२०७४ मंसिर २९ गते हामी चार जना बन्दीपुर बजारबाट घलेगाउँ, लमजुङको होमस्टेमा वासबस्न जान गाडीमा बस्यौँ । बन्दीपुर–बेँसीसहर नौ किमि । त्यो पनि ठाडो ओरालो पिच । एकैछिनमा झर्यौँ । पुग्यौँ ।
हामी यतिबेला डुम्रेबाट बेँसीसहरतिर जाँदै छौँ । बाटो कति छ कसैलाई थाहा छैन । तेर्सो पिच सडकतिर लाग्यौँ ।
सधैँ आउजाउ गरिरहेको हाइवे छुट्यो ।
‘यही होइन बेँसीसहर जाने सडक ?’, म
‘हो, नछोडी जानुस यो बाटो । ठ्याक्कै बेँसीसहर पुगिन्छ ।’, ऊ ।
कुदाइ्न गाडी रश्मीले बेस्सरी । डर डर पो लाग्छ । के उधि कुदाको । म झ्यालबाट बाहिर हेर्न थालेँ । राम्रा घर आए । थोत्रा घर आए । गाउँले घर आए । बारी आयो । खेत आयो ।
हेर्दा हेर्दै मख्ख परेर भनेँ, ‘औधी राम्रो पो रहेछ यता । धेरै धान फल्छ होला । कति सुकिला घर । कति मलिलो माटो ।’
‘लाहुरेहरूको वस्ती हो, यो । जहाँ पायो त्यही किन बस्थे पैसावाला लाहुरेहरू । पक्कै राम्रो ठाउँ होला’, भन्नुभयो नारायणजीले ।
जाँदै छौँ । ‘त्यो जंगलभित्र भोटेओडार छ । एकपटक पुगेथेँ । कहाँनिर हो बिर्सिएँ’, नारायणजीले भन्नुभयो माथि जंगलतिर देखाउँदै ।
मैले त्यता हेरेँ । रोड अनि खेत । खेतमाथि वन । लहलह रुख । साँच्चै घनघच्चीको पो देखेँ त गुफा वरपरको वन ।
जाँदाजाँदै एउटा गेट आयो सडकैमा । यही होला बेँसीसहर ठान्यौँ । होइन रहेछ । त्यहाँबाट पनि निकैबेर हिँडेपछि हामी बेँसीसहरभित्र पस्यौँ ।
‘घले गाउँ जाने गाडी कति बजे जान्छ ?’, म ।
‘११–१२ बजेतिर’, ऊ ।
हामी बसिरह्याँै । गाडी सुतिरह्यो । बस्ने र सुत्नेको बल्ल कुरा मिल्यो । दुई बजेतिर हामी फोरहिल, भाडाको गाडीमा चढेर घले गाउँतिर लाग्यौँ ।
कता गयौँ कता । कता जाँदैछौँ ? मन मुर्मुरिन्छ । कहिल्यै नपुगेको ठाममा के के न होला । उपदै्र पो होलाजस्तो लाग्छ मनमा ।
के हुनु नि नौलो । पाखो । पहरो । जंगल । घारी उनिउँको । बनमारा । पर – तल खेत । खेतका गरामा परालको माच । माच नजिकै चर्दै बस्तुभाउ । घुम्दै कतै वा कतै नानीहरू । यस्तै त हो नेपाली जीवन ।
उकालामा बाटो छ धुले । बाटोमा हामी हिँड्दै छौँ गाडीमा बसेर । सिट टन्न छ । गाडीको झ्याल बन्द गरे पनि जिउभरी ह्वारै धुलो पस्छ । हामी बीचमा छौँ । पछाडी बैँस भरिएका । पानी भरिएका तरुनी तन्नेरी बसेका छन् । उनीहरू खितिती हाँस्छन् । गलल हाँस्छन् । गीत गाउँछन् ।
बुढेसकालले मक्किएको पात्लेको रुख हुँ म । ढल्न के बेर ।
मलाई तरुनी तन्नेरीको रोमान्स पटक्कै मन पर्दैन ।
पर डाँडो । माथि पहरो । पर पाखो । बीचमा बाटो । बाटामा धुलाको भकारीका भकारी । खुइते गाडी थर्काउँदै हामीलाई कुदाइरहेको छ ।
म थर्किन्न । थर्किन्छु तर थर्किन्न । किनभने जीवन सुखमय मात्रै हुन्न । थर्काउँछ । थर्किन सक्नुपर्छ ।
‘यो बाटो कति किमि छ, भाइ ?’, म ।
‘३२ किमि छ’, ड्राइभर ।
रापा सिं भन्ने ठाउँमा कान्छा दाइले गाडी रोक्दै भने, ‘जानुस, जानुछ भने जंगलतिर । म एकछिन बस्छु ।’
जानु थियो । गएँ । गयौँ । तर बिचराले हिमाल हेर्नुस् भन्न बिर्सिएछन् । वा हिमालको महत्व नै उसलाई थाहा थिएन ।
चउरमा उभिएर हेर्दा त हातैले छोइएलाजस्तो देखिँदो रहेछ हिमाल । हिमपुञ्ज शुभ्र । दिग्दिगन्तको अद्वितीय सौन्दर्य पुञ्ज । मान्छेको ख्यातीजस्तो सेतो हिमाल ।
कति हेर्नु । हेर्दा हेर्दा आँखा थाके । हेरेर पेट भरिन्न । चियासिया खाने व्यवस्था छ कि भनेर हेरेँ । छैन । खाएनौँ । मात्रै दृश्य पियौँ ।
‘यो हिमाललाई के भन्छन् ?’, म ।
‘अन्नपूर्ण–१, २, ३, ४ कुन हो त्यो चै था भएन बा’, उसले भन्यो ।
हिँड्यौँ । नजिकै अलि माथि सरस्वती प्राविको भवन रहेछ । त्यहाँबाट पनि मज्जाले देखिँदोरहेछ सेतै कपाल फुलेको बूढो हिमाल ।
यो उकालो । यो वन । यो बाटो । यी पाखा । यी डाँडाकाँडा सबै मेरै दिङ्लाका त हुन् नि जस्तो लाग्यो मनमा । कताबाट आयो कुन्नि दिङ्ला ।
उस्तै लुगा लाएकी अर्काकी स्वास्नी देखेर आफ्नै आफ्नी ठान्ने बूढो त भइनँ म ।
सहस्र वन्दना उकालोलाई । होइन, उकालोको मलयज शीतलाम् वायुलाई मैले मनैमन वन्दना गरेँ ।
हामी घले गाउँ पुग्दा त्यस्तै चार बजेको हुनुपर्छ ।
‘बेँसीसहरबाट घलेगाउँ आइपुग्न गाडीमा कति समय लाग्छ भाइ ?’, म ।
‘दुई घण्टा लाग्छ’, ऊ ।
हामी होमस्टे खोज्नतिर लाग्यौँ ।
आज होइन । एक वर्षअघिदेखि लमजुङको होमस्टेमा बस्न जाने भनेका थियौँ । त्यहाँको सम्पर्क पुरुषसँग आउने बेला दिनैपिच्छे सम्पर्क गरेका थियौँ । ऊसँग आजै पनि गाडी चढ्ने बेला सम्पर्क भएको थियो तर ।
ऊ आयो होमस्टे वाला ।
लुरुलुरु हामी उसको पछि लाग्यौँ । उसले दालभात अघाउन्जेल खुवायो । सागको तरकारी दुई त्यान्द्रा । थप्ने तरकारी छैन । चुठ्यौँ । उठ्यौँ ।
होमस्टे घर ?
हेर्नुस । लग्यो । हे¥यौँ । मन परेन कोठा । ह्वास्स ।
यसो माथि हेरेको त त्यहाँ त सहरको जस्तै होटल रहेछ । होटलमुनि बसेर खाएछाँै । नाम होमस्टे काम होटल । चौक्टा खान आएकी बुढी झोलमा डुबेर मरी । भयो ।
झर्किंदै त्यहाँको व्यवस्थापक भाइले अरू घर देखायो । धेरै वटा घर हेरेपछि एउटा घर छान्यौँ । आजरात त्यसैमा बस्ने निधो गरेर झोला कोठामा थन्क्यायौँ । अनि घुम्न निस्कियौँ ।
घले गाउँ होमस्टे–८ बाट बाहिर निस्कियौँ । तल, माथि, वरपर सबैतिर ढुंगा छापेको छ भुइँमा । ए है है दिङ्ला पुगेजस्तो पो लाग्छ । वहाँका घरआँगनमा कसैकसैले ढुंगा छापेको हुन्थ्यो । यहाँ त जताततै ढुंगा ओछ्याएको देखिन्छ ।
मन पर्यो घले गाउँ । यो गाउँ आफ्नो स्तरोन्नति गर्न कस्सिएको देखेँ । झुरुम्म घर मात्रै भएको, खेतबारी पटक्कै नभएको, हिमाल सिरान बनाएर सुतेको, यो गाउँ धेरै वर्ष सुतिरह्यो होला । हिजोआज जुरुक्क जुरुक्क उठेको देखेँ । होमस्टे छ । अलिकति आय हुन्छ । सार्क पर्यटनस्थलको राष्ट्रपतिबाट उद्घाटन गराए । प्रचार भयो । घर नं दिए होमस्टेको घर चिनियो । सबै घरलाई पुग्ने पानीको धारो बनाए गाउँलेले । मन्दिर निर्माण, चिया बगान, प्रगतिका द्योतक लाग्छन् । अचेल त सार्वजनिक भवनको आँगनमा बसेर कसरी गाउँको उन्नति गर्ने भन्दै दिनैपिच्छे जस्तो छलफल हुँदोरहेछ ।
घरहरू स–साना लाग्छन् । प्रायः दुई तले । माथि टिनले छाएका छन् । सबै घर । टिनका छानामा मूलाको, रायोको, तोरीको साग सुकाएको देखिन्छ । गुन्द्रुक बनाउन सुकाएको रे ! सबै घरका टिनमा कालो घसेको जस्तो लाग्छ । पुराना भएर होला । यी घर झुरुम्म छन् तर छुट्टाछुटै अस्तित्वमा उभिएका छन् । एक दुई घरबाहेक कुनै घरको पनि करेसाबारी छैन । सबैको खेती तल बेँसीमा छ रे !
गयौँ । गइरह्यौँ ढुंगामा टेक्दै । बाटोमा एक जना पनि गाउँले भेटिएन । डाँडामा बाटो । पर्खाल । एकातिर लेखेको पढेँ, ‘पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घले गाउँ लम्जुङ ।’
यो लेखेको बोर्डमा घर छ । आँगन छ । पर्खाल छ । पानी छ । शून्य छ ।
अर्कोतिर पढेँ, ‘समादरणीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूका बरदबाहुलीबाट उत्तरकन्या–२ घले गाउँ लमजुङस्थित सार्क भिलेज पर्यटन संग्रहालयको मिति ०७३ माघ २२ गते समुद्घाटन सुसम्पन्न भयो ।’
कता जाने कता । थाहै छैन । मान्छे भेटिन्न । कसलाई सोध्न जाने हो ? भन्दै तेर्सै तेर्सै गयौँ । ओरालो आयो । तल झ¥यौँ । त्यहाँ मन्दिर रहेछ । नजिकै गयौँ । मन्दिरको ढोका बन्द रहेछ । त्यहाँ लेखेको पढेँ, ‘उत्तरकन्या मन्दिर ।’
मन्दिरको ठीक अगाडि मन्दिरजस्तै अर्को भवन देख्यौँ । म त्यहाँ गएर के लेखेको रहेछ भनेर पढ्न खोजे । त्यहाँ लेखेको भाषा बुझिनँ ।
तेर्सै तेर्सै जाँदैछौँ । चिया बगान छ भन्थे कता होला ? मेरो मनले मलाई सोध्यो । त्यति नै बेला बाटोमुनि चियाका बुटा देख्यौँ । म दंग । ऊ चियाबारी ।
दोबाटो आयो । ओरालो कि उकालो ? अलमलियौँ ।
होमस्टेमा जानु छ । बाटो बिर्सियो ।
कताबाट जाने होला ?
