रुकुम पश्चिम । कच्ची सडक, थोत्रा गाडी चर्को भाडादर यहाँका स्थानीयका लागि सामान्य जस्तै भइसकेको छ । रुकुम पश्चिम सडकखण्ड र जाजरकोट–डोल्पा सडकखण्डमा गाडी चलाउँदै आएका यातायात व्यवसायी र सवारी चालकहरूले मनपरी रूपमा गाडी चलाउने गरेपछि यात्रुहरूलाई सास्ती हुने गरेको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटदेखि आठबिसकोटको राडीबजारसम्म पुग्न साढे दुई घण्टा समय लाग्छ ।
यो सडक खण्डमा दुई वटा रुट छ । सल्ले–छिनखेत, नदुवा हुँदै राडी र अर्को मध्यपहाडी लोकमार्गबाट सानीभेरी रिम्ना हुँदै राडीसम्मको रुटमा साना तथा ठूला सवारीसाधन चल्ने गर्छन् । करिब ४५ किलोमिटरको दुरी रहेको उक्त सडकखण्डमा यातायात व्यवसायीहरूले मनलाग्दो भाडा असुल्दै आएका छन् । राडीदेखि मुसिकोटसम्म प्रतिव्यक्ति ६ सय रुपैयाँ तिर्नुपर्छ । महँगो भाडातिरेर गाडी समयमा नछुट्ने, क्षमताभन्दा धेरै मान्छे ओसारपसार गर्ने लगायतका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको गुनासो छ ।
चर्को शुल्क तिरेर पनि यात्रुले जिप र गाडीमा आरामदायी यात्रा गर्न पाउँदैनन । सामान बोक्ने बोलेरो र जिपमा कोचाकोच गरेर यात्रा गर्नुपर्ने बाध्यता छ । स्थानीय सडक झिन्चौर–राडीबजार, चौर, चिसापानी सडक खण्डमा चल्ने अटोले समेत मनपरी भाडा असुल्ने गरेका छन् । छोटो दुरीमा चल्ने अटोले प्रतिव्यक्ति ५० देखि एक सय रुपैयाँ लिँदै आएका छन् ।
त्यस्तै जाजरकोटको तल्लु–बगरा सडकखण्डमा पनि चर्को भाडादर लिने गरेको पाइएको छ । जाजरकोट र डोल्पा सडकखण्डअन्तर्गत पर्ने जाजरकोटको नलगाड नगरपालिका–८ बगरादेखि वडा–१२ को तल्लु बगर सडक खण्डमा चल्ने सवारी साधनले यात्रुहरूलाई भाडा दरमा ठग्ने गरेका छन् । बगरादेखि तल्लु बगरसम्मको सडकखण्डमा भाडा दर ३ सय ५० रुपैयाँ कायम गरिए पनि यातायात व्यसायीले चाडपर्व लगायत अन्य समयमा यात्रुबाट ६ सय रुपैयाँ लिने गरेका छन । यातायात व्यसायीले १ घण्टा ३० मिनेटको सडकमा तोकिएको भाडाभन्दा दोब्बर भाडा असुल्दै आएका छन् ।
यात्रु कोचेर क्षमताभन्दा बढी चढाएर ब्रेक नलाग्ने थोत्रागाडीमा यात्रा गर्दा महँगीभन्दा पनि जोखिमको पिरले यात्रुहरू त्रसित बन्दै आएका छन् । भेरिकरिडोरअन्तर्गत पर्ने उक्त सडकखण्डमा यातायात व्यवसायी र चालकहरूले मनपरी गर्दासमेत प्रहरीले वास्ता नगरेको यात्रुहरूले गुनासो गरेका छन् ।
क्षमताभन्दा धेरै यात्रुहरू ओसारपसार र छतमा झुन्डिएर यात्रा गर्दासमेत प्रहरीले नदेखेझै गरेको यात्रुहरूको भनाइ छ । प्रहरी चेकपोस्टमा पुग्नै लाग्दा छत र झुन्डिएका यात्रुलाई ओराल्ने र चेकपोस्ट कटेपछि फेरी कोचेर यात्रु ओसार्ने गरेको पाइएको छ । सडकको ट्रयाक खोलेको लामो समयसम्म स्तरोन्नति र पिच नगरिएकाले उक्त सडकखण्डमा जोखिम बढ्दै गएको छ ।
रुकुम पश्चिमको गोतामकोटदेखि खदाङसम्मको सडकखण्डमा पनि चर्को भाडा असुल्ने गरेका छन् । करिब १ सय १८ किलोमिटर लम्बाइ भएको जाजरकोट–डोल्पा सडकखण्डमा जाजरकोटको मैदे, चौखा रुकुम पश्चिमको गोतामकोट र डोल्पाको खदाङ, त्रिपुराकोटमा मात्रै चेकजाँच हुने गर्दा सवारीचालक मनपरी ढंगले भाडा असुल्ने र यात्रुलाई बीचबीचमा ओराल्ने गर्दै आएको स्थानीयको भनाइ छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, गोतामकोटबाट डोल्पाको त्रिपुराकोट नगरपालिकासम्म यात्रा गर्दा एक जना यात्रुले साढे सात सय भाडा तिर्नुपर्छ । लामो समयदेखि सवारी साधनले यात्रुबाट मनपरी भाडा असुल्दा पनि कुनै पनि निकायले त्यसतर्फ ध्यान नदिएको यात्रुहरूको गुनासो रहेको छ । जाजरकोट, डोल्पा र पश्चिम रुकुमको मुख्य नाकाको रूपमा रहेको छेपारे राडीज्यूला सडकखण्डमा दैनिक ३० वटा साना तथा ठूला सवारी साधन चल्छन् तर मनपरी भाडा असुल्नाले यात्रुलाई सधैँ सास्ती परेको छ ।
साना जिप व्यवसायीले तल्लुबाट राडीबजारसम्म ठुलो बसमा यात्रुलाई यात्रा गर्न दिँदैनन्। आफूले मात्रै यात्रु बोक्न पाउने सिन्डिकेट गर्दै आएको ठूला बस यातायात व्यवसायीले बताएका छन् । सिट थोरै, यात्रु संख्या ज्यादा । भाडा उस्तै महँगो । ग्रामीण कच्ची बाटोको लामो कष्टकर यात्रा । जसोतसो कोचिएरै भए पनि दसैँतिहारमा घर पुग्न हतारमा हुन्छन् डोल्पा, जाजरकोट र रुकुम पश्चिमलगायत आसपासका जिल्लाका यात्रु । तर ग्रामीण क्षेत्रमा चल्ने छोटो तथा लामो दुरीका सवारीको भाडादरमा एकरूपता नहुँदा यात्रु ठगिने गरेका छन् । महँगै भए पनि भाडा नतिरी सुखै छैन, गाडी चढ्नै प¥यो स्थानीय लोकबहादुर खत्री भन्छन् । गाउँको कच्ची बाटो, थोत्रा गाडीमा कोचिएर जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता एकातिर छ भने, अर्कोतिर अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । यी जिल्लाका सदरमुकामबाट छुट्ने अधिकांश ग्रामीण बाटोमा चल्ने साना तथा ठूला सवारीमा व्यवसायीले आफूखुसी भाडा लिने गरेका छन् । विशेषगरि जिल्लाका भित्री ग्रामीण इलाकामा जिप, र अटोले बढी भाडा असुल्ने गरेको सर्वसाधारणको गुनासो छ । कडा नियमन र दररेट स्पष्ट नतोकिनाले सर्वसाधारणले मार खेप्नुपरेको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया