कोशी प्रदेशको राजनीतिक जटिलता यथावत

सतहमा आएका पछिल्ला घटनाक्रमलाई विश्लेषण गर्दा कोशी प्रदेशको राजनीति समाधानको दिशातिर उन्मुख देखिन्छ । कुनै पनि समीकरणले बहुमत जुटाउन नसकेकै कारण पाँच महिनाको अवधिमा पाँच जना मुख्यमन्त्री जन्माएको कोशी प्रदेशको राजनीतिले संघीयताको मर्ममाथि नै प्रश्न चिन्ह उठाएको थियो । तर पछिल्लोपटक अर्थात गत शनिबार एमालेको सहयोगमा मुख्यमन्त्री पदमा नियुक्त भएका नेपाली कांग्रेसका विद्रोही सांसद केदार कार्कीले विश्वासको मत जुटाउन सक्ने संभावना देखिएको छ । पहिलो कुरा त उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका सबै सांसदहरूले साथ दिएका छन् । कोशी प्रदेशको सबैभन्दा ठूलो दल एमालेसँग ४० सिट छ । बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । यसैगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी पार्टी र जसपाले पनि कार्कीलाई विश्वासको मत दिने बताइसकेका छन् । सत्ता गठबन्धनलाई निरन्तरता दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसकै इतर पक्षका नेता डा.शेखर कोइरालाबीच त्रिपक्षीय सहमति भएको छ । तर यो सहमति अमूर्त छ । त्यसैले कोशी प्रदेशको राजनीतिक समस्या समाधानका दिशातिर गएको हो या कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको तरंगले राष्ट्रिय राजनीतिकै समीकरणमा उथलपुथल ल्याउने हो ? हेर्न बाँकी छ । अलग पार्टीको जस्तै पहिचान झल्कने गरी कांग्रेस इतर पक्षका नेता डा. कोइरालाले प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासँगको एक बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

स्वतन्त्र सांसदको हैसियतमा मुख्यमन्त्री नियुक्त भए लगत्तै संघीय राजधानी काठमाडौं आएका केदार कार्की आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगे । तर ओलीले दुई मिनेटभन्दा बढी समय नदिएको र उभिई, उभिई कुराकानी भएको कार्कीका राजनीतिक सहयोगी पुरन्जन आचार्यले जनाएका छन् । यो घटनाले पनि एमाले अध्यक्ष ओली अझै पर्ख र हेरको अवस्थामा छन् कि भन्ने देखिन्छ । किनकी कार्की ओली पक्षका मुख्यमन्त्री हुन् या सत्ता गठबन्धनको पक्षका मुख्यमन्त्री हुन् ? भन्ने एकीन हुन अझै केही दिन पर्खनुपर्नेछ । तर कार्कीलाई कित्ताकाट गर्न त्यति सजिलो छैन । पहिलो कुरा त मुख्यमन्त्री बनाउन निर्णयक भूमिका खेल्ने एमालेलाई टाढा बनाउन सहज छैन । दोस्रो कुरा उनी कांग्रेसका सांसद हुन् । कांग्रेस संघीय तथा सबै प्रदेश सरकारमा माओवादीसँग गठबन्धनमा छ ।

कार्की कुन पक्षका मुख्यमन्त्री हुन् भन्ने कुराको सामान्य पुष्टि उनले गठन गर्ने मन्त्रिपरिषद् गठनले गर्नेछ । कार्कीले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा कांग्रेस र एमालेका नेताहरूसँग प्रारम्भिक परामर्श गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कार्कीलाई विश्वासको मत दिने र गठबन्धनलाई झनै बलियो बनाएर लेजाने सार्वजनिक उद्घोष गरिसकेका छन् । यता नेकपा एमालेका उपमहासचिन पृथ्वीसुब्बा गुरुङले भनेका छन्, ‘कोशी प्रदेशमा कांग्रेस– माओवादी गठबन्धन टुटिसक्यो, एमालेको समर्थनमा बनेको सरकारमा सहभागी हुन्छौँ ।’ यता नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भनेका छन्, ‘माओवादी र एमाले दुवै पार्टीले विश्वास र शंका गरेको अवस्था छ, त्यसैले पर्ख र हेरकै रणनीतिमा छौँ ।’ तर मुख्यमन्त्री कार्कीलाई नेपाली कांग्रेसले आफ्नो स्वामित्वमा लिने प्रयास गर्छ वा गर्दैन ? भन्ने कुरा पनि छिनोफानो हुन बाँकी छ । आफ्नो पार्टीका सांसद कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीयदलका नेता उद्धव थापाले पदबाट राजीनामा दिइसकेका छन् । अब संसदीयदलको नेता पदमा नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई निर्वाचित गर्छ वा गर्दैन ? भन्ने प्रश्नको उत्तरले पनि कोशी प्रदेशको राजनीतिमा धेरै कुराको संकेत गर्छ । तर तत्कालका लागि भने कोशी प्रदेशमा मध्यावधि निर्वाचनको संभावना टरेको हो कि भन्ने देखिएको छ ।

प्रतिक्रिया