अज्ञात रोगले छात्रा बिरामी हुँदा पढाइमा समस्या, अभिभावक चिन्तित

प्युठान । प्युठानमा अज्ञात रोगका कारण विगत लामो समयदेखि विद्यार्थी बिरामी पर्न थालेपछि नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय मर्कवाङ्गका अभिभावक र शिक्षक चिन्तित भएका छन् । झिमरुक गाउँपालिका-६ मर्कवाङ्ग स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्यनरत छात्राहरु एकाएक बिरामी परेर बेहोस हुने क्रम नरोकिएपछि अभिभावक र शिक्षक चिन्तित भएका हुन् ।

कक्षा कोठामा पढाउँदै गर्दा एकाएक हात काम्ने, टाउको पेट दुख्ने, हातखुट्टा बाउडिने, कराउने र एक्कासी बेहोस हुने समस्याले छात्राहरु एकाएक कक्षा कोठामा दैनिकजसो ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समेत समस्या भएको विद्यालयका प्रधानाध्यापक बिनोद पोख्रेलले जानकारी दिए ।

विद्यालयमा कक्षा ४ मा पढ्दै गरेकी १३ वर्षीय परिना परियारले आफुलाई एक्कासी टाउको, पेट दुख्ने हातखुट्टा बाउडिने अनि बेहोस हुने गरेको बताइन् । उठ्ने बेला घुमाउने, पानी खादा तितो हुने, मान्छे देख्दा डर लाग्ने वरिपरिबाट आफुलाई घेरेको जस्तो लाग्ने उनले बताइन् । त्यस्तै कक्षा ४ मा पढ्ने वर्ष १२ की सिला पुनलाई पनि टाउको पेट दुख्ने, रिंगटा लाग्ने, बेहोस हुने गरेको बताइन् । ‘बेहोस भएपछि केही थाहा हुन्न’, उनले भनिन्, ‘बेहोस भएर उठेपछि सबै समस्या हटेर जान्छ ।’

बिद्यालयमा दैनिक ४ देखि ७ जनासम्म छात्रा बिरामी पर्ने गरेको प्रधानाध्यापक (प्रअ) पोख्रेलको भनाइ छ । कक्षा ५ भन्दामाथि १० कक्षासम्मका छात्रामा यो समस्या बढी देखिएको प्रअ पोख्रेलले बताए । उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नहुने गरेको उनको भनाइ छ ।

विद्यालयमा आएका विद्यार्थी हेर्दा दुरुस्त देखिन्छन एकछिन पछि एक्कासि बेहोस हुने कराउने गर्छन् । अक्सर गरेर एक बजे पछाडिबाट बिरामी पर्न शुरु हुने वडाध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर पुनले बताए । विद्यालयमा यस्तो समस्या आउँदा स्वास्थ्यकर्मी ल्याएर उपचार गर्दासम्म समस्या हल नभएपछि गाउँले झन् चिन्तित रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले जानकारी दिए ।

दैनिक जसो विद्यार्थीमा यो समस्या देखिन थालेपनी दीर्घकालीन समाधानको खोजी नहुदा थप समस्या हुन सक्ने भएकोले समयमै अभिभावक र बिद्यालय ब्यवस्थापन समिती र विद्यालय प्रशासन सचेततना अपनाउनु पर्ने जानकाहरु बताउछन् । बिरामी छात्रालाई विद्यालय नआउन सल्लाह दिइए पनि विद्यालय आउने गरेको एक शिक्षकले बताएका छन् ।

यस्तो समस्या देखिपछि स्वास्थ्यकर्मीलाई नियमित विद्यालय गएर परामर्श गर्न भनेको झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विकास केसीले बताए । उनले भने, ‘बिरामी निको नभए विज्ञ मनोचिकित्सक झिकाएर परामर्श गर्ने गरि पालिकामा छलफल गर्नेछौं ।’ पटकपटक जानकारी पाएपछि पालिकाबाट स्वास्थ्यकर्मी सहितको टिम पुगेर परामर्श दिएको प्रमुख केसीले बताए ।

यो रोगलाई निरन्तर रुपमा परामर्श गरिरहन पर्ने र बच्चालाई दैनिक खानपिनमा ख्याल गर्नुपर्ने भएकोले अभिभावक सचेत रहनुपर्ने उनको भनाइ छ । केहि समय रोग नियन्त्रणमा रहेपनि निरन्तर परामर्श अभावमा बल्झिने गरेको बताए। सामाजिक रुपमा देवीदेवता लागेको भन्दै अन्धविश्वास र भ्रमका कारण पनि रोग बल्झिने गरेको छ’ उनले भने । बिरामीका अभिभावकमा अहिलेपनि धामी झाक्रीको विश्वास गर्नाले समस्या हुने गरेको प्रमुख केसीले तर्क छ ।

‘विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ’, स्वास्थ्य शाखा प्रमुख केसीले भने, ‘एक जनाको समस्या देखेपछि अरू पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ, धेरै जना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ’ त्यसै सचेत हुनुपर्छ उनले भने । बिरामीकाे मनोबल बढाउने सामाजिक रुपमा भ्रमलाई हटाउने र बिरामीलाई मनोचिकित्सकबाट परामर्श गर्दा सुधार हुने केसीले बताए ।

गाउँमा एकैपटक धेरै बिरामी पर्ने गरेकोले पालिकाले समन्वय गरेर जिल्ला अस्पतालको विशेषज्ञ सहितको टिम लिएर रोगको पहिचानमा पहल गर्दिनुपर्ने स्थानीय अभिभावक लोकबहादुर नगरकोटीले अनुरोध गरे । स्वास्थ्यकर्मी केसीका अनुसार धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई ‘Convulsion Disorder’ रोग भनिन्छ । यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया