काठमाडौं । ‘स्तरीय एवं मौलिक संगीतको धार, नेपाली गीत संगीतको आधार’ मुल नाराका साथ म्युजिक खबर पत्रिकाको सातौं वार्षिकोत्सवसँगै स्रष्टा सम्मान गरिएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपलकुलपति शम्भुजित बास्कोटाले अग्रज सङ्गीतकार तथा गायक शक्ति बल्लभलाई ‘म्यूजिक खबर विशिष्ट स्रष्टा सम्मान’ प्रदान गरे ।
गायक प्रकाश सपुतलाई उत्कृष्ट वर्ष गायक, गायिका शान्तिश्री परियारलाई ‘उत्कृष्ट वर्ष गायिका’ सङ्गीतकार दिपक शर्मालाई ‘वर्ष संगीतकार’ बाट सम्मानित गरियो । म्यूजिक खबर कला सम्मानबाट म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट, मोडल सागर लम्साल क्षेत्री बले र एरेन्जर नरेन्द्र वियोगीलाई समेत सम्मान गरिएको थियो । सञ्चार क्षेत्रबाट पत्रकार निराजन भण्डारी, म्यूजिक खबर व्यवसायी सम्मानबाट इन्द्रेणी स्वीट होटल एवं इन्द्रेणी कप्लेक्सका सञ्चालक शम्भु श्रेष्ठ सम्मानित भए ।
त्यसैगरी म्यूजिक खबर साहित्य सम्मानबाट साहित्यकार अनु शाह सम्मानित भइन् भने पत्रकार रश्मी थापा र जीना कार्कीलाई सम्मानित गरियो । म्यूजिक खबर संगीत सम्मानबाट संगीतकार सुभाष प्रधान, म्यूजिक खबर गायन सम्मानबाट गायक हरिराम परियार, गायिका सन्जु न्यौपाने, गायिका कल्पना सुनुवार सम्मानित भए भने मोडल अनिता गिरीलाई म्युजिक खबर कला सम्मानबाट सम्मानित गरियो ।
यस्तै, सीबी माउन्ट फ्रेमिङका सञ्चालक च्याङ्बा लामालाई व्यवसायी सम्मान, कार्यक्रम प्रस्तोताको सम्मान सेसेमी लिम्बुलाई प्रदान गरियो । त्यसैगरी नेपाल हाउसका प्रबन्ध निर्देशक टिका गौतम, कोरियोग्राफर सरोज बोलखे, फोटोग्राफर देवराज आचार्य, लक्ष्मीगणेश अफसेट प्रेसलाई कदरपत्रद्वारा सम्मान गरिएको कार्यक्रमकी अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् ।
सम्मानित व्यक्तित्वलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपलकुलपति बास्कोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तमु कलाकार संघका अध्यक्ष गायिका शर्मिला गुरुङ, एभरेस्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, रोयल्टी संकलन समाजका उपाध्यक्ष चन्द्र शर्मा, प्राज्ञ तथा गायक दुर्गा रायमाझी कार्यक्रमकी अध्यक्ष सबिता पोखरेल लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा म्यूजिक खबरका अध्यक्ष सुमन बैरागीले सम्पूर्ण गायक, गायिका, संगीतकार, गीतकार, संगीतकर्मीको माया र सद्भावले आफूहरुले ७ वर्ष लामोयात्रा तय गर्न सकेकोमा खुसी व्यक्त गरे । उनले पछिल्लो समयमा छापामाध्यमको संख्या घटेता पनि यसको विश्वसनीयता र महत्व बढ्दै गएको बताए ।
म्यूजिक खबरले नेपाली कलाकार र कला संस्कृतिकै पक्षमा कलम चलाउँदै आएको जिकिर गरे । सम्मानित व्यक्तित्व संगीतकार शक्ति बल्लभले छापामाध्यममा म्यूजिक खबरले सातौँ वर्ष निरन्तरता दिनसक्नु सिंगो कला क्षेत्रकै लागि खुसीको विषय भएको बताए । म्यूजिक खबरकी सम्पादक तथा प्रकाशक सबिता पोखरेलले कला र संस्कृतिको संरक्षणमा आफूहरुले निरन्तर काम गर्दै आएको बताइन् ।
प्रतिक्रिया