नेपालीको महान चाड बडादशैं सुरु

अश्विन शुक्ल प्रतिपदादेखी पूर्णिमासम्म १५ दिन मनाइने नेपालीको महान चाड बडादशैं आज देखि सुरु भएको छ । प्रतिपदाको दिन घर घरमा घटस्थापना तथा जमरा राखेर दशैं चाड मनाउन आरम्भ गरिन्छ । पूर्णिमाको भोलिपल्ट नदी तथा तलाउमा लगेर जमारा बिर्शनज सँगै बडा दशैं समाप्त हुन्छ । बडा दशैंका १५ दिनमध्ये प्रतिपदा देखि विजयादशमीसम्मका १० दिनका छुट्टा छुट्टै विशेषता छन् । यी १० दिनमध्ये सबै भन्दा महत्वपूर्ण दिन विजयादशमीलाई लिने गरिन्छ । केही दशक अघिसम्म बडादशैंका १५ दिन सरकारी विदा दिने प्रचलन थियो , तर हिँजो आज सप्तमीदेखि पूर्णिमासम्म ७ दिन सरकारी विदा दिइन्छ । नेपाल चाड पर्वको धनी देश हो । हरेक जाति तथा समुदायका विभिन्न चाडपर्वहरु छन् । जसमध्ये दशैं पर्वले प्राय सबै जात जाति , समुदाय तथा धर्मावलम्वीलाई समेटेको छ । त्यसैले परापूर्वकाल देखि नै बडादशैंका अवशरमा सबै भन्दा लामो सरकारी विदा दिने गरिएको छ । वर्षको एक पटक केही लामो समयसम्म सरकारी विदा दिने प्रचलन प्राय सबै देशमा हुन्छ ।

नेपालमा बडादशैं पर्वका अवशरमा दिइने लामो विदाले आन्तरिक पर्यटनलाई समेत धेरै ठूलो योगदान पु¥याएको छ । धार्मिक मात्रै होइन आर्थिक गतिविधिका हिसावले पनि दशैं पर्व निकै महत्वपूर्ण छ । विश्वका हरेक देशमा रहेका नेपालीहरुले अत्यान्त महत्वका साथ दशैं पर्व मनाउँछन् ।

नेपाल बहुजातीय , बहु सांस्कृत तथा बहुधार्मिक देश हो । त्यसैले बडादशैं मनाउने शैलीमा पनि बहुरुपता छ । उदाहरणका लागि नेपालमा महायानी बौद्धहरुले र सनातन धर्मावलम्बीहरुले बेग्ला–बेग्लै नामले दशैं मान्ने र मनाउने गर्दछन् । यसैगरी खस–आर्य समुदाय र जनजाति समुदायले मनाउने दशैंको स्वरुप पनि केही भिन्न छ । किराँती समुदायले आफ्नो बंशका प्रथम राजा यलम्वरको जन्मजयन्तीका रुपमा बडा दशैं मनाउँछन् । त्यसो त महाडी समुदाय र मधेसी समुदायले मनाउने दशैंको विधिमा पनि केही भिन्नता छ । तर पछिल्लो समयमा सबै जात जाति तथा समुदाय एकै ठाउँमा घुलमिल भएर बस्न थालेका कारण बडादशैं मनाउने विधिमा पनि क्रमश एकरुपता हुँदै गएको पाइन्छ । तीर्थस्थल वा मन्दिर एकै मान्यताका र उस्तै खालका पूजा आजा भए पनि तिनका नाम र विशेषताहरुमा केही भिन्न व्याख्या रहेका हुन्छन् ।

काठमाडौं उपत्यकामा रहेका महायानी वा बज्रयानी बौद्धहरूले दशैंमा शक्तिको र तन्त्रको प्रयोग बढी गर्छन् । सनातन र बौद्ध दुबैका तर्फबाट देवीहरूको आराधना बढी भएको देखिन्छ ।
जतिबेला देखिको नेपाली इतिहासको लिखित भेटिएको छ त्यतिबेलानै बडादशैं मनाउने गरिएको पाइन्छ । पाटन च्यासल टोलको लिच्छवी अभिलेखमा ‘नारायण देवकुल दशमी गोष्ठी’ उल्लेख भएको छ, यो गोष्ठीले दशैं पूजालाई संकेत गरेको छ । संस्कृतविद भुवनलाल प्रधानको दसैंपुजा पुस्तकको पृष्ठ ५७ मा उल्लेख छ–‘राजभोगमाला वंशावली र केशर पुस्तकालय वंशावलीहरुमा उल्लेख भए अनुसार लिच्छवि राजा मानदेव ( शक सं. ३८६ देखि सं.४२७ अर्थात विं.सं. ५२१ देखि ५६२ साल) को पालामा दसैं चैत महीनाको सट्टा अश्विन महीनाको शुक्ल पक्षमा मनाउने चलन सुरु गरिएको हो ।’

यसरी आजभन्दा १५ सय वर्ष अघिको ऐतिहासिक दस्ताभेजमै राज्यले बडादशैंलाई देशकै सबै भन्दा ठूलो चाडको पहिचान दिएको देखिन्छ । तर पछिल्ला केही दशक यता इशाईकरण बढेसँगै नेपालीहरुको महानचाड बडादशैंलाई लच्छित गरेर विवादास्पद प्रचार गर्ने क्रम सुरु भएको छ । बडा दशैंलाई हिन्दुको मात्रै चाड भन्दै प्रचार गर्ने सिलसिला सुरु भएको छ ।

एकातिर दशैं बहिस्कारका लागि जनजाति तप्कालाई उकास्ने अर्कातिर बडादशैंका अवशरमा गरिने खानपानलाई लिएर वैदिक सनातनी नेपालीबीच भ्रम सिर्जना गर्ने क्रम दशैं प्रारम्भ हुना साथ सुरु हुन्छ । हामी नेपाली सचेत हुनु पर्ने यहीँनिर हो । बास्तवमा दशैं पर्व निश्चित जाति , समुदाय तथा धर्मालम्बीहरुको पेवा होइन , सबै नेपालीको साझा पर्व हो । दशैं पर्व मनाउने पृथक पृथक विधि भनेका नेपालका पूँजी हुन् ।

प्रतिक्रिया