मैले घरभेटीलाई बोलाएर सोधेँ ।
उसले भन्यो, ‘घर नं. कतिमा बस्नुभएको छ ?’
‘आठमा’, म ।
‘उसो भए त्यताबाट जानुस’, उसले देखायो ।
अस्ताउन आँटे घाम । खुट्टा निहुँ खोज्न थाले मेरा । हतारहतार आठ नम्बर घरभित्र पस्यौँ ।
अहिले आठ नं. घरका अँगेनामा आगो बल्दै छ । बुहारी नानी तर्कारी पकाउँदैछिन् । एक कुनामा आगो ताप्दै घरभेटी बा कोदाको झोल पिउँदै छन् । नजिकै आँटमा राखेको मासु झिकेर काटकुट गर्दैछन् छोरा । पुत्पुतु धुँवा घुम्दैछ । अँगेनो नजिकै ओछ्याएको सुकुलमा बसेर आगो ताप्दैछाँै हामी ।
‘हामीलाई पनि मूला दिनुस् न नानी !’, मैले भनेँ ।
उनले प्लेटमा राखेर चार–पाँच चाना दिइन् ।
घरभेटी बालाई सोधेँ, ‘आमै खोइ त ?’
उनले भने, ‘पोखरा बहिनीकोमा गएकी छे । आइपुग्ने बेला भो ।’
एकैछिनमा दुई महिला भित्र पसे । एउटी अली बूढी । अर्की अली तरुनी ।
बा दंग पर्दै यसो पो भने, ‘यी दुईटी मेरी श्रीमतीहरू हुन् । एउटी जेठी । अर्की कान्छी । कान्छीले त मलाई बेस्मारी पो माया गर्छे त । कसो हो ? हो कि होइन ?’
झोला बिसाउँदै उनले भनिन्, ‘हो त नि ! म त आफ्नो भेनालाई असाध्यै माया गर्छु ।’
फेरि उनले भने, ‘भेना नभन न । पोइ भन न, पोइ ।’
साली भेनाको गफ रमाइलो थियो ।
‘एक गिलास लिनुहुन्छ, कोदाको हो ?’, उनी ।
‘कति पाने हो नि ?’, म ।
‘के को पाने । सात÷आठ पाने कति हो । लाग्दैन ।’, उनी ।
‘हुन्छ दिनुस एक गिलास’, म ।
दिए । खाएँ । के को लाग्नु । पानी पिएजस्तै भो ।
मज्जाले खाइ पिई गरेर अर्को घरमा सुत्न गयौँ । मस्त निद्रा लाग्यो । रातभरी जाडाले सेक्छ होला भन्ने लागेको थियो ठ्याम्मै जाडो भएन । चार बज्यो बिहान । उठेँ । बाथरुम बाहिर । पर । चिसो । अँध्यारो । गएँ । त्यहाँ बत्ती बलिरहेको रहेछ । काम सकेँ । फर्किएँ । बाटामा बेस्मारी भकु¥यो चिसोले ।
योग गरेजस्तो गरेँ । उज्यालो भयो । म एकछिन घुमेर आउँछु भनेर निस्किएँ । कता जाने कता । बेलुका हिँडेकै बाटो आएँ । अलिपर दाउराको ठूलो कुनिउँ रहेछ । त्यहीबाट एक जना गुरुङ बा उता जाँदै थिए ।
सोधेँ, ‘दाउराको त्यो (औँलाले देखाएर) थुप्रोलाई के भन्नुहुन्छ ?’
उसले भन्यो, ‘हामी दाउरालाई ‘सिं’ भन्छौँ । ‘सिं थेवा ख’ भनेको दाउराको माच छ भनेको हो’, बुझ्नुभयो ।
ऊ गयो । म हिँडेँ । माथि उभिएर तलका टिनछाने घरतिर हेरेँ । बारी नभएका घर । आँगनमा फूलहरू फुलेका देखिन्थे । प्रत्येक घरको धुरीमा धुवाँ उडिरहेको थियो ।
नानी पँधेरामा साडी निचोर्दै थिइन् ।
सोधेँ, ‘गाउँमा कति धारा छन् ?’
पाँच–६ वटा ।
पानी कति आउँछ ?
दिनभरी ।
फर्किएँ कोठामा । साथीहरू उठिसक्नुभएको रहेछ ।
सूर्योदय हेर्न जाने होइन ?
हो ।
हतारहतार कोठाबाट निस्कियौँ । खुत्रुकखुत्रुक झ¥यौँ । गेट आयो । गेटमा लेखेको रहेछ – गोर्खा पार्क । हामी पुग्दा सूर्य उदाइवरी संसार भ्रमणमा निस्किइसकेका रहेछन् । अब हेर्ने भनेको हिमाल । फोटा खिच्ने भनेको हिमाल । रिल्याक्स गर्ने भनेको हिमाल । हिमाल हेरेँ मैले ।
‘सेतो हिमाल त कालो पो देखेँ । किन कालो हिमाल । खोइ हिउँ ?’, नारायणजीले भन्नुभयो ।
‘यो सबै पर्यावरणको लीला हो । त्यहाँ हिउँ छैन । कालो ढुंगो मात्रै छ’, मैले भनेँ ।
‘ए हो र ?’, नारायणजी ।
हिउँ । हिमाल । म । हामीहरू । सबैको अस्तित्व छुट्टाछुट्टै छ । त्यहाँको भ्यू टावरमाथि चढेर पर्यटकहरू आफनो मात्रै अस्तित्व खोज्दै छन् । संसारमा अरू नै छैनन् जस्तो ।
पर देखिन्छ कालो अनि सेतो हिमाल । तल तल धेरै तल छ खोँच । फोटा खिचिसकेपछि, हेरिसकेपछि, संसारका कष्ट पीडा बिर्सिसकेपछि हामी त्यहाँबाट तल झरेर बस्तीभित्र पस्यौँ ।
जाउँ ८ नं को घरमा भनेँ ।
हुन्छ भन्नुभयो वहाँहरूले ।
आफ्नो घर । होमस्टे घर । एक वर्षदेखि आउन खोजेका गाउँको आफ्नै घरभित्र पस्यौँ ।
भान्साभित्र पसेर तातोपानी मागेँ । आमाले दिनुभयो । मेरी आमाले दिङ्लामा अंखोरामा पानी दिएको झझल्को आयो । आँटको गाग्रीबाट झिकेर ।
‘नास्ता के गर्नुहुन्छ ?’, आमाले सोध्नुभयो ?
‘जे जे छ त्यही’, मैले भनेँ ।
खाने कुरा आयो । खान थाल्यौँ । कोदाको सेलरोटी मलाई औधी मन प¥यो । निख्खुर कालो, चिल्लो, गुलियो ।
फेरि कोठाभित्र पस्यौँ । तयारी ग¥यौँ हिँड्न ।
कोठा बाहिर निस्किँदा त आँगनमा सासूबुहारी सेता अक्षता र फूलको माला लिएर उभिनुभएको रहेछ ।
सेता अक्षता र माला हामी प्रत्येकलाई आमाले लगाइदिनुभयो । मेरी आमाले म घरबाट बाहिर जाँदा मेरो निधारमा एक हातले राता अक्षता लाइदिनुहुन्थ्यो । झझल्को आयो ।
आज घले गाउँको ८ नं घरकी गुरुङ आमाले सेता अक्षता दुई हातले एकैपटक लाइदिनुभयो मलाई । आमाले लाइदिएजस्तै लाग्यो ।
झोला बोक्यौँ, दुई हात जोडेर बिदा माग्यौँ । वहाँहरूले पनि आधा ढाड झुकाएर, आउँदै गर्नुस् । यस्तै छ हाम्रो गाउँ भनेर हामीलाई बिदा दिनुभयो ।
बाटो लाग्यौँ । गाडी पार्क गर्ने ठाउँमा पुगेर झोला बिसायौँ । कहिले जान्छ गाडी ? यो पहिले जाने हो ?
हो, यही पहिले जान्छ तर एक बजेतिर मात्रै हामी बँेसीसहरतिर लाग्छौँ । लौजा मा¥यो । भर्खर आठ बज्दै छ । पर्खिनुबाहेक हामीसँग अरू के छ र उपाय ।
म एक्लै घुम्न निस्किएँ ।
अलि पर पुगेँ म । त्यहाँ सानु सालिक देखेँ । त्यसलाई पर्खालले घेरेको रहेछ । भित्र जान मिलेन । फलामे गेटबाट हेरेँ । यस्तो लेखेको रहेछ ।
राजाल्के मुक्यालपो (पाँचाको कोइम्लीको अन्तिम राजाको सालिक)
यता घुम्यो । उता घुम्यो । सकिन्न समय । कस्तो हो समय ? कहिले पुग्दै पुग्दैन समय । कहिले सकिँदै सकिँदैन समय ।
चिटिक्क राम्रो, स्कुल रहेछ पर डाँडामा । पढेँ – उत्तरकन्या प्रावि ।
त्यसै स्कुलभित्र अर्को बोर्डिङ स्कुल पनि छ । प्राविपछि पढ्न एक घण्टा तल जानुपर्छ । भने एक जनाले हामीलाई ।
गाउँको बजारभित्र घुम्न थाल्यौँ । गाउँ तर बजारजस्तो लाग्ने । फाट्टफुट्ट यताउति पाइने ।
यहाँ गुन्द्रुक पाइन्छ ?
कहाँ बस्नुभएको छ ? त्यही सोध्नुभएन ।
ए, यसरी पो गाउँलेले गाउँको अस्तित्व संरक्षण गरेका रहेछन् जस्तो लाग्यो मनमा ।
हामी पर्खालमा उपरखुट्टी लाएर गफ भकुर्दे थियाँै । परबाट १५–२० जना गाउँले आमाबाहरू हातमा खरेटो कुचो लिएर बढार्दे आए । कोही बाटामा भएका प्लास्टिक टिप्न थाले ।
मैले सोधेँ, ‘दिनैपिच्छे यसरी नै बढार्नुहुन्छ ?’
होइन, महिनामा एकदिन सबैजना मिलेर गाउँभरी बढार्छौं ।
गाडी करायो – जाऔँ, जाऔँ ।
अन्त्यमा,
हामी गाडीभित्र पस्यौँ । घले गाउँ गाउँ हो । मात्र गाउँ । के हुन्छ र गाउँमा । घर, खेतबारी, बाख्रा, पाठा, गाईभैँसी । स्कुल । धनी मान्छे । गरीब मान्छे यस्तै ।
मन प¥यो घले गाउँ । यो गाउँ आफ्नो स्तरोन्नति गर्न कस्सिएको देखेँ । झुरुम्म घर मात्रै भएको, खेतबारी पटक्कै नभएको, हिमाल सिराने बनाएर सुतेको, यो गाउँ धेरै वर्ष सुतिरह्यो होला । हिजोआज जुरुक्क जुरुक्क उठेको देखेँ । होमस्टे छ । अलिकति आय हुन्छ । सार्क पर्यटनस्थलको राष्ट्रपतिबाट उद्घाटन गराए । प्रचार भयो । घर नं दिए होमस्टेको घर चिनियो । सबै घरलाई पुग्ने पानीको धारो बनाए गाउँलेले । मन्दिर निर्माण, चिया बगान, प्रगतिका द्योतक लाग्छन् । अचेल त सार्वजनिक भवनको आँगनमा बसेर कसरी गाउँको उन्नति गर्ने भन्दै दिनैपिच्छे जस्तो छलफल हुँदोरहेछ ।
हिमालको हिउले पोलेर कठयाङ्ग्रिएको डामिएको घले गाउँ अव पर्यटक बोलाउने पूर्वाधार तयार गरेर जाडोमुक्त हुनेछ । गाउँलेहरू राम्रो आय हुनाले सुखी हुनेछन् तर सरकारले बेँसीसहरदेखि घले गाउँसम्मको सडकको समुचित व्यवस्था गर्नुपर्छ । भौतिक पूर्वाधार तयार गरिदिनुपर्छ ।
अन्नपूर्ण हिमालको हिउँ घले गाउँका घरआँगनमा सुन बन्नेछ ।
प्रतिक्रिया