको मायामा निमग्न । (शर्मा : २०५९, पृ. ८७)
कविले आफ्ना एकतिहाइ कवितामा मात्र विषयलाई स्पष्ट ढङ्गले प्रस्तुत गरेको पाइन्छ । आम कविताका हिसाबले हेर्दा उनका कवितामा अमूर्त र रहस्यात्मक विषयले समेत स्थान पाएको देखिन्छ । आध्यात्मिक चेतलाई समेत कलात्मक ढंगले विषयप्रवेश गरेको जस्तो लाग्ने उनका कवितामा हिमालय क्षेत्रको सौन्दर्यलाई मानवीकरण गरेको देखिन्छ । कवि कोशी र कोशीको जलक्षेत्रले निर्माण गरेको सभ्यतालाई एउटा प्रमुख पक्ष भन्दै “कोशी कौशिकी” कविताभित्र नेपालको जलधाराको विषयलाई आफ्नो काव्य लेखनमा समेट्दछन्;
कोशी–सप्तकोशी–कौशिकी
जसको किनारमा उभिएर स्वच्छ, शान्त
निर्मल जलराशिबाट
अञ्जुली उठाएर
तृष्णा … क्षुधा
तृप्त भरिएर
पाउसम्म सप्रेम छालको आलिङ्गन । (शर्मा : २०५९, ९६)
यसैगरी कवि कोइरालाको ‘टाढाको कल्पना’ कवितामा स्वच्छन्दतावादी भावलाई नेपालको जनजीवनमा भिजेका उखान टुक्का वा लोकोक्तिलाई समेत उच्च प्राथमिकता दिएका छन् । उनको काव्यकारिता र सिर्जनशील चेतनाका बिच भने धेरै अन्तर परेको देखिन्छ । जसले गर्दा कविता पठनको सिलसिलामा पाठकहरूले सुस्पष्ट भाव बुझ्न प्रक्रियामा सहजता उत्पन्न हुन सक्दैन ।
निष्कर्ष
कवि विश्वेश्वरप्रसाद कोइरालाका कविताहरू गद्य लयमा लेखिएका छन् । कविले कल्पना तत्व र ज्ञान मीमांशा दुवैलाई कवितामा मिसमास गरेका छन् । मानव जीवनको यावत उल्झनलाई विम्बात्मक र प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने क्रममा मानवलाई प्रकृतिको अंश भएकाले पनि यो जाति प्रवृत्ति जस्तै नाङ्गो छ । उनले लुकाउने विचार र देखाउने हिंस्रक व्यवहारमा कहिल्यै एकरूपता भन्ने भावलाई कवितामार्फत उतार्ने कोसिस गरेका छन् । तथाकथित प्राज्ञिक रुपले छोप्न खोजेर मान्छेको जन्मसिद्ध गुण नमर्ने रहेछ भन्ने सच्चाइ कविताहरूमा प्रस्तुत भएको छ । वाक् स्वतन्त्रता, राजनीति स्वतन्त्रता मूलतः वैयक्तिक स्वतन्त्रताको वकालत गर्ने कविताहरू सुवोध र सरल भने छैनन् ।
ललितकला
क्यानभासमा जीवन यात्राका दृश्य
उमेश श्रेष्ठ
‘संसारिक घर्षणदेखि आत्म प्रवाह’ मेरोे नितान्त व्यक्तिगत कला यात्राको भिजुअल डायरी (दृश्यात्मक डायरी) हो । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा केही दिनअघि चलेको ‘संसारिक घर्षणदेखि आत्म प्रवाह’ प्रदर्शनीमा मेरो तीन दशकको कला यात्राको अनुभवलाई राखेको थिएँ । यसको सुरूवात राजधानीभन्दा पर एउटा दुर्गम गाउँमा जन्मीको अन्तर्मुखी स्वभावको बालकको बाल्यावस्था आफ्नो दौँतरीहरूसँग भन्दा हजुरबुबासँगको सङ्गतमा बित्यो ।
सदाझैँ त्यो दिन पनि हजुरबुबाको छेउमा बसेर उहाँले गर्ने दैनिक कार्यमध्ये चिना बनाएर एक प्रकारको मोहनी भाकामा रामायणको श्लोक वाचन गर्दैगर्दा त्यसको बिच भागमा छापिएको चित्रमा मेरो आँखा प¥यो ।
मैले त्यो पन्नामाथि हातराखी धेरैबेरसम्म त्यस चित्र हेरिरहेँ । त्यही घटनाले मभित्र अन्तर्निहित कला चेतनाको दियोको सलेदोमा झिल्कारूपी आभाले जन्म लियो । त्यो घटनाले नै यो दृश्यात्मक डायरीको यात्रामा सौभाग्य जुराएको छ । त्यस घटनाले सुम्पिएको सौभाग्यले मेरो बाल–मस्तिष्कमा दृश्यात्मक अनुभवको तरङ्गहरूले लहराउँदै गति पैदा गर्यो ।
फलस्वरूप मलाई आकार र त्यसको सौन्दर्यप्रति चाख बढ्दै जाँदा कलाको प्रारम्भिक तत्व ‘रेखा’ को अभ्यास गर्न थालेँ । हाम्रो पुर्खाले विकास गरेको परम्परागत शैलीले बनाइएका कमेरो पोतिएको सेतो भित्तामा आमाले चुलोचौका र मझेरी पोतेर उप्रिएको रातो माटोको झोलमा औँला चोबेर अनगिन्ती रेखाहरू कोर्दै कलानुरागको दीपमा तेल थप्ने प्रयास गर्दैगर्दा हजुरबुबाको सङ्गतबाट स्कुले विद्यार्थी भएँ ।
दृश्यात्मक अनुभवको दायरा बढेसँगै भित्ता कोर्दै गएको रेखाकृतिहरूको कपीमा पनि दायरा बढेकाले घरको भित्ताबाट कपी, बाटोको भित्ता, विद्यालयको झ्याल, ढुङ्गा, कालो पाटी आदिमा रेखा अभ्यासले बसाएको मधुरो क्षितिजलाई कक्षा ९ र १० को नेपाली पाठ्यपुस्तकमा लियोनार्डो डा भिन्सीको जीवनी पढिसकेपछि रेखा र रङ्गले कलाकारलाई समाज र राज्यले दिन सक्ने पहिचान, हैसियत र इज्जतको बारेमा जानकारी भयो । त्यही बेलाबाट अनायास बालमस्तिष्कको कला बीजलाई जगेर्ना गर्दै कलाकार हुने सपना बुनेँ । औपचारिक रूपमा कलाकार हुनेमा दृढइच्छा मभित्र प्रगाढ थियो तापनि सामाजिक मूल्य र मान्यतालाई मध्यनजर गर्दै घरको सपना बोकेर सन् १९९१ म राजधानी आएँ । घरप्रतिको अघात स्नेह र प्रेम हुँदाहुँदै पनि मेरो अन्तरहृदयमा नमेटिने गरी कुँदिएको कलाकार बन्ने सपनाले घरको सपना छोड्न बाध्य तुल्यायो ।
ललितकलामा भर्ना भइ पढाई सुरू गरेपछि घर र मेरो सपनाको टकरावले सम्बन्ध दुई किनारजस्तै भयो । आउटसाइड आर्ट स्टुडेन्टको रूपमा कलामा एमएफए हासिल गरी त्यसैमा जीवन समर्पण गर्दै यहाँसम्म आइपुग्दा कलाकारले भोगेका बाह्य र आन्तरिक असहज, अन्यौल, अस्पष्टता नै मेरो निम्ति सांसारिक घर्षण हुन् पुग्यो भने त्यही घर्षणलाई निरन्तर दृढतापूर्वक चैतन्यपूर्ण अभ्यास खोज र मनन् गर्दै गर्दा प्राप्त स्पष्टता र पहिचानले मेरो यात्रामा कला सिर्जना गर्दा आन्तरिक रूपमा हुने द्वन्द्व, स्पष्टता कम भई त्यसभित्र म हुनुको भाव दिलाउने आन्तरिक खुसी चाहिँ आत्मप्रवाह हो ।
यो ‘संसारिक घर्षणदेखि आत्म प्रवाह’ मेरो कला यात्राको लगभग सुरूवातदेखि आजसम्मका कलाकृतिहरू सङ्गालिएका पोकाको अनावरण गर्दै मनाउने कला उत्सव हो । यो उत्सवमय कला प्रदर्शनीभित्र मैले इमान्दारिताका साथ उजागर गरेको यात्रा, अनुभूति, दृष्टि, दर्शन र विश्वासलाई सत्यनिष्ठ यथार्थपरक ढङ्गले अनावरण गराउने चेष्टा गरेको छु । जहाँ रेखा चित्रको स्वरूपलाई देख्दा आहा ! भन्दै सुरू भएको चेतनालाई हुर्काउँदै आम भिडको साझा दृष्टि र चैतन्यभन्दा परको आयामले मेरो कला अनुरागसँग हृदयभित्र कुँदिएको कलाकार बन्ने सपनालाई साकार पार्न मभित्रको ‘स्व’ लाई साधनामार्फत उत्खनन् गरी देखिनेबाट ‘स्वयम्’ हुने चेतनाको आभामा मेरो कृति रचना गर्ने आफ्नै डबलीमा उभिएको छु ।
