सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने शेखरकाे चेतावनी

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य हुन नसक्ने चेतावनी दिएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगर्न चेतावनीपूर्ण आग्रह गरेका हुन् ।

नेता कोइरालाले नेपाली सेना राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको भन्दै नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नसकिने आशय व्यक्त गरेका हुन् ।

‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस्’, काेइरालाले फेसबुकमा लेखेका छन् ।

माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका कर्णेल यामबहादुर अधिकारीकाे अवकाश राजनीतिक बलमा नियमविपरीत राेकिएकाे विषय अहिले विवादमा तानिएकाे छ । नेता काेइरालाले पछिल्लाे भनाइ साेही विषयमा आएकाे अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया