२५३ जना खेलाडी सहभागी हुँदा मात्र २ वटा पदक

१९ औं एशियाली खेलकुद

काठमाडौं । १९औं एसियाडमा २९ खेलमा सहभागिता जनाउन नेपालले अहिलेसम्मकै धेरै २५३ खेलाडीलाई चीनके हान्झाउ पठाएको थियो । तर करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टिमले कांस्य पदक जित्नुबाहेक अरु खेलाडी रित्तो हात रहे ।

दुई हप्ता भन्दा बढी समय चलेको एसियाडमा नेपाल पदकविहीन नै हुने हो कि भन्ने चिन्ताका बीच कराते र कबड्डीले नाक राख्यो । यही दुई पदकले १९ औं एसियन गेम्समा नेपालको कमजोरीलाई छोपिदियो र उपलब्धिमूलक बनेको देखियो ।

एसियाडमा नेपालले करातेबाट हालसम्म चारवटा पदक जितेको छ, र सबैभन्दा ठूलो पदक यसवर्ष एरिकाले जितेको रजत नै हो । यस्तै पहिलो पटक सहभागी भएको महिला कबड्डी टिमले डेब्यू एसियाडमै कांस्य जित्यो ।

१४औं दिन कबड्डीले नेपाललाई पदक तालिकामा समावेश गराएर पदकविहीन हुने डर निवारण गरेको थियो । १५ औं दिन कबड्डी खेलाडीले कांस्य पदक पहिरिँदै गर्दा एरिकाले पनि रजत जितिन् ।
यसअघि सन् २०१८ मा इन्डोनेसियामा प्याराग्लाइडिङ टिमले रजत जितेको थियो, यसवर्ष करातेले जितेपछि नेपाल लगातार एसियाडमा रजत जित्ने टिम बन्यो ।

पदक बाहेक हान्झाउमा एथ्लेटिक्सतर्फ दीपक अधिकारी र भारोत्तोलनका सागर भण्डारी नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु नेपालको उपलब्धी रह्यो । दीपकले १० हजार मिटर दौड ३० मिनेट भन्दा कम समयमा पूरा गरे ।

सागरले नेपाली भारोत्तोलन इतिहासमै अहिलेसम्मकै सर्वाधिक ३०३ केजी भार बहन गर्ने कीर्तिमान बनाए । त्यसअघि विशाल सिंह विष्टले पनि ३०१ केजी भार बहन गर्दै ३०० भन्दा बढी भार बहन गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका थिए ।

यस बाहेक पहिलो पटक समावेश भएको इस्पोर्ट्स अन्तर्गत पब्जी मोबाइलमा नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । पदकको आशा देखाए पनि पब्जीमा नेपाल फाइनल पुग्न सकेन ।
व्यक्तिगतर्फ तेक्वान्दोका प्रेम लिम्बु, गोविन्दबहादुर आले, अन्जली तामाङ, करातेका विप्लव श्रेष्ठ, टेनिसका प्रदीप खड्का, स्क्वासका विपना ब्लोन, ब्याडमिन्टनका रसिला महर्जन र डबल्स इभेन्ट गरी केही खेलमा नेपालले जित हात पारे पनि पदकसम्म पुग्न सकेन ।
दुई पदक जित्दा नेपालको अन्य खेलको प्रदर्शन निकै कमजोर देखियो । अधिकांश खेलमा पहिलो खेलमै पराजित हुँदै बाहिरिने नेपालको नियति नै बन्यो । कतिपय खेलमा नेपाल पूरा समय टिक्न समेत सकेन । केही अपवादलाई छाडेर नेपालको स्थान अन्तिमतिरै हुन्थ्यो ।

नेपाल भन्दा सानो देशले पनि एसियाडमा स्वर्णपदक जितिसकेको अवस्थामा नेपाल भने सहभागितामा नै रमाइरहनु चिन्ताजनक छ । सात दशक भन्दा लामो इतिहास रहेको एसियाडमा नेपालले सन् १९५१ को पहिलो संस्करणदेखि नै सहभागिता जनाउन थालेको थियो । तर अहिलेसम्म १९ मध्ये १७ संस्करणमा सहभागी भइसकेको नेपालले ३ रजत र २३ कास्य गरी २६ पदक मात्र जितेको छ भने स्वर्ण जित्न सकेको छैन ।

नेपालको खेल क्षेत्रमा लगानी, खेल पूर्वाधार र खेलाडीको प्रशिक्षण तथा अभ्यासका आधारमा हेर्दा ठूलो प्रतियोगितामा नेपालको मानसिकता नै कमजोर हुन्छ । पदक जित्ने लक्ष्यसहित २०औं एसियाडका लागि अहिलेदेखि नै तयारी सुरु गरेमा मात्र नेपालले उपलब्धी हात पार्न सक्ला । तर नेपालमा अन्तिम समयमा तयारी गर्ने चलन छ ।

हान्झाउमा ब्रिड्ज गेममा कमिस टिममा स्वर्ण जितेका श्रीमान श्रीमतीको जोडीले २०१८ मा रजतमा सीमित भएपछि ५ वर्षसम्म तयारी गरेका थिए र उनीहरुले त्यही अनुसारको नतिजा पनि ल्याए ।

नेपालले १९औं मा पदक जितेको दुई खेल अघिल्लो एसियाड हुँदा दृश्यमै थिएन । करातेकी एरिका भर्खर १४ वर्षकी थिइन् । उनले त उमेर नपुग्दा सन् २०१९ मा नेपालमै भएको १३औं साग पनि खेल्न पाइनन् । उता महिला कबड्डी टोलीले त एसियाडमा सहभागिता पनि जनाएको थिएन ।

त्यसैले एसियाड जस्तो मल्टी स्पोर्टिङ इभेन्टमा जाँदा हामी कति खेलमा सहभागी हुने कति खेलाडी पठाउने कुन खेलमा पदक जित्ने सम्भावना हुन्छ भनेर बेलैमा योजना बनाएर तयारी गर्नुपर्छ । अरु देशले २०औं एसियाडका लागि चार वर्षदेखि तयारी गर्छन् । अब नेपालले पनि त्यसका लागि ढिलो गर्नु हुँदैन ।

प्रतिक्रिया