दाङ । घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी हो । रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताएका ४५ वर्षीया केसी २०७१ सालमा वैदेशिक रोजगारबाट फर्किएर पशुपालनमा व्यवसायमा लागेका थिए ।
अहिले उनको फार्ममा १८ वटा भैंसी र तिनका पाडापाडी छन् । फार्मको नाम मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म राखेका छन् । उनको फार्ममा १८ वटा भैंसी र तिनका पाडापाडी छन् । केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघर लगेर बिक्री गर्छन् ।
‘मलेसियामा तीन वर्ष काम गरें, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे। तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिनं, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ,’ उनले भने । उनका अनुसार पशुपालनबाट अहिले उनी मासिक दुई लाख आम्दानी गरिरहेका छन् ।
उनी आफ्नो फार्ममा उत्पादित ३० लिटरसँगै गाउँका अन्य किसानहरूले उत्पादन गरेको दूध संकलन गरी बिक्री गर्छन् । विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उनको बुझाइ छ ।
‘विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौं तर कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौं,’ केसीले भने ।
उनले हाल अहिले स्थानीयलाई रोजगारी पनि दिएका छन् । ‘हरेक दिन बिहान ३ बजे उठेर भैंसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, र बिहान साढे नौ बजेसम्म दूध बेचिसक्छु,’ उनले भने, ‘घरबाट निस्कनु अघि भैंसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु ।’ केसीले पशुका लागि घाँस पनि आफैं लगाएका छन् भने भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गर्छन् । -रासस
प्रतिक्रिया