काठमाडौं । नारायण रायमाझीले निर्देशन गरेको चलचित्र ‘परदेशी २’सहित तीन चलचित्र शुक्रबारदेखि देशका विभिन्न हलहरुमा प्रदर्शन भएको छ ।
फरक परिवेश र विषयवस्तु समेटिएको ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षले जनाएका छन् । ‘परदेशी २’, ‘बासेन्जी’ र ‘कौसीद’का लक्षित दर्शकसमेत फरक रहेको निर्माण पक्षले दाबी गरेका छन् ।
‘गोर्खा पल्टन’ र ‘परदेशी’जस्ता सफल चलचित्रको निर्देशन गरिसकेका निर्देशक नारायण रायमाझीले निर्देशन गरेको तेस्रो चलचित्र हो ‘परदेशी–२’ ।
अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवं सामाजिक संवेदनालाई आधार बनाएर तयार गरिएको चलचित्रले गाउँ र समाजकै कथा व्यक्त गर्ने निर्देशक रायमाझीले जानकारी दिए ।
उनले भने, ‘हामीले आफ्नै परिवेश र संस्कृतिलाई पर्दामा ल्याउनुपर्छ, आफ्ना कथा विश्वलाई देखाउनुपर्छ । मेरा चलचित्रले हाम्रै परिवेशको कथा व्यक्त गरिरहेका हुन्छन् ।’
राजेश वंशलले निर्माण गरेको उक्त चलचित्रमा प्रकाश सपूत, वर्षा सिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।
शुक्रबारदेखि नै प्रदर्शनमा आएको चलचित्र ‘कौसीद’ मा इमान्दार शिक्षकले भोगेका पीडा देखाइएको निर्देशक कुमार भाष्करले जानकारी दिए । उनले भने, ‘मैले एउटा इमान्दार शिक्षकले के–कस्ता समस्याबाट आफूलाई अगाडि बढाउन बाध्य हुन्छ भन्ने देखाएको छु, मैले चलचित्रमा उठाएको विषय केही अगाडि सडकमा समेत देखियो ।’
चलचित्रमा अभिनेता भोलाराज सापकोटा, अभिनेत्री ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् ।
शुक्रबारदेखि नै प्रदर्शनमा आएको तेस्रो चलचित्र ‘बासेन्जी’ अमेरिकी निर्देशक इयान स्कट क्लेमेन्टले निर्देशन गरेका हुन् । एक युवाको मनोविज्ञानमा आधारित चलचित्रमा अशिम निरौला, सरिता गिरी, राज शर्मा, मिथिला शर्मा, अंकित खड्का, प्रतीक दुलाल, निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।
शुक्रबार चलचित्र प्रदशनका क्रममा ‘परदेशी २’ का निर्देशक नारायण रायमाझीसहित अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीलगायत केही कलाकारहरु विभिन्न हलहरुमा सहभागी भएर दर्शकहरुको प्रशंसा बटुलेका थिए ।
सोही क्रममा प्रकाश सपुत, केकी अधिकारी र वर्षा सिवाकोटीले चलचित्रको कथाले मागेअनुसार आफूहरुले अभिनय गरेको बताए । उक्त चलचित्रले आफूहरुले सोचेभन्दा बढी दर्शकहरुको माया पाउनेमा अपेक्षा रहेको बताए ।
प्रतिक्रिया