यसरी उभिएर कला निर्माण गर्दैगर्दा मैले प्रकृति, संस्कृति, दैनिक भोगाई, निजी भोगाई, मानवीय दैनिक भोगाई, भावना र संवेग, अध्यात्म, दर्शन आदिलाई मेरो क्यानभासमा वस्तुगत सूक्ष्म चित्रण गर्दै विषयगत (थिम्याटिक) बनाएर कलाकृतिलाई जीवन्त बनाउने यत्न गरेको छु । चित्रमा मेरो विश्वास, सपना, सङ्घर्ष, प्रकृति, सम्पदा, संस्कृति र तिनको अभ्यासद्वारा खडा गरिएका साझा बिम्ब प्रतीक, चिन्हलाई यथार्थवादी, अमूर्त, प्रतीकात्मक शैलीलाई अङ्गीकार गर्दै इतिहास, राजनीति, दैनिक भोगाई एवं मेरो व्यक्तिगत भोगाईबाट जन्मिएको विचारलाई सूक्ष्म चित्रण गरेको छु ।
बाल्यवस्थामा रेखा चित्रसँग भएको जम्का भेटबाट आहा ! भावना उत्पन्न कला चेतनाको झिल्कालाई सम्हाल्दै कलामोहले तय गरेको तीन दशकभन्दा लामो कलायात्राबाट प्राप्त सिर्जनात्मक स्पष्टता र त्यसैको दृष्टिमा खोजिने कला भविष्यको डबलीमा उभिएर ‘स्व’ को उत्खनन् र त्यसको अनन्त आयामलाई नियालेर भेट्टाउन मेरो सिर्जनामा द्रष्टा र दृश्यको सम्मिलनबाट स्वयम्को दृष्टि पाउन कलामा निरन्तर होस्पूर्वक यात्रा गर्ने प्रण गर्दै यात्रामा फुलाइएका विभिन्न फूलहरू सँङ्गालेर फुलाइएको एक थान बुकी चढाउँदै छु । खासमा संसारिक घर्षणदेखि आत्मप्रवाह त्यही बुकी हो ।
(केही दिनअघि कलाकार उमेश श्रेष्ठको एकल कला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भएको थियो । तीन दशकदेखि कलाक्षेत्रमा सक्रिय श्रेष्ठले प्रकृति, संस्कृति, जनजीवन, सामाजिक तथा सीमान्त समुदायका विषयलाई कलात्मक रुपमा क्यानभासमा चित्रण गर्दै आएका छन् । उनका कलामा नेपाली समाजको यथार्थ चित्र उधिनिएको पाइन्छ ।)
समाजमा रहेका विचार र व्यवहारलाई व्यक्तिले गर्ने अनुभूतिको सञ्चारबाट साहित्य जन्मन्छ । कठिन परिस्थितिमा पिता कृष्णप्रसाद कोइरालाले व्यहोरेको राज्यको दण्डस्वरूप कोइरालाको बाल्यकाल मात्र नभएर झण्डै युवावय पनि भारतमै बित्यो । विद्यालय शिक्षा लिने बेलामै थालेको साहित्य साधनाले कोइरालालाई २००७ साल अगाडि छुट्टै परिचय दिलायो भने २०१७ साल पुस १ गतेपछि पनि विचार र पार्टी प्रतिबन्ध हुँदा पनि धेरै पाठकका बिचमा पुग्न कसैले रोक्न सकेन
विश्वेश्वरप्रसादको धेरै चर्चा पाएको साहित्यिक विधा आत्मवृत्तान्त हो । जसले नेपालको राजनीतिक इतिहास, आर्थिक पक्ष र सामाजिक एवं सांस्कृतिक पक्षको खोजी गर्न सहयोग पु¥याउँछ । यसका साथै विश्वेश्वरप्रसादलाई साहित्यकार र त्यसभित्र पनि अध्ययन गर्नेहरूले आख्यानकारका रूपमा बढी बुझ्ने र चिन्ने गर्दछन् । त्यसको एउटा पाटोको रूपमा रहेको विश्वेश्वरप्रसादले छोपिएको साहित्यिक व्यक्तित्व भनेको कवि व्यक्तित्व हो । उनलाई एकमुष्ठमा कवि व्यक्तित्वको परिचयको आलोकमा ल्याउने काम समालोचक हरिप्रसाद शर्माले गरेका छन्
प्रतिक्रिया