पुस्तक अध्ययन जीवन बचाउने अचुक औषधि हो : भट्टराई

काभ्रे । काभ्रेको बनेपामा रहेको न्यू प्रगति पुस्तक पसलले गत शुक्रबार बिहानबाट आयोजना गरेको पुस्तक मेलामा लेखक सुविन भट्टराईले पनि अवलोकन गरेका छन् । बुधबार बिहान मेला अवलोकन गर्दै उपस्थित भेलालाई सम्बोधन गर्दै भट्टराईले पुस्तक अध्ययन जीवन बचाउने अचुक औषधि भएको बताए ।

उनले बिगतमा आफू डिग्री सकेर कतै पनि रोजगारी नपाउँदा चरम डिप्रेसनको शिकार भइरहँदा यस्तै पुस्तक मेलामा एक–एक गरी पुस्तकहरु पढ्ने बानी बसेकोले आफ्नो औषधि नै पुस्तक अध्ययन बनेको र त्यसपछि आफ्नो जीवन नै परिवर्तन भएको तथा त्यो साहस ऊर्जा पुस्तकहरूको अध्ययन भएको बताए ।

बनेपास्थित‌का विभिन्न विद्यालयका विद्यार्थीहरुसमेत सहभागी भएको पुस्तक मेलामा उनले आफूले लेखक बन्ने प्रेरणा पुस्तक अध्ययन र त्यो कालो बितेको डरलाग्दो समय भएको बताए । उनेल भावी पुस्तहरुमा पुस्तक अध्ययन रुची घट्दै गएको भन्दै पठन संस्कृतिको लागि हरेक व्यक्तिहरूले सोच्ने बेला आएको बताए । उनले बढ्दो प्रविधिको प्रयोगले युवा पुस्तालाई लत बसेको र त्यो भावी दिनमा निकै महंगो पर्ने बताए ।

युवा पुस्तामा डिप्रेसनको शिकार हुने सम्भावना ज्यादा रहेको भन्दै पुस्तक अध्ययन त्यसको समाधानको लागि सुन्दर उपाय भएको भट्टराईले बताए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार मोहन दुवालले प्रगति पुस्कत भण्डारले जिल्लास्थित यो पहिलो प्रयास गरेकोप्रति खुशी व्यक्त गर्दै पठन संस्कृति र लेखकले देशको जल्दो बल्दो सबै कुरा बोल्नुपर्ने, लेख्नुपर्ने र प्रश्नहरू गर्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका दुवालले आफूले बिगतदेखि नै लेख्ने र ज्ञान बाँड्ने कुरामा कसैसँग पनि नझुकेको बताउँदै स्थानीय सरकारले लेखकहरुको संरक्षण गर्न नसकेकाप्रति चिन्ता व्यक्त गरे ।

उनले लेखकहरुका संरक्षण संवद्र्धन गर्ने मामलामा कहिल्यै पनि स्थानीय सरकारले चासो नदिएको र यो निरन्तर कायम रहिरहे भावी पुस्तामा लेखन र पठन संस्कृति कमजोर हुने औँल्याए । उनले लेखन र पठन संस्कृति कमजोर हुँदा सबै क्षेत्रमा त्यसको व्यापक प्रभाव र असर देखिँदै जाने र कलान्तरमा अक्षरको युद्धमा नेपाल र नेपाली कमजोर हुन सक्नेतर्फ सचेत रहनुपर्ने तर्क गरे ।

कार्यक्रममा पुस्तकप्रेमीहरु केही, साहित्यकार र केही शिक्षकहरु उपस्थित थिए । काभ्रेपलाञ्चोकको बनेपामा यो पहिलो पटक वाङ्मय पुस्तक मेलाको आयोजना गरिएको हो । प्रगति पुस्तक भण्डार बनेपाले नजिकिँदै गरेको चाड लक्षित गरी वाङ्मय पुस्तक मेलाको आयोजना गरिएको हो ।

पुस्तक मेलाबाट नेपालको चर्चित लेखकहरुका साहित्यिक कृतिहरू, विश्व साहित्य, विभिन्न ज्ञानका अति महत्वपूर्ण पुस्तकहरु र धार्मिक आस्थाका पुस्तकहरू पाइने छन् । यहाँबाट अन्यले पनि अवलोकन गरी आफूलाई मनपर्ने विधाका पुस्तक सहजै प्राप्त गरी लाभ लिन सकिने प्रगति पुस्तक भण्डार बनेपाका सञ्चालक भुवन मानन्धरले जानकारी दिए । उनले यो किसिमको कार्यक्रम आफूहरुले अब निरन्तर गर्ने पनि बताए ।

पुस्तक मेलामा पुस्तक किन्नेले २० प्रतिशत सम्म छुट पाउने भन्दै उनले साहित्यको क्षेत्रमा वरिष्ठ साहित्यकार मोहन दुवालको सहयोग र समन्वयमा यो योजना आफूहरुले अघि सारेको बताए । यसअघि मेलामा यूवा लेखक तथा प्राज्ञा अमर न्यौपानेले अवलोकन गरी उपस्थितिलाई सम्बोधन गरेका थिए ।

न्यौपानेले ढुंंगा, बन्दुक र बारुदले युद्ध गरेर धेरै परिवर्तन र राजनीतिक आन्दोलनहरु भएको विश्व इतिहासमा नेपाल पनि जीवित इतिहास भोग्दै यो अवस्थामा आयो, अबको युद्ध केवल अक्षरले मात्रै सम्भव रहेको बताए । उनले अरु विकसित मुलुकहरुमा देखेको र आज टोल टोल र अनि घर घरमा पुस्तका लाइब्रेरीहरु बनेको बताए । उनका अनुसार विद्यार्थीहरुले चाहेका र राम्रा किताबहरु छानेर पढ्न सक्छन् ।

तर नेपालमा संघीयता आइसके पनि विकेन्द्रिकृत शासन प्रणाली लागु भए पनि पुस्तक पढ्ने पढाउने भन्ने बित्तिकै केवल स्कुलका रेकर्र्डर जस्ता किताब मात्रै सम्झन्छन् त्यो हुनु भनेको शिक्षक केवल रेकर्डरजस्ता भए । विद्यार्थी भुत्ते कलम लिएर भिजेका काजमा अक्षर कोरिहेर भविष्य खोजिरहेका जस्ता मात्रै भए । सर्वप्रथम शिक्षक अध्ययनशील नभए सम्म अक्षर आन्दोलन सम्भव नभएको बताएका थिए ।

न्यौपानेले संसारका जुनसुकै पनि विषय साहित्यसँग जोडिएको नै हुने र त्यसबाट कुनै न कुनैरुपमा तथ्य कारण प्रमाणसहित प्रमाणित गर्न सकिने भएरै विद्यार्थीले त्यसतर्फ अभिरुची राख्नुपर्ने र शिक्षकले पनि त्यस्ता कुरामा सघाